आफ्नै मतदातालाई सराप्दै ५१ % का मेयर

आफ्नै मतदातालाई सराप्दै ५१ % का मेयर

दार्चुलाको शैल्यशिखरका मेयर विजयसिंह धामीले आफ्नै नगरपालिकाभित्रका ६५ प्रतिशत जनतामा ‘भिजन नभएको’ बताएका छन् । आइतवार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै धामीले नगरपालिकाले गरेका राम्रा कामको कहीकतैबाट पनि प्रशंसा नभएको भन्दै गुनासो र आक्रोश पोखेका छन् । आक्रोशित मेयरले नकारात्मक खबर मात्रै लेख्ने पत्रकार र वकिललाई ‘भिजिलान्ते’ भन्दै गालीसमेत गरेका छन् । 

एमालेबाट निर्वाचित धामीको उमेर ७० वर्ष छ । दार्चुलाबाट नौवटै स्थानीय सरकारका जनप्रतिनिधिमध्ये उमेरमा ज्येष्ठता भएका उनले सामाजिक सञ्जालबाट भने पदीय मर्यादाविपरीत तल्लोस्तरको शब्द प्रयोग गरेका छन् । 

केही समयदेखि नगरपालिकामा आर्थिक अनियमितता भइरहेको, बेरुजु रकम ५० करोडभन्दा माथि पुगेको, करारका कर्मचारी भर्ना र म्याद थप गर्नमा नियम विपरितका कार्य भएको लगायत विषयले चर्चा पाएको छ । दुई हप्ताअघि मात्रै नगरपालिकाको कृषि शाखाका दुई जना कर्मचारीलाई अख्तियारले ४४ लाखको बैंक चेक र ४ लाख रूपैयाँँ नगदसहित धनगढीबाट पक्राउसमेत गरेको छ । नगरपालिकाभित्रको बेथितिबारे आवाज उठाउने र कानुनी कारबाहीको पहल गर्ने अधिवक्ता वीरभद्र जोशीलाई लक्ष्यित गर्दै मेयर धामीले धार्मिक आस्थासमेत जोडेर गाली गरेका छन् । दार्चुलाको प्रमुख धार्मिकस्थल मालिकार्जुनले वकिल जोशी र उनको सन्ततीलाई सराप्नेसमेत धामीको भनाई छ । 

नगर प्रमुखले फेसबुकमा तल्लोस्तरका शब्द प्रयोग गरेपछि  कांग्रेसनिकट नेता–कार्यकर्ताले भने उनको भनाइमाथि प्रहार गरिरहेका छन् । मेयरको प्रतिस्पर्धामा विजयसँग पराजित कांग्रेस नेता अमरसिंह धामीले आफूलाई जिताउने जनताको अपमानमा मेयर उत्रिएको बताए । मेयरले फेसबुकमा लेखेकोप्रति पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले पनि प्रतिक्रिया दिएका छन् । ‘देशकै नमुना मेयर होलान्’ भन्दै उनले ‘बाँकी कार्यकाल पत्रकारिताबाट बचेर बिताएको राम्रो’ भन्ने सुझाव दिएका छन् । 

केही दिनअघि मात्रै अख्तियारको टोलीले नगरपालिका कार्यालयमा छापा मारेको र मेयरसहित जनप्रतिनिधि तथा कर्मचारीको बयान लिएको घटनापछि मेयर धामी झन् उत्तेजित भएको बताइन्छ । शैल्यशिखर नगरपालिकामा २१ हजार ८ सय ७ जनसंख्या छ । दुई वर्षअघि २०७९ सालमा स्थानीय निर्वाचन हुँदा १४ हजार २ सय ९९ मतदाता थिए । मेयर धामी निर्वाचित भएको निर्वाचनमा १० हजार ६ सय ८३ मतदाताले भोट हाले । तीमध्ये ५ हजार ५ सय ९ (५१ प्रतिशत) मत प्राप्त गरी धामी निर्वाचित भएका थिए । ५१ प्रतिशत मतदाताले जिताएका मेयरले आफ्नो क्षेत्रका ६५ प्रतिशत नागरिकलाई पूर्वाग्रही र अविवेकी देख्नु लज्जास्पद भएको चर्चा भइरहेको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू