एमाले नेताहरू चर्चामा आएर पनि किन बनेनन् मन्त्री

एमाले नेताहरू चर्चामा आएर पनि किन बनेनन् मन्त्री
सुन्नुहोस्

एमालेमा मन्त्री बन्ने धेरैको नाम चर्चामा आयो । तर, मन्त्री हुन सकेनन् । कतिपयको नाम त अन्तिममा आएर चटक्कै काटियो । को, किन मन्त्री हुन सकेनन् रोचक तथ्य अहिले चुहिन थालेको छ ।

निकै चर्चामा आएकाहरूमा योगेश भट्टराई र पदम गिरी हुन् । चर्चामा आउनेमध्ये छविलाल विश्वकर्मा, ज्वाला साह, जुली महतो, गोकुल बाँस्कोटा, दीपा शर्मा, तारा लामा तामाङ, दयालबहादुर शाही पनि थिए । 

भट्टराई र विष्टलाई त संकटका बेला केपी शर्मा ओलीलाई साथ दिएन भनेर मन्त्री नबनाइएको हुनसक्छ भने तारा लामा तामाङ समाजवादीमा गएर प्रदेशको अर्थमन्त्री भएपछि एमाले भएको चर्चा कतिपयले गर्न थालेका छन् । राजनीतिक बृत्तमा १० बुँदे सहमतिसँग साइनो नगाँसेका ठाकुर गैरेलाई मन्त्री किन बनाइएन भन्ने चर्चा पनि छ । 

घनश्याम भुषाललाई रूपन्देही १ मा हराएका छविलाल विश्वकर्माको अपारदर्शी जीवनशैलीले गर्दा अन्तिममा मन्त्री हुनबाट रोकिएको बताइन्छ । जुली महतोका श्रीमान् रघुवीर महासेठ भर्खरै मन्त्रीबाट हटेको र पटक पटक मन्त्री बन्ने ज्वाला साह पूर्वमाओवादी भएकोले धेरै बोक्न आवश्यक नभएको पनि भनिन्छ । 

बाजुराका समानुपातिक दयालबहादुर शाहीले अध्यक्ष ओलीको प्रशंसामा कुनै कमि हुन दिएनन् । तर पछिल्लो पटक भीम रावल निकट भएकाले अध्यक्ष ओलीभन्दा पनि महासचिव शंकर, उपमहासचिव रिमालको निशानामा परेको चर्चा छ । शाहीले भए आफू, नत्र सुदूरपश्चिमबाट अरु कोही मन्त्री नहुने ठोकुवा गर्दे आएका थिए । तर प्रचण्डकै सरकार टिकेको भए हटाउने अवस्थामा रहेका भनिएका बैतडीका दामोदर भण्डारी चौथो पटक सरकारमा जान सफल भएका छन् । उनलाई सुदूरपश्चिम नै घर भएका बिचौलिया दीपक भट्टले निकै जोडबल गरेपछि मन्त्री भएको एमाले कार्यालय च्यासलमा चर्चा छ । 

शपथग्रहणको बिहानसम्म मन्त्री दोहोरिनेमा ढुक्क रहेका धनकुटाका राजेन्द्र राईको नाम अघिल्लो रात काटिएको थियो । धनकुटेहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई प्रयोग गरेर राजेन्द्रसंग हालै भएको जिल्ला अधिवेशनको हिसाबकिताब चुक्ता गरेको चर्चा गर्न थालेका छन् ।

राईले शेरधन राईको टिमलाई धनकुटा जिल्ला अधिवेशनमा हटाएका थिए । शाक्य पनि मन्त्री बन्ने पक्कापक्की भनिएको थियो तर उनी पनि परराष्ट्र भागमा नपर्दा अटाउन सकिनन् । अर्कोतिर सुमनाको भन्दा राम्रो काम गर्न सक्छन् भनेर स्व. रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई अप्रत्यासित रुपमै शिक्षा मन्त्री बनाइएको छ । उनी स्वयंले नै कहींकतै मन्त्री हुनका लागि लबिङ गरेकी थिइनन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू