विशेषको फैसलाविरुद्ध अख्तियार आजपनि सर्वोच्चमा

विशेषको फैसलाविरुद्ध अख्तियार आजपनि सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर आज पनि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये दुई वटामा चित्त नबुझेपछि आयोग सर्वोच्च गएको हो ।  

आयोगका प्रवक्ता नरहरि घिमिरेले परीक्षाको परिणाम फेरबदल गरी गैरकानूनी लाभ लिएको र सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएर भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरेको जानकारी दिए । परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुलशर्मा पौडेल र हरिप्रसाद गौतमसहित नौ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो । 

२०७५ मंसिर र ०७६ कात्तिक र मंसिरमा कार्यालयबाट सञ्चालन भएको सवारी चालक अनुमतिपत्र परीक्षामा उनीहरुको मिलेमतोमा परीक्षामा अनुतीर्ण वा अनुपस्थित भएका परीक्षार्थीलाई उत्तीर्ण गरी नतिजा फेरबदल गरेको अख्तियारको आरोप छ । विशेष अदालतको गत मंसिर २५ गतेको फैसलाले पौडेल र गौतमलाई सफाई दिँदा अन्य प्रतिवादीलाई भने तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना गराएको थियो । 

यता, बाटो निर्माणका लागि छुट्याइएको बजेट हिनामिना गरेको भन्दै झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जयनारायण साहसहित ११ जनाउपर दायर गरिएको मुद्दामा पनि विशेषले गत कात्तिक १६ गते प्रतिवादीहरुलाई सफाई दिएको हो । दुवै मुद्दाको फैसलामा असन्तुष्टि जनाउँदै अख्तियारले सर्वोच्च गुहारेको हो ।

टिप्पणीहरू