काठ ओसारपसार गर्दागर्दै सोझै केन्द्रीय कमिटी

काठ ओसारपसार गर्दागर्दै सोझै केन्द्रीय कमिटी

नेकपा एमालेले काठ चोरी अभियोगमा डिभिजन वन कार्यालय रौतहटबाट दुई वर्षको जेल सजाय तोकिएका कुन्दन कुशवाहालाई केन्द्रीय सदस्य बनाएको भन्दै रौतहटका नेता,कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् । हिजो बिहिबार पार्टी सचिवालयले केन्द्रीय सदस्यमा उनलाई मनोनित गरेको थियो । 

नेपाली कांग्रेस,नेकपा माओवादी,आम जनता पार्टी,स्वतन्त्र हुँदै नेकपा एमालेमा पुन: प्रवेश गरेका कुशवाहाले प्रभु साहसँगै गत निर्वाचनका बेला नेकपा एमाले परित्याग गरेका थिए । एमाले छाडी आम जनता पार्टीमा रहेका कुशवाहा केही महिना पहिला काठमाडौँ गएर केपी ओलीको हातबाट टिका माला लगाएका थिए । उनैलाई पुन:केन्द्रीय सदस्यमा मनोनित गरिएपछि  जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यले चर्को विरोध गरेका छन् । 

पटकपटक पार्टीलाई धोका दिएका र डिभिजन वन कार्यालय रौतहटबाट काठ चोरी अभियोगमा दुई वर्ष जेल सजाय तोकिएका कुशवाहालाई नेकपा एमालेले कार्यकर्ताको भावना विपरीत केन्द्रीय सदस्य बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । धोकेबाजलाई पार्टीले केन्द्रीय सदस्य बनाएर आम कार्यकर्ताको मन दुखाएको नेकपा एमाले रौतहटका उपाध्यक्ष रुपेश पटेलले गुनासो पोखे । 

"मधेसवादी दलको नेता रहँदा नेकपा एमालेको जिल्ला सदरमुकाम गौरमा रहेको पार्टी कार्यालयमा आगजनी गर्न अहम भूमिका खेलेको भन्दै आलोचना भइरहेको छ"

जिल्ला कमिटीका अधिकांश निर्वाचित पदाधिकारी तथा सदस्यले कुशवाहालाई केन्द्रीय सदस्य नबनाउन पार्टीको माथिल्लो निकायलाई दबाब दिँदै आएको भए पनि महासचिव शंकर पोखरेलको इच्छामा माथि लगिएको भन्दै त्यसको आलोचना भइरहेको छ । मधेसका अन्य जिल्लाको तुलनामा रौतहटमा नेकपा एमालेको संगठन खस्कँदो अवस्थामा रहेका बेला विभिन्न पार्टी चाहार्दै हिँड्नेलाई केन्द्रीय सदस्य बनाउँदैमा सुधार नआउने र लामो समयदेखि पार्टीमा काम गर्दै आएका कार्यकर्तामा यसबाट निराशा पैदा हुने पुराना नेता, कार्यकर्ताको बुझाइ रहेको छ । यसभन्दा पहिलासमेत प्रभु साहसँगै एमाले प्रवेश गरेका उनी नेकपा एमाले केन्द्रीय सदस्य थिए । प्रभु साहसँगै प्रदेशसभा सदस्यमा स्वतन्त्र रूपमा उठेका उनी पराजित भए । 

त्यसैगरी नेकपा एमाले रौतहटको इन्चार्जमा अजय गुप्तालाई मनोनित गरिएको छ । गुप्तालाई इन्चार्ज मनोनित गरिएसँगै नेता तथा कार्यकर्ताले त्यसमा समेत असन्तुष्टि जाहेर गरेका छन् । उनीसमेत विभिन्न पार्टी परित्याग गर्दै पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरेका हुन्  ।

मधेसवादी दलको नेता रहँदा अजय गुप्ताले नेकपा एमालेको जिल्ला सदरमुकाम गौरमा रहेको पार्टी कार्यालयमा आगजनी गर्न अहम भूमिका खेलेको भन्दै आलोचना भइरहेको छ । नेकपा एमालेले रौतहटमा आयातितहरूलाई प्रमुख पद दिएर लामो समयदेखि काम गर्दै आएका नेता तथा कार्यकर्तालाई चिड्याउने काम गरेको भन्दै आलोचना भइरहेको हो । 

मधेस प्रदेशमै कमजोर रहेको सो पार्टीमा पछिल्लो समय केन्द्रले गरेको निर्णयका कारण झनै घाटा पर्ने एक पुराना कार्यकर्ताले बताए । नेकपा एमाले फुटेर माधव नेपाल अलग भएपछि अधिकांश एमाले कार्यकर्ता  उतै लाग्दा एमालेमै रहनेहरूलाई यतिबेला केन्द्रले पाखा लगाउने काम गरेको पुराना नेता कार्यकर्ताको बुझाइ रहेको छ ।

टिप्पणीहरू