कोशी र मधेशमा एकैखालको लफडा, जनकपुरको झडपमा केही घाइते

कोशी र मधेशमा एकैखालको लफडा, जनकपुरको झडपमा केही घाइते
सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ । काँग्रेस–एमाले गठबन्धनको निम्ति नौबाट ११ मन्त्रालय पुर्याउने चाँजोपाजो गरेपछि माओवादीले विरोध गरेको हो । 

माओवादी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले भागबण्डाको नाममा संघीयताको हुर्मत लिने र संघीय व्यवस्थालाई नै बदनाम गर्ने काम नगर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । वक्तव्य जारी गर्दै उनले मन्त्रालय विभाजन गरेर सरकारलाई अनावश्यक आर्थिक भार थप्ने काम कुनै पनि हालतमा मान्य नहुने जिकिर गरेका हुन् । 

माओवादीका अर्का प्रदेश सभा सदस्य गणेशप्रसाद उप्रेतीले पनि गठबन्धन सरकारले जनताको कर दुरुपयोग गरेको आरोप लगाएका छन् । बजेट पारित भएको अवस्थामा मन्त्रालय विभाजन गर्दा थप समस्या सिर्जना हुने उनको भनाई छ ।

‘बजेट पारित भएपछि प्रदेश सभा बैठक पनि बोलाइएको छैन, कतिपय विधेयकका कामहरु फत्ते गनुपर्ने छ, सभाबाट गर्नुपर्ने अनेकौं कामहरु बाँकी नै छन्’, उनले जनआस्थासँग भने, ‘कहाँ गयो सरकार ? कि अहिलेसम्म गठबन्धनको सरकार बनाएको खुशीयालीमा भोज खाएर सकिएको छैन ?’
  
मधेश प्रदेशमा पनि मुख्यमन्त्रीले २० सदस्यीय मन्त्रिपरिषद् बनाएपछि उस्तै लफडा चलिरहेको छ । मुख्यमन्त्री सतिशकुमार सिंंहले केही दिनअिघ पाँच जना राज्यमन्त्री नियुक्त गरेपछि त्यसको विरोधमा जसपा नेपाल निकट युवा संघले विरोध जुलुस निकाल्दै आएको छ ।  

सोही क्रममा आज युवा संघ र प्रहरीबीच झडप भएको छ । संघका कार्यकर्ता मुख्यमन्त्री कार्यालय अगाडि पुगेर नाराबाजी गरेका छन् । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको हो । झडपमा युवा संघका केही कार्यकता सामान्य घाइते भएको बताइएको छ ।
 

टिप्पणीहरू