राष्ट्र बैंकमा १० लाखको रुद्री, मध्यान्हपछि प्रसादको उर्दी
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा भोलि बिहान रुद्रीसहित धार्मिक कार्यको आयोजना गरिएको छ । पुरानो भवन भुईंचालोले ध्वस्त पारेपछि बनाइएको नयाँ भवनको प्राङ्गणमा भोलि बिहान ८ बजेदेखि वेदपाठ,लघुरुद्री, पूजा तथा हवन गर्न लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।
गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा रुद्रीपूजा गर्न लागिएको एक जना कार्यकारी निर्देशकले बताए । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका बैंकका विभाग,महाशाखा, कार्यालय र इकाइमा कार्यरत कर्मचारीलाई मध्यान्ह साढे १२ बजेपछि प्रसाद ग्रहणका लागि निम्त्याइएको छ ।
रुद्रीको सबै तयारी सकिएको आयोजक विभागका निर्देशकले बताए । उनका अनुसार सामान खरिद,पुरेतलाई दक्षिणा र प्रसादको निम्ति बैंकले १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।
केही वर्षअघि बैंकको विराटनगर कार्यालयको काउन्टर क्षेत्रमा पनि यज्ञ हवन गरिएको थियो । पोखरालगायत कार्यालयमा तिहारमा धुपदीप र पूजापाठ गरिएको थियो । मुलुकको ढुकुटी भएको क्षेत्रमा आगोसँग सम्बन्धित कार्य गर्दा असावधानीवश दुर्घटना हुँदा ठूलो क्षति व्यहोनुपर्ने हुन्छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन, बैंकिङ र विभिन्न तहका सुपरीवेक्षण विभागले अन्य बैंक तथा वित्तीय संस्थाको निरीक्षण र सुपरीवेक्षणमा ढुकुटीको सुरक्षामा अपनाइएको व्यवस्थाबारे कैफियत लेख्ने गरेको पाइन्छ ।
टिप्पणीहरू