सुदूरपश्चिम प्रदेशसभाभित्र दिउँसै ‘टर्चलाइट’
सुदूरपश्चिममा प्रतिपक्षी दलहरुले दिउँसै लाइट बालेर सरकारको खोजी गरेका छन् । प्रदेश सभाको विशेष अधिवेशन बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरु उपस्थित नभएपछि नेपाली काँग्रेस र एमालेका सांसदहरुले मोबाइलको लाइट बालेर सरकारको उपस्थिति हेरेका हुन् ।
गत असार २० गते नेकपा एमालले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री दीर्घ सोडारी अल्पमतमा परेका थिए । उनले चालु आर्थिक वर्षको बजेटसमेत पारित गराउन सकेका छैनन् । अध्यादेशमार्फत बजेट ल्याउने उनको योजना थियो, त्यो पनि पूरा हुन सकेन ।
अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले यहि शुक्रबारभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर मुख्यमन्त्री सोडारी भने मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नमै व्यस्त देखिन्छन् । पछिल्लो चार महिनामा चार पटक मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।
मन्त्रीहरुलाई प्रदेश सभाको बैठकमा उपस्थित नहुन उर्दी जारी गरे पनि हिजो कृषिमन्त्री टिका थापा मुख्यमन्त्रीको निर्देशन लत्याएर बैठकमा सहभागी भएपछि बर्खास्तमा परेकी हुन् । आजको बैठकमा मन्त्रीहरु सहभागी नभएपछि सांकेतिक विरोध गर्दै प्रतिपक्षी दलका नेताहरुले दिउँसै लाइट बालेका हुन् ।
टिप्पणीहरू