हिजो आलोचना, आज प्रशंसा
पशुपतिमा जारी कोटिहोममा देवी प्रतिभापछि यतिबेला देवी चन्द्रखला सखी चर्चामा छिन् । देवी प्रतिभा १४ दिन कथा वाचन गरेर भारत फर्केपछि लण्डनबाट देवी चन्द्रकला आएको बताइन्छ ।
चन्द्रकलाले आगामी साउन २४ गतेसम्म दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म कथा वाचन गर्ने कार्यतालिका छ ।
त्यसो त, हरेक मान्छेको आ–आफ्नै स्वभाव र विशेषता हुन्छ । तर यतिबेला सामाजिक सञ्जालमा प्रतिभाभन्दा चन्द्रकला नै ज्यादा बौद्धिक कथावाचिक रहेको भनेर टिप्पणी हुन थालेको छ ।
यसरी टिप्पणी हुनुको कारण भने, दुवै कथावाचिकाले आफ्नो योग्यताबारे बोलेको कुरा हो । प्रतिभाले आफू आचार्य (संस्कृतमा मास्टर्स) गरेको बताए पनि कुन विद्यालयबाट आचार्य गरेको, कुनै विद्यालयबाट शास्त्री (संस्कृतमा ब्याचलर) गरेको खुलाएकी थिइनन् ।
तर चन्द्रकलाले पनि कथा वाचनको पहिलो दिन नै आफ्नो परिचय दिदै सबै खुलाएकी छन् । उनले प्रविणता तह (प्लस टु)मा विज्ञान विषय लिएर पढेको, भारतको स्वामी विवेकानन्द विश्वविद्यालयबाट योगा एण्ड हेल्थ कन्सिअसनेस् एण्ड स्प्रीचुआलिटी पुरा गरेको, लण्डनको आयुर्वेदिक इन्स्टीच्युटबाट आयुर्वेदिक फूड र न्युट्रिशन पास गरेको, लण्डनकै कलेज अफ न्याचर प्याथी एण्ड मेडिसिनबाट हेस्थ कोच गरेको र हाल योगा साइन्समा मास्टर्स गरिरहेको खुलाएकी छन् ।
त्यस्तै, प्रतिभाले डिभोर्सको विषयमा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले त्यसबारे न थप स्पष्ट पार्न सकिन्, न उनले गल्ती स्विकारोक्ति गरिन् । तर चन्द्रकलाले भने हिजो बोलेको एउटा वाक्यको आलोचना हुनवित्तिकै उनले आज त्यसको अन्तर्य खुलाउदै गल्ती स्वीकारोक्ति गरेकी छन् ।
उनले हिजो (पहिलो दिन) दिएको अभिव्यक्तिको सम्दादित अंश यस्तो छः
‘शिवजीले गलामा सर्पलाई धारण गर्नुहुन्छ । शिवजीको बहान गोरु हुनुहुन्छ । माता पार्वतीको बहान सिंह । कार्तिकेयको बहान हो मयूर । फेरि गणेशजीको बहान हो मुसा । त, साइन्समा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ कि सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने भनेको मुसा हो । तर, शिव परिवारभित्र एक–आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेकौं जातजाति छौं, तर सबैले एकसाथमा मिलेर बस्नुपर्छ ।’
यहाँ चन्द्रकलाले कथा वाचनको क्रममा ‘गोरुको अत्यन्त प्रिय भोजन मयूर हो’ भनेकी छन्, जसले उनको आलोचना सुरु भएको थियो । तर उनले आज उक्त गल्ती स्वीकारोक्ति गर्दै माफी मागिसकेकी छन् । उनले आफू विदुषी नभएको र सामान्य कथावाचिका मात्रै भएकाले त्रुटी भएको स्वीकार गर्दै आत्मालोचना गरिन् ।
उनले माफी पनि कथाकै शैलीमा मागेकी छन् । भनेकी छन्ः
‘प्रिय भक्तजनहरू, आज म हजुरहरूको सानी छोरी यहाँ कथावाचन गर्दैछु । मैले हिजो पनि भनेको थिएँ, म कुनै विद्वान होइन, म कुनै पण्डित, विदुषी होइन । यहाँ प्रस्तुत गर्ने कुरामा कहीँ कतै त्रुटिहरु हुन सक्लान् । त्यसलाई हजुरहरुले पक्कै पनि एउटा सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला । म त आफूलाई सानोभन्दा सानो अकिञ्चन मान्छु । ठूला–ठूला योगीजन, सन्तजन, मान्यजनहरु पनि जन्म–जन्मसम्म रामको चर्चा गर्नुहुन्छ रे । तर, जब अन्त्यको समय हुन्छ, त्यसबेला राम उच्चारण गर्दा लाम हुन्छ ।जिब्रोका स्वभावै हो, चिप्लिनु । बोल्दा कहीँ–कतै जिब्रो चिप्लिन पनि सक्छ । त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर ध्यान आकर्षण गर्नुपर्छ ।
चन्द्रकलाले यो मिठासपूर्ण स्विकारोक्तिपछि उनको आलोचना गर्नेहरुले पनि भन्न थालेका छन्, ‘कथावाचिक यत्तिको हुनुपर्छ, कमसेकम आफ्ना भक्तहरुले उठाएको प्रश्नलाई स्वीकार गर्नसक्नुपर्छ, चन्द्रकला साँच्चीकै बौद्दिक छिन् ।’
टिप्पणीहरू