कहाँनेर चुक्यौं त यस्तोसँग कमरेड
– फणीन्द्र फुयाल ज्वाला
दशवर्षे जनयुद्धका बेला ठूला आश्वासन बाँडेको तत्कालीन नेकपा (माओवादी) पटक–पटकको सत्तामोहले गर्दा अन्य संसदीय दलहरू जस्तै भएको जनताले आरोप लगाउन थालेका छन् । आफूहरूको राज्यसत्ता आएपछि रातारात नेपाललाई अमेरिका, युरोप र स्विट्जरल्याण्ड बनाउँछौँ भन्दै जनताको घरमा बास र छाक माग्न जानेहरूलाई हिजोका आश्रयदाताले अचेल रातारात नवसंभ्रान्त र धनाढ्य भनेर चिन्नुपरेको छ । माओवादीभित्र मौलाउँदै गएको डनगिरी, दादागिरी, गुण्डागर्दीका कारण केही नेताको जीवनशैली अमेरिकी, युरोपेलीजस्तै बनेको छ । नीति, सिद्धान्त, पद्धति, अनुशासन, व्यवहारभन्दा व्यक्तिगत विलासिताका सम्पत्ति जोड्न थालेपछि जनताले माओवादी नेतालाई हिजोका पञ्चभन्दा गन्हाएको संज्ञा दिएका छन् ।
हरेक पटकका पदाधिकारी, सचिवालय, पोलिटब्युरो, केन्द्रीय समिति बैठकमा आफूहरू बिग्रिएको भन्दै उनीहरू आत्माआलोचना पनि गर्छन् । यसरी आत्मालोचना गर्नेमा पार्टी अध्यक्ष प्रचण्ड नै पहिलो नम्बरमा छन् । बैठक सकिएपछि पु्नः तिनै गुण्डा, डन, ठेकेदारले खुवाएको खाजा, खाना, दारु र उनीहरूले उपलब्ध गराएको महँगो मोबाइलमा कुरा गर्दै तिनकै गाडी चढेर हुइँकिन्छन् । अब माओवादी नेताले व्यक्तिगत जीवनशैली मात्र होइन, पार्टीमै निर्मम आमूल रूपान्तरण गर्दै शुद्धीकरणको बाटोमा जानु जरुरी छ ।
पटक–पटकको सत्तामा सामेल हुँदा माओवादीले भ्रष्टाचारविरुद्ध, सुशासनको पक्ष, नातावाद कृपावादको विरुद्ध, जनतालाई सेवा प्रवाह र कूटनैतिक क्षेत्रमा पहलकदमी लिन सक्नुपथ्र्यो । तर यत्तिका वर्ष पाएको यो अवसर गुमायो । अवसरलाई स्वार्थमा, व्यक्तिवादमा भुलायो । सुन तस्करी, नीतिगत भ्रष्टाचार, सुखसयल, परिवारवाद आदिमा चुर्लुम्म डुब्यो । यो कुरा २०८४ सालको निर्वाचनमा निकै महँगो साबित हुनेछ । माओवादीले स्वस्थ आलोचना पचाउन नसक्ने भएको छ । जसले विधि, नीति, सिद्धान्त र माओको विचार व्यवहारमा लागू नभएको भनी प्रश्न उठाउँछ, उसलाई जीवनभर उठ्न नसक्ने गरी अघोषित कारबाही गरिएको छ । यसरी अघोषित कारबाहीमा पार्नेहरूले निर्वाचनमा टिकट पाउँदैनन्, राज्यका निकायहरूबाट प्रदान गरिने नियुक्ति र पुरस्कार पाउँदैनन् । यस्तै यस्तै...।
समय घर्किसकेको छ । तर जनतासँगको वर्गीय सम्बन्ध सुधारर्ने मौका माओवादीलाई एमाले–कांग्रेसको गठबन्धन सरकारले उपलब्ध गराएको छ । संघीयता, समावेशिता, धर्मनिरपेक्षता आदि धरापमा पर्दै गएको पूर्वसन्ध्यामा माओवादीहरू शहर बसेर शरीरमा बोसो जमाउने होइन, जनताको खेतबारीमा गएर श्रमदान गर्न जरुरी छ ।
केही दिनदेखि मुख्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा सहभागी नेताले अब विचारको विकास गर्नुपर्ने कुरा उठाएका छन् । वर्गीय धरातलमा फर्किनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर संगठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका छन् । माओवादीले बैठकमा उठाउने एजेण्डाहरू निकै सुन्दर, आकर्षक, लोकप्रिय र मीठा पनि छन् । तर ठूलो गल्ती भनेको बैठकमा उठाइएका र पास भएका एजेण्डाको सफल कार्यान्वयनमा कमजोरी हुनु हो ।
माओवादीमा पद ओगटेर बस्ने र काम नगर्ने मानसिकताको जरो निकै गहिरोसँग गढेर बसेको छ । काम नगर्ने, काम बिगार्ने र कामप्रति हेचचेक्र्याइँ गर्ने नेताको पद घटुवा गरिनुपर्छ । पार्टीमा मौलाएको नातावाद, कृपावाद र परिवारवाद अध्यक्ष प्रचण्डबाटै निर्मम ढंगले पालना गर्नुपर्छ । हिजो युद्धमा मर्नका लागि अरूलाई उकास्ने, अभिप्रेरित गर्ने र जागरुक बनाउने माओवादी र उसका हरेक भ्रातृ संगठनहरूमा पनि आन्तरिक लोकतन्त्रको फूल फुल्नुपर्छ ।
सहमतिका नाममा आफ्ना भाइ, भतिजा, छोरी, बुहारी, साला, साली आदि नातागोताका मानिसभन्दा पनि सक्षम मानिसलाई निर्वाचनको विधिबाट छनोट गर्ने परिपाटीको विकास नभएसम्म यो पार्टी व्यवहारमा कहिल्यै सुध्रिन सक्दैन । हिजो अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार सञ्चालन भएको थियो । उनको सचिवालयमा विभिन्न राजनीतिक नियुक्तिहरू भए । तीमध्येका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बीचैमा किन राजीनामा दिने परिस्थिति निर्माण भयो ? यी र यस्ता कैयौँ झिनामसिना समस्याबारे किन अब खुलेर छलफल नगर्ने ? के त्यो अध्यक्ष प्रचण्डको परिवार मोह र तिनीहरूले गरेको अनावश्यक हस्तक्षेप होइन र ?
शान्ति प्रक्रियापछिका अधिकांश सरकारमा माओवादी सामेल छ । उपल्लो तहका अधिकांश नेताका छोराहरू ठगी, लुटपाट, गुण्डागर्दी, रकम असुली, जग्गा, क्रसर, सुन काण्ड र अन्य गैरकानुनी क्रियाकलापमा सामेल हुँदा र ती काण्डहरू प्रमाणित हुँदै गर्दा के त्यसले पार्टीलाई असर गरेको छैन ? माओवादीहरू किन भ्रष्ट आचरण भएकाहरूको बचाउमा लागिरहेका छन् ? चरम गुटबन्दीले गर्दा माओवादी पार्टी अझै उँभो होइन, उँधो गतिमा झरिरहेको छ । नेताको शैली अझै जनता खुशी, बाख्रा, कुखुरा, सुँगुर पाल हामी गुण्डा, दलाल पाल्छौँ भन्ने खालको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू