बेचनले औंला तेस्र्याए प्रेमतिर

निर्मला पन्त काण्ड र रविको यो फण्डा

बेचनले औंला तेस्र्याए प्रेमतिर

जतिबेला रवि गृहमन्त्री थिए, सहकारी ठगीका विषयमा छानवीन गर्नुपर्छ भनेर संसद बैठक नै अवरुद्ध पार्ने दल हो, नेपाली कांग्रेस । अहिले उही दल सरकारको सबैभन्दा ठूलो घटक छ । तर, रविको मामिला सामसुम ।

बरु, रवि मन्त्री हुँदैमा जिबी राईलाई पक्रिन प्रहरीले मलेसिया सरकारलाई गृहमार्फत पठाउन चाहेको पत्र गृहमा अलपत्र पर्‍यो । अब उनलाई ल्याउने कुरा नयाँ सरकारसँग मलेसिया सरकारको सम्बन्धको स्तर निर्भर रहनेछ । सूर्यदर्शन सहकारीमा भएको घोटालाबारे पोखरा महानगरपालिकाले दिएको प्रतिवेदनमा रवि दोषी देखिन्छन्, तर प्रहरीले जोगाएको छ ।

गोरखा मिडियालाई विपक्षी बनाउने हो भने सर्लक्कै जान्छन् । किनभने, उनी त्यसको प्रबन्ध निर्देशक थिए । ऐनअनुसार कुनै पनि सहकारीसँग उक्त संस्थाका सदस्यले मात्रै कारोबार गर्न पाउने हुन् । प्रहरीस्रोतले जनाएअनुसार रविको खातामा रकम गएको विवरण बैंकको स्टेटमेन्टबाट देखिन्छ ।

रविले पदमा हुँदा निर्मला पन्त प्रकरण निश्कर्ष नजिक पुगेको अर्को हावा कुरा गरे । अब अगाडि बढाउन सरकारी वकिलले पहिलाका मान्छेलाई दोषी किटान गर्ने र समातेर मुद्दा बुझाई दिने हो । त्यसमा वकिल, प्रहरी, न्यायाधीश सबै सहमत हुनुपर्छ । जो अहिलेकै अवस्थामा सम्भव छैन ।

उनी कतिसम्म हावादारी भनेर त संसारमा कहीँ नभएको महिनावारी बिदाको निर्णयबाटै बुझ्न सकिन्छ । महिनावारी भएका ट्राफिकलाई बिदा छोड्ने कुरा स्वयं महिलाले मान्दैनन् । यदि यस्तो कुरा ट्राफिकमा लागु भएको थियो भने सबैतिर त्यसलाई लागु गर्दा प्रशासनयन्त्रमा चरम विकृति भित्रिने अवस्था थियो । 

उनकै कार्यकालमा केही पैसावाललाई तर्साउनका निम्ति अगाडि सारिएको बालमन्दिर काण्ड त्यसै सेलायो । मान्छे छानीछानी कसैको पक्राउ पुर्जी लिइयो, कसैको लिइएन । जस्तो कि, कीर्ति पाण्डे सहायक सम्झौताकर्ता (सब लिजर) थिए । उनीजस्तै अरु चार जना त्यस्तै छुटेका छन् । 

‘जसले बदमासी गरेको छ, उही सरकारी साक्षी ? यस्तो कसरी भयो ?’

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झाको प्रश्न हो यो । नयाँ सरकार गठन भएको हप्ताभन्दा बढी भइसक्यो, भारतबाट पक्राउ गरेर ल्याइएका बेचन हिरासतमै छन् । उनले अझै केही बोल्न चाहेका छैनन् । बरु, प्रहरीहरुसँगको अनौपचारिक छलफलमा गुल्मीका प्रेमराज पन्थीलाई सरकारी साक्षी बनाइएको भन्दै आपत्ति जनाएका छन् । ‘जसले सबभन्दा बढी बदमासी गरेको छ, उही सरकारको गवाही (साक्षी) हुन पाउँछ ?’ बेचनको प्रश्न छ । 

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यमध्ये केशव दुलाल, सानु भण्डारीजस्तै पन्थी पनि भएको र उनले कुस्त रकम उठाएको बेचनको दावी छ । भनिन्छ, प्रेमराजलाई साक्षी बनाएर अख्तियार प्रमुख प्रेमकुमार राई, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, एमाले नेता अजयक्रान्ति शाक्यहरुलाई मुछ्न खोजिएको थियो ।

हाल सिआइबी प्रमुख तथा तत्कालिन अवस्थामा उपत्यका प्रहरीको कमाण्ड सम्हालेका एआइजी श्यामलाल ज्ञवालीले प्रेम राईविरुद्ध जथाभावी बोल्न लागेका थिए । कसैले सर्टिफिकेट काण्डको कुरा कोट्याइदिएपछि बल्ल पछाडि हटेका हुन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू