रुकुमबाट हट्यो रवि पार्टीको बोर्ड

रुकुमबाट हट्यो रवि पार्टीको बोर्ड

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको क्रेज घट्दो क्रममा छ । देशका विभिन्न ठाउँमा स्थापित कार्यालयदेखि शुभेच्छुकहरू पनि निराश भएर खासै क्रियाशील छैनन् । नो, नट अगेनको नारा लगाएर चुनाव जित्ने तर पछि उनै पुराना दलका नेतासँग मिलेर पटक–पटक सरकारमा जागिर खान थालेपछि शुभेच्छुकहरू निराश बन्दै गएका हुन् । 

यसैबीच, रुकुम पश्चिममा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कार्यालय बन्द गरिएको छ भने बोर्डसमेत हटाइएको छ । केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएलगत्तै खलंगा तल्लो बजारको एक घरमा कार्यालय सञ्चालन गरिएको थियो । शुरुमा जिल्ला संयोजक रहेका लीलाधर शर्मासहित भोलाप्रसाद केसी, यामराज डाँगीलगायतले कार्यालय सञ्चालन गरेका थिए ।

पछि रास्वपाले कर्णाली प्रदेशभरका जिल्ला समिति विघटन गरेर नयाँ संयोजक तोकेपछि जिल्ला कार्यालय उठाइयो । सदस्यता वितरणसहितका कामपश्चात् पुनः जिल्ला तथा प्रदेश समिति गठन गर्ने भन्दै हाल मानबहादुर शाहीलाई अभियान संयोजकको जिम्मा दिइएको छ । तर, शाही संयोजक भए पनि पार्टी गतिविधिमा कुनै लय आउन सकेको छैन । शाही लामो समय काठमाडौँ, सुर्खेतलगायत ठाउँमा बस्दै आएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू