एलन मस्ककी आमा चिनियाँ मोबाइल ओप्पोको ग्लोबल एम्बेसडर नियुक्त
विश्वकै सर्वाधिक धनी एलन मस्क टेस्ला,स्पेसएक्स,न्युरोलिंक,दि बोरिङ, ट्वीटर (एक्स) जस्ता दर्जनौं कम्पनीका मालिक हुन् । उनीसँग २२७ बिलियन अमेरिकी डलरको सम्पत्ति छ । तर यहाँ चर्चा एलन र उनको सम्पत्तिको होइन, उनलाई जन्म दिने आमाको हो ।
एलनकी आमा आखिर को हुन् ? कस्तो होलिन् ? उनले एलनलाई कसरी हुर्काइन् ? त्यसबारे चर्चा गर्नु सान्दर्भिक देखिन्छ ।
एलनकी आमा मे मस्क एक पोषणविज्ञ र सफल मोडल हुन् । तर उनले सन्तान हुर्काउन र करिअरलाई अघि बढाउन ठूलै संघर्ष गर्नुपर्यो । क्यानाडामा जन्मिइन् । बाबु आर्कियोलोजिष्ट (पुरातत्व वस्तुहरुको खोज तथा अनुसन्धान गर्ने) थिए भने आमा कोरियोग्राफर । पेशाको कारण सन् १९५० मा मेको परिवार साउथ अफ्रिकाको प्रिटोरिया गयो । त्यहाँ विद्यालयमा पढ्दै गर्दा मेलाई फेशन, शारीरिक व्यायाम,सौन्दर्य प्रतियोगिता लगायतका विषयमा निकै चासो बढ्यो । त्यसक्रममा उनले स्थानीय कम्पनीको एउटा विज्ञापनमा अनुहार देखाउने मौका पाइन् । त्यतिबेला १६ वर्षकी मात्र थिइन् । यद्यपि,मे को मोडलिङ करिअरमा त्यो नै पहिलो कदम थियो ।
त्यो विज्ञापनले मेलाई साथीभाइमाझ चिनाउन ठूलो सहयोग गर्यो । उनलाई चारैतिरबाट मोडलिङमा धेरै सम्भावना भएको भन्दै प्रेरणासहितका सल्लाह सुझाव आउन थाले । उनी पनि सोहीअनुसार अघि बढ्दै गइन् ।
सन् १९६९ मा मीस साउथ अफ्रिकामा भाग लिइन् र सबटाइटल जितिन् । त्यसपछि सबैलाई लागेको थियो,मेलाई अब पछि फर्केर हेर्नुपर्दैन । तर त्यस्तो केही भएन ।
सन् १९७० मा बिहे गरिन्,एरल मस्कसँग । एरल पेशाले इन्जिनियर थिए र मेका विद्यालयदेखिका साथी । उनीहरुले विवाह गरेको तीन चार वर्ष सम्बन्ध राम्रै चल्यो । मे बिहेपछि पनि आफ्नो मोडलिङ करिअरलाई अघि बढाउन चाहन्थिन्,तर एरललाई त्यो कुरा मन्जुर भएन ।
त्यसपछि मे र एरलबीच झगडा र कलहको श्रृंखला शुरु भयो । यहाँसम्म कि एरलले मेमाथि हातपातसमेत गर्न थाले । एरलको कुटपिटबाट मे घाइते समेत बनिन् । सम्बन्धको लय बिग्रदै गएपछि दुवै जनाले डिभोर्स लिने निर्णय गरे सन् १९७९ मा । बिहेको नौ वर्षमा मेले तीन सन्तान (दुई छोरो र एक छोरी) लाई जन्म दिइसकेकी थिइन् एलन, किम्बल र टोस्का ।
उनले लिएको अठोट,गरेको दुःख र संघर्षलाई सम्मान गर्दै गत वर्ष युनिभर्सिटी अफ दि ओरेन्ज फ्री स्टेटले पनि मेलाई मानार्थ विद्यावारिधिबाट सम्मानित समेत गर्यो ।
त्यसो त,बिहेपछि मेलाई मोडलिङलाई अघि बढाउन निकै गाह्रो भइरहेको थियो । त्यसैमाथि डिभोर्सपछि एकल महिला भएर तीन सन्तान हुर्काउने जिम्मेवारी थपियो । एकतिर उनी पढाइ पुरा गर्न चाहन्थिन् भने अर्कोतिर तीन सन्तानको शिक्षादिक्षाको लागि जागिर गनुपर्ने बाध्यता आइपर्यो तर हार मानिनन् । स्थानीय क्लिनिकमा काम गर्दै युनिभर्सिटी अफ दि ओरेन्ज फ्री स्टेटबाट डायटेटिक्समा मास्टर्स गरिन् ।
केही समयपछि जेठा छोरा एलन बाबु एरलकोमा गएर बस्न थाले । किनकि, एलन पनि बाबुजस्तै इन्जिनियर बन्न चाहन्थे । त्यसपछि किम्बल पनि हाइस्कूल सकी बाबुकोमै गएर बसे । एलन र किम्बल बाबुकोमा जाँदा बुझ्ने भइसकेका थिए । समझदार भइसकेका थिए । उनीरुले अधिकांश बचपन आमासँगै बिताएपछि बाबुसँग गएका हुन् । तर छोरी टोस्का भने सानै थिइन् ।
सन् १९८९ मा मे छोरी लिएर साउथ अफ्रिकाबाट क्यानाडा फर्किइन् । त्यसपछि बाँकी सपनालाई पूरा गर्ने निधो गरिन् । एकातिर अस्पतालमा पोषणविज्ञको रुपमा काम गर्न थालिन्, अर्कोतिर अवसर पाउनासाथ म्युजिक भिडियो र विज्ञापनहरुमा काम गर्न थालिन् । बिस्तारै छोरी ठूली भएपछि उनले युनिभर्सिटी अफ टोरन्टोबाट पोषण विज्ञानमै अर्को डिग्री गरिन् ।
बिस्तारै मेले आफ्नो जीवनलाई लय दिन थालिन् । सन् १९९९ मा एउटा पुस्तक लेखिन्, ‘एक्जिक्युटिभ स्टामिनाः २१ डेज टु चेन्ज अ ह्याभिट’ । यसको अलावा उनले ‘बक्सेज अफ स्पेशल सर्रियल के’,‘रेभलन’ जस्ता विज्ञापनमा काम गरिन् । त्यस्तै, युवा पुस्तामाझ सर्वाधिक चर्चित गायिका वियोन्सेको ‘हन्टेड’मा म्युजिक भिडियोमा पनि फिचर्ड हुने मौका पाइन् । उक्त भिडियोको सफलताले मेलाई सपनाको अलिकति स्वाद चखायो । त्यसपछि म्युजिक भिडियो र विज्ञापनबाट प्रशस्त अफर आउन थाल्यो ।
रोचक पक्ष चाहि उमेरले जति बूढी हुँदै गएकी थिइन्,उनको व्यस्तता झन् बढ्दै गयो । अन्ततः विश्वकै प्रतिष्ठित मानिने म्यागाजिनहरु टाइम्स,भोग र न्यूयोर्कको ‘कभर गर्ल’समेत बन्न सफल भइन् ।
सन्, २०१९ मा उनले संस्मरण लेखेकी थिइन्, ‘अ वुमन मेक्स अ प्लानः एडभाइस फर अ लाइफटाइम वफ एडभेन्चर, ब्यूटी एण्ड सक्सेस्’ । यस पुस्तकले एकल महिलाहरुलाई आफनो सपना पूरा गर्न र सफलता हात पार्न प्रेरणा दिएको पाइन्छ ।
सन् २०२२ मा मे विश्चकै चर्चित खेलकुद म्यागाजिन ‘स्पोर्ट्स’मा फिचर्ड भइन् । त्यतिबेला ७४ वर्षको उमेरमा फिचर्ड हुने उनी पहिलो महिला थिइन् । सन् २०२३ मा चाइनिज मोबाइल कम्पनी ओप्पोको ग्लोबल एम्ब्यास्डर बनिन् । उनले लिएको अठोट,गरेको दुःख र संघर्षलाई सम्मान गर्दै गत वर्ष युनिभर्सिटी अफ दि ओरेन्ज फ्री स्टेटले पनि मेलाई मानार्थ विद्यावारिधिबाट सम्मानित समेत गर्यो ।
गत फेब्रुअरीमा सम्पन्न ‘न्यूयोर्क फेशन विक फर जुजुइ’मा मेले दिएको प्रस्तुतीको चर्चा अझै पनि सेलाएको छैन । जहाँ ७६ वर्षीया मे अन्य तन्नेरी सुन्दरीहरुभन्दा आकर्षक बनेर प्रस्तुत भएकी छन् । हालसालै फोर्ब्स म्यागाजिनले मेलाई सोधेको छ, ‘आजको सफलताको सबैभन्दा ठूलो चुनौती के थियो ?’
जवाफमा मेले फर्काएकी छन्, ‘तीन सन्तान हुर्काइसकेपछि फेरि आफ्नो सपना पछ्याउनु नै सबैभन्दा ठूलो चुनौती बन्यो ।’
अहिले मेका जेठा छोरा एलनलाई नचिन्ने विश्वमा सायदै होलान् । माइला छोरा किम्बल चेन कम्पनी दि रेष्टुरेण्ट ग्रुपका मालिक हुन् । करिब चार दर्जन मुलुकमा उनका रेष्टुरेण्टहरु छन् । त्यस्तै कान्छी छोरी टोस्का चलचित्र निर्देशक तथा निर्माता बनेकी छन् । सन् २००१ मा ‘पज्जल’ फिल्मबाट निर्देशनमा डेब्यु गरेकी थिइन् । उनले ‘दि ट्रुथ अबाउट मिरान्डा’, ‘क्रुएल वर्ल्ड’ र ‘दि ह्याप्पी’ पनि बनाएकी छन् ।
टिप्पणीहरू