साना पार्टी सिध्याउन शंकरको यस्तो सूत्र

साना पार्टी सिध्याउन शंकरको यस्तो सूत्र
सुन्नुहोस्

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले साना पार्टीलाई संवैधानिकरुपमै निस्तेज पार्नुपर्ने बताएका छन् । 

साना पार्टीहरुका कारण राजनीतिक अस्थिरता निम्तिएको दाबी गर्दै उनले त्यसलाई रोक्न संविधान संशोधनमार्फत चुनाव प्रणाली फेर्नुपर्ने धारणा राखे । यसैका लागि एमालेले कांग्रेससँग सत्ता सहकार्य गरेको पोखरेलको प्रश्टोक्ति छ ।  

गृहजिल्ला दाङमा आयोजित एक कार्यक्रममा उनले भने, ‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामा नै अविश्वास पैदा भयो, त्यसको अन्त्य गर्न चुनावी प्रणाली र संविधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले कांग्रेसको साथ लिएका हौँ ।’

त्यसक्रममा पोखरेलले ३ प्रतिशतको विद्यमान थ्रेसहोल्ड बढाउनुपर्नेमा पनि जोड दिएका छन् । राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड भए पुग्ने संवैधानिक व्यवस्थाकै कारण राजनीतिक अस्थिरता बढेको उनको दाबी छ ।

दुई दलीय प्रणालीको वकालतकर्ताका रुपमा चिनिएका पोखरेल एमाले-माओवादी गठबन्धन भत्काएर कांग्रेस-एमाले समीकरण निर्माणका शुत्रधार पनि हुन् । एमालेले अङ्गीकार गरेको जनताको  बहुदलीय जनवाद (जबज)को व्याख्याताका रुपमा प्रचारित उनी कांग्रेस र एमालेबाहेकका अन्य दलप्रति अनुदार रहँदै आएका छन् ।
 

टिप्पणीहरू