डिआईजी सरूवाबारे गृहमन्त्रीको प्रष्टोक्ति : अरुलाई पनि सक्षम बनाउन खोज्दैछौं
गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवाबारे मुख खोल्नु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा र प्रतिक थापालाई पक्रन महत्वपूर्ण भूमिका निर्वाह गरेको भनिएका केसीलाई गतसाता सरुवा गरिएको थियो ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोबाट महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएका डिआईजी केसीको दुई महिनामै सरुवा गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसबारे बोल्दै गृहमन्त्री लेखकले सरुवालाई सामान्य र नियमित प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभएको हो ।
संसदको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उहाँले डिआईजी केसीलाई राम्रै ठाउँमा सरुवा गरिएको दाबी गर्नुभयो । ‘कर्मचारीको सरुवा हुन्छ, बढुवा पनि हुन्छ, निरन्तर प्रक्रिया हो’, उहाँले भन्नुभयो, ‘जहाँसम्म डिआईजी सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो, र योग्यतम ठाउँमा पुग्नुभएको छ ।’
गृहमन्त्री लेखकले प्रहरीलाई राम्रो तालिम दिलाउन डिआईजी केसीलाई प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको बताउनुभयो । ‘प्रहरीलाई तालिम दिने ठाउँमा सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो, अनि राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’, उहाँले प्रश्न गर्नुभयो ।
डिआईजीको ठाउँमा डिआईजी नै सरुवा भएकोले यसलाई सामान्य रुपमा लिन उहाँको आग्रह छ । अगाडि भन्नुभयो, ‘जुन ठाउँबाट उहाँ जानुभयो, डीआईजी गएर इन्सपेक्टर त आएको होइन ! अर्को डीआईजी आउनुभएको छ, यसलाई सामान्य प्रक्रियाका रुपमा लिइदिन म आग्रह गर्दछु ।’
टिप्पणीहरू