अस्पताल पनि काल निम्त्याउन जानुजस्तो

अस्पताल पनि काल निम्त्याउन जानुजस्तो

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तोकिएको मात्राभन्दा बढी किमो दिएर एक बिरामीको निधन भएको छ । एक महिनाअघि असार १३ गतेको घटनाका कारण दुई जना नर्सलाई निलम्बन गरिएको छ भने दुई जना चिकित्सक र दुई दर्जन चिकित्साकर्मीसँग स्पष्टीकरण सोधिएको छ ।

लमजुङ दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको अत्यधिक किमोका कारण निधन भएको पुष्टि भएसङ्गै उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो । भक्तराज अस्पतालमा भर्ना भएर गोडाको छालाको क्यान्सरको उपचार गराइरहेका थिए । अनुसन्धान र छानबिनबाट उनलाई तीन पटकसम्म ३४ मिलिग्रामको दरले किमो दिइएको पुष्टि भएको छ ।

क्यान्सरका कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि किमोको मात्रा ३.४ मिलिग्राम दिनुपर्नेमा ३४ मिलिग्राम दिइएको थियो । बिरामीले उक्त किमोको मात्रा धान्न नसकेपछि प्राण त्यागेको बताइन्छ । 

अस्पतालका अनुसार नर्सहरु प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । छानबिन समितिले साउन ३ गते प्रतिवेदन बुझाएपछि दुई जनालाई निलम्बन र २३ जनालाई स्पष्टीकरण सोधिएको हो ।

टिप्पणीहरू