कोशीमा मन्त्रालय बढाउने तयारी
कोशी प्रदेश सरकारले मन्त्रालयको संख्या पुनः बढाउने भएको छ । एमाले–काँग्रेस गठबन्धनले भागबण्डा मिलाउन मन्त्रालयको संख्या नौबाट बढाएर ११ पुर्याउन लागेको छ ।
चरम गुटबन्दीका कारण काँग्रेसले मन्त्रीहरुको नाम नतोक्दा सरकार पुनर्गठन हुन सकेको छैन । संघीय सरकारमा असार १७ गते दुई पार्टीबीचको गठबन्धन सहमतिपछि असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको हो । त्यसको असर स्वरुप पाँचवटा प्रदेशमा सरकार परिवर्तन भइसकेको छ । तर कोशीमा साउन ११ गते माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि अझै काँग्रेसले मन्त्रीको नाम दिन सकेको छैन । कोशी काँग्रेसमा सभापति शेरबहादुर देउवा, नेताहरु शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा गुटका प्रदेश सभा सदस्यहरु मन्त्री बन्ने दौडमा देखिन्छन् ।
आकांक्षी धेरै भएकाले गुट व्यवस्थापन गर्न काँग्रेसलाई धौ धौ परेको हो । यसैले मन्त्रालयको संख्या बढाउन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दबाब दिइएको स्रोतको दाबी छ । यसअघि पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले नौबाट बढाएर १३ पुर्याएको मन्त्रालयको संख्या कार्कीले घटाएर नौमा झारेका थिए । पुनः भागबण्डाका लागि मन्त्रालयको संख्या बढाउनुपर्ने दबाबपछि उनी अलमलमा परेका हुन् ।
हिजो संसदीय पत्रकार मञ्च कोशीका पत्रकारहरुसँग विशेष भेटघाट गर्दै मन्त्रालयको संख्या बढाउन दबाब आएको बताएका मुख्यमन्त्री कार्कीले आफू त्यसको पक्षमा नरहेको जानकारी दिएका छन् । तर, प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले निर्देशन दिएमा मन्त्रालयको संख्या बढाउन उनी बाध्य हुनेछन् ।
प्रदेश सरकारको पहिलो कार्यकालमा एकीकृत समाजवादीका मुख्यमन्त्री राईले मन्त्रालयको संख्या १३ र मन्त्रीको संख्या १४ पुर्याएका थिए । दोस्रो कार्यकालका लागि निर्वाचित एमाले, माओवादी, जसपा र राप्रपा गठबन्धनको पहिलो सरकारले मन्त्रालय संख्या घटाएर नौमा सीमित गरेको थियो ।
प्रारम्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित जम्मा सात वटा मात्र मन्त्रालय थिए । तर, पछि बढाएर १३ पुर्याइयो ।
टिप्पणीहरू