पत्रकारको नामै सम्झँदा पनि किन एलर्जी ?

पत्रकारको नामै सम्झँदा पनि किन एलर्जी ?

केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एउटा छलफल थियो । सोही क्रममा विभिन्न प्रसंग चल्दा पत्रकारको विषय पनि आयो । एक जनाले भन्नुभयो, पत्रकार सम्झ्यो कि एलर्जी हुन्छ । उसले नि कुरा काट्छ, उसले नि कुरा काट्छ । उसले पत्रकारले खाएपछि कहिल्यै तिर्दैनन् भन्छ, उसले पनि त्यसै भन्छ । उसले पत्रकार हजारौँ रुपियाँको विज्ञापनका लागि बहस गर्छन्, लिने बेलामा दुई सयको विज्ञापन लिन्छन् भन्छ । उसले पनि त्यही भन्छ ।  केही नपाए तेल हाल्न लगाउँछन्, कतिपय पत्रकार त घरमा चामल, चिनी र ग्याँस पठाइदेऊ भन्छन् । त्यसैले यस्तो सम्झँदा र देख्दा साह्रै दिक्क लाग्छ अनि पत्रकार सम्झ्यो कि एलर्जी हुन्छ । 

एउटा अर्काे रमाइलो तर गम्भीर घटना पनि छ । एकजना वरिष्ठ पत्रकार परिवारका सदस्यसहित पठाओ ट्याक्सी चढेर कीर्तिपुर जाँदै हुनुहुन्थ्यो । बीचमा औषधी किन्नुपर्ने थियो । त्यसैले मेडिसिटी अस्पतालनजिक औषधी किन्न झर्नुभयो । त्यहीबेला ट्याक्सीवालाले उहाँको म्याडमलाई सोधेछ, उहाँ मन्त्री, सांसद् हो ? ठूलै मान्छे जस्तो लाग्छ मलाई त । म्याडमले भन्नुभएछ, होइन के को मन्त्री सांसद हुनु, पत्रकार हो । चालकले भनेछ, हत्तेरिका म त मन्त्री, सांसद् भनेको, पत्रकार पो हुनुहुँदोरहेछ, पत्रकार नि हुन्छन् त ? उहाँलाई पत्रकारिता छोड्न भनिदिनुस् । 

यी दुई प्रतिनिधिमूलक घटना हुन् । यसभित्र ठूलै वास्तविकता लुकेको छ । पत्रकारिता पेशा र पत्रकार बद्नाम बन्दै गएको पक्का हो । नराम्रा पत्रकारका कारण यति पवित्र पेशाकै मानमर्दन हुन थालेको छ । पत्रकारिता र पत्रकारकै भविष्य, समस्या समाधानको रेखांकन गरिने मन्त्रालयमा पत्रकारकै यसरी आलोचना  हुन्छ र ट्याक्सी चालकले समेत त्यस्तो नजरले हेर्छ भने आज यो पेशामा विकृति, विसंगति भित्रेको छैन भनेर कसरी भन्ने ? अझ नेपाल पत्रकार महासंघको निर्वाचन विधानतः तोकिएको समयमा हुन नसक्नु र कलम, कापी, क्यामेरा, बुम समात्ने पत्रकारले नै यी अस्त्र फालेर ताला चाबी किनी आफ्नै छाता संगठनको दैलोमा तालाबन्दी गर्नुले बेइज्जतमाथि बेइज्जत भएको छ । पत्रकार लेख्न, बोल्न र खिच्नका लागि होइन, तालाबन्दी गर्न माहिर छन् भन्ने प्रष्ट भएको छ ।

पत्रकार हजारौं रूपियाँकाे विज्ञापनका लागि बहस गर्छन्, लिने बेलामा दुई सयकाे विज्ञापन लिन्छन् भन्छ । केही नपाए तेल हाल्न लगाउँछन्, कतिपय पत्रकार त घरमा चामल, चिनी र ग्याँस पठाइदेउ भन्छन् । 

हुन त मुलुकको जुनसुकै क्षेत्रमा आज विकृति नै विकृति छ । कर्मचारी, नेता, सांसद्, मन्त्रीप्रति नै जनताको गलत धारणा छ, तैपनि सबै क्षेत्रलाई जाँच  र सन्तुलनमा राख्न सक्ने आशा भएको पत्रकारलाई नै अरुले जाँच गर्नुपर्ने अवस्था आएकाले यो क्षेत्र अरुभन्दा झन् बढी आलोचित हुन पुगेको हो । नेपाली पत्रकार र पत्रकारिता बढी आलोचित हुनुका कारणहरूलाई केही बुँदागत रूपमा व्याख्या गरिएको छः 

अविश्वसनीय र गलत सूचना प्रवाह :  नेपालको पत्रकारिता निकै चुनौतीपूर्ण बनेकोमा दुईमत छैन । यो समाजको ऐना  हो तर व्यवहारमा यस्तो हुनसकेको छैन । केही पत्रकारले आचारसंहितालाई जानी जानी सिधै चुनौती दिएर गलत र हचुवापूर्ण सूचना तथा समाचार सम्प्रेषण गरेकाले नेपाली पत्रकार र पत्रकारिताप्रति अविश्वास उन्पन्न हुने गरेको छ । सामाजिक सञ्जालमा आउने मनगढन्ते र हावादारी सूचनालाई आधार मानेर, यसलाई पनि छिटो प्रवाह गर्ने प्रतिस्पर्धा हुँदा अडियन्समा न्युज मिडिया र सोसल मिडिया उस्तै हो भन्ने भान परेको छ । यसबाट अडियन्समा वास्तविक मिडिया र पत्रकारप्रतिको विश्वास गुम्दै गएको छ ।

व्यक्तिगत स्वार्थमा प्रयोग : भनिन्छ, पत्रकारिता मेवा होइन सेवा हो । तर यहाँ पत्रकारितालाई आफू, आफ्नो परिवार, नाता, कुटुम्ब, पार्टीको हित अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढेर गयो । पत्रकारिताको आवरणमा अनेक धन्दा गर्नेहरूको संख्या बढ्दै जान थाल्यो । स्वार्थका लागि सामान्य विषयलाई उछाल्ने र विशिष्ट विषयलाई टोकरीमा हाल्ने प्रवृत्ति बढ्यो । यसले गर्दा इमान्दार पत्रकारिता गर्नेभन्दा पत्रकारको कभरमा जथाभावी गर्न सक्नेहरूकै दिन शुभ हुन थाल्यो । नेपालकै हकमा कुरा गर्दा पत्रकारितालाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेको जीवन स्तर नै फरक छ इमान्दार पत्रकारको भन्दा । त्यसैले पत्रकारप्रति नकारात्मक धारणा बन्यो । मानिसलाई पत्रकार सुन्दा नै एलर्जी हुन थाल्यो । 

पेशा एउटा, व्यवहार अर्काे : कुनै पनि व्यक्ति आफ्नो पेशाप्रति दत्तचित्त भएन भने उसले आफैँ पनि आफ्नो पेशामा दख्खल कमाउन सक्दैन । अर्काेतिर मानिसले उसलाई पत्याउँदैनन्, विश्वास गर्दैनन् । उसको द्विविधापूर्ण कार्य व्यवहारले वैधता र मान्यता पाउँदैन । त्यसैले पत्रकारले पत्रकार नै हुँ भनेर आफूलाई उभ्याउन नसक्दा र पत्रकार भएर अनेक धन्दा गर्दा पेशाप्रति एलर्जी हुन्छ  । 

राजनीतिक आवरण : पत्रकारको पनि आस्था हुन्छ, जसरी डाक्टर, इञ्जिनियरको हुन्छ । आस्था भए पनि डाक्टर, इञ्जिनियरले आफ्नो पेशागत धर्म, मर्यादा विपरीत कार्य गर्दैनन् । तर पत्रकारमा यो समस्या छ, पत्रकार आस्थाको नाममा भड्किन्छन्, त्यो पनि समाचारमा । लेखमा फरक विचार, धारणा राख्नु स्वाभाविक हो तर समाचारमा पनि पत्रकार पूर्वाग्रही, गैरव्यवसायिक बन्दा पत्रकारकै मर्यादा र स्तर खस्कँदै गएको छ । यति मात्र होइन, पत्रकार नै पार्टीका कार्यकर्ता बन्ने, पार्टीकै पक्षमा काम गर्ने, पार्टीमा पनि कुनै नेता वा गुटको पक्षमा लाग्ने, सत्य र तथ्यलाई नै बंग्याएर एकपक्षीय विषयवस्तु दिने गर्दा पत्रकार र पत्रकारिताप्रतिको विश्वास मर्दै गएको हो । त्यसैले पत्रकार सम्झँदा एलर्जी हुनुको अर्काे कारण पेशागत तटस्थता नहुनु हो ।        

खटाइ मात्रै, कमाइ जिरो : नेपालका सबै पत्रकारले काम गरेर पनि तलब पाउने अवस्था छैन । श्रमजीवी पत्रकार ऐनअनुसार पारिश्रमिक पाउँदैनन् । पाउनेले पनि समयमा पाउँदैन । पत्रकार पनि सामाजिक प्राणी हो । अरु पेशा, व्यवसायका मानिसजस्तै पत्रकारलाई समाजमा सामाजिक भएर बाँच्नुपर्दछ, घर, व्यवहार, परिवार चलाउनुपर्दछ तर गोजीमा गाँठ नहुने पत्रकारलाई समाजमा प्रफुल्ल भएर जिउन गाह्रो छ । उसलाई अरु झैँ शीर ठाडो गरेर समूहमा हिँड्न हीनताबोध हुन्छ । उस्तै परे परिवारमै हेपिन्छ । उसले गहन र खोजी समाचार त झन् कसरी खोज्न सक्छ र ? अर्काेतिर उसले आफू अन्यायमा परेको कुरा राख्न पनि डराउनुपर्ने अवस्था छ । पेशागत सुरक्षा छैन । यस्तै लामो समयसम्म यसरी नै इमान्दार भएर बसेका पत्रकार कुनै न कुनै दिन पत्रकारिताका मूल्य, मान्यता र आचारसंहितासँग आत्मसमर्पण गरेर बाँच्ने अनेक आधार खडा गर्न विवश हुन्छन् । त्यसैले यस्ता पत्रकार देख्दा पनि मानिसलाई एलर्जी हुन्छ ।

अविश्वास : अन्य क्षेत्र मात्रै होइन, अहिले पत्रकार नै पत्रकारबाट असुरक्षित छ । एउटा पार्टी निकट पत्रकार संगठन विपरीत आस्थाको पार्टीको पत्रकार संगठनको भण्डाफोरमा उत्रिन थाल्यो । पत्रकार महासंघमा प्रतिनिधित्व गर्ने व्यक्तिसमेत निष्पक्ष, तटस्थ बन्न सकेको देखिएन । अर्काेतिर भ्रष्टाचार, कुशासनका समाचार दिने पत्रकारलाई सुरक्षा दिनुको सट्टा धम्क्याउने, तर्साउनेहरूकै बोलबाला हुनथाल्यो । समाचारका स्रोत जोगाउनुपर्ने पत्रकारिताको प्रमुख धर्म विपरीत पत्रकारले नै स्रोत खोल्दिने जमाना आयो । यसले गर्दा गलत विषय आउने मुहान थुनिँदै जान थाल्यो । वास्तवमा पत्रकारको सन्तुलित भूमिका देखिएन ।

समग्रमा पत्रकार सम्झँदा, देख्दा, भेट्दा एलर्जी हुनुका प्रमुख कारण यिनै हुन् । यसो हुन नदिन पत्रकार स्वयम् नै सचेत हुनुपर्दछ । कुनै लोभ, प्रलोभनमा पर्नु हुँदैन । समाचारलाई स्वार्थमा परिणत गर्नुहुँदैन । अध्ययनशील, सूचनामा अपडेटेट भइरहनुपर्दछ । पत्रकार आचारसंहिता र सञ्चार निर्देशिका पालना गर्नुपर्दछ । पत्रकारलाई पारिश्रमिकको ग्यारेन्टी हुने वातावरण निर्माण गर्नुपर्दछ । कानुनमै यस्तो ग्यारेन्टी हुनुपर्दछ । साथै, पत्रकारको सीप, क्षमता, दक्षता बढाउन सरकार, सरकारका संयन्त्र र सरोकारवाला गम्भीर बनेर लाग्नुपर्दछ । यसो गर्न सकेमात्र पत्रकार देख्दा एलर्जी हुनुको सट्टा प्रतिष्ठा बढ्थ्यो कि ?
 

टिप्पणीहरू