सरकार गठनसँगै लुम्बिनी एमालेमा चर्को आक्रोश, मन्त्री सबै विनाविभागीय

सरकार गठनसँगै लुम्बिनी एमालेमा चर्को आक्रोश, मन्त्री सबै विनाविभागीय
सुन्नुहोस्

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र आठ जना मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ गरेपनि मन्त्रीहरुलाई मन्त्रालय भागबण्डा गरिएको छैन ।

एमालेका  तर्फबाट रुपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू, गुल्मीका दिनेश पन्थी र दाङकी सीता चौधरी शर्मा मन्त्री बनेका छन् । नेपाली काँग्रेसका तर्फबाट दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्कीले मन्त्रीको शपथ लिएका छन् ।

सरकार गठनमा महासचिव शंकर पोखरेल हाबी भएको बताइएको छ । संसदीय दलका नेता लिला गिरीको ठाउँमा उपनेता आचार्यलाई अघि सारेपछि गिरीले दलको नेताबाट राजीनामा दिइसकेका छन् । 

एमाले मन्त्रीहरुमध्ये रुपन्देहीका ढकाल र दाङकी चौधरी महासचिव निकट हुन् । गुल्मीका पन्थी उपमहासचिव प्रदीप ज्ञवाली निकट र पाल्पाका सारु मगर उपाध्यक्ष विष्णु पौडेल निकट हुन् ।

हिजो मन्त्री छान्न डाकिएको बैठक विष्णु पौडेल समूहले बहिस्कार गरेको थियो । लिला गिरी, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, मुख्य सचेतक तुलसी चौधरी, भोजप्रसाद श्रेष्ठलगायत बैठकमा अनुपस्थित भएका हुन् ।

टिप्पणीहरू