माओवादीले छाडेन,काँग्रेसको दौडधुप तीब्र

माओवादीले छाडेन,काँग्रेसको दौडधुप तीब्र
सुन्नुहोस्

संघीय सरकारमा एमाले र नेपाली काँग्रेसको नयाँ सत्ता गठबन्धन बनेसँगै सात वटा प्रदेशमध्ये केहीमा सत्ता परिवर्तन भएको छ,केहीमा हुने तरखर देखिन्छ । तर,काँग्रेसले मन्त्री बन्नेहरुको नाम दिन नसक्दा कोशीमा अझै सरकार परिवर्तन हुन सकेको छैन ।   

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा विश्वासको मत लिइसक्नुभएको छ । तर,कोशीमा एमाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारमा रहेका माओवादी मन्त्रीहरुले सरकार छाडेका छैनन् । माओवादीका चार मन्त्रीहरु गणेश उप्रेती,नारायण बुर्जा मगर,राजेन्द्र कार्की र बन्दना झाँगडले मुख्यमन्त्रीको आग्रहपछि पनि हालसम्म राजीनामा बुझाएका छैनन् ।

कार्की गत वैशाखमा माओवादी केन्द्रसँगको गठनबन्धनमा मुख्यमन्त्री भएका हुन् । काँग्रेससँगको पछिल्लो सहमतिपछि पनि उनैले निरन्तरता पाउँदै छन् । कार्की संविधानको धारा १६५ को उपधारा ५ बमोजिम यसअघि मुख्यमन्त्री बनेका काँग्रेसका केदार कार्कीलाई पदमुक्त गराएर पुनः सोही धाराबमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्  । 

एमालेले काँग्रेसका आठ जना विद्रोही सांसदसहित बागी उम्मेदवार केदार कार्कीलाई समर्थन गरेपछि उनी मुख्यमन्त्री बनेका हुन् । तर, कार्कीले आफूहरुलाई धोका दिएको जनाउँदै एमाले सरकारबाट बाहिरियो । अहिलेका मुख्यमन्त्री कार्की केही साता अघिसम्म सर्वदलीय सरकार बनाउने प्रयासमा थिए । 

पछिल्लो राजनीतिक घटनाक्रमले उक्त प्रयासलाई पन्छाइदिएको छ । बरु काँग्रेसले मन्त्रीहरुको नाम दिनासाथ सरकार पुनर्गठन हुने छ । कोशीमा काँग्रेसले नौमध्ये पाँच वटा मन्त्रालयमा दाबी गरिरहेको छ । तर एमालेले २९ जना सांसद रहेको काँग्रेसलाई बढीमा चार वटाको अफर गरेको बताइन्छ ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि कोशीमा मन्त्री बन्न काँग्रेस सांसदहरुले निकै हतारो देखाएका छन् । काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सांसदहरु भीम पराजुली, अमृत आर्याल, प्रदिप सुनुवार, भुपेन्द्र राईलगायत एक दर्जनले मन्त्रीमा दाबी गरेका छन् । कोशी काँग्रेसमा सभापति देउवा, नेताहरु शेखर कोइराला र कृष्णप्रसाद सिटौला तीन खेमाका सांसदहरुले मन्त्री बन्न दबाब सिर्जना गरेका हुन् । सिटौलाका विश्वासपात्र काँग्रेस कोशी सभापति तथा संसदीय दलका नेता उद्धव थापालाई नाम टुङ्गो लगाउन हम्मे परेकाले पनि उक्त अवस्था सहजै अनुमान गर्न सकिन्छ ।   

कोशीमा प्रदेश सभाको दोस्रो कार्यकालमा संघीय सरकारमा भएको परिवर्तनका कारण छ पटक सरकार फेरिएको छ । पहिलो कार्यकालमा चार पटक सरकार परिवर्तन भएको थियो । कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका छ र जसपाका एक जना सांसद छन् ।
 

टिप्पणीहरू