‘भ्रष्टलाई छान्ने’ पार्टी भन्दै प्रचारप्रसार विभाग प्रमुखद्वारा रास्वपा परित्याग

‘भ्रष्टलाई छान्ने’ पार्टी भन्दै प्रचारप्रसार विभाग प्रमुखद्वारा  रास्वपा परित्याग
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रचारप्रसार विभाग प्रमुख सन्तोषकुमार दाहालले राजीनामा दिएका छन् । खोटाङ–काठमाडौं सम्पर्क विभागको सदस्यसमेत रहेका उनले साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

‘जान्नेलाई छान्ने’ नाराबाट प्रभावित भएर सदस्यता लिएको उल्लेख गर्दै उनले पार्टीको व्यवहार भनाइविपरीत भएकाले राजीनामा दिन बाध्य भएको बताएका छन् । रास्वपा भ्रष्ट र ठगहरुलाई छान्ने पार्टी भएको उनको आरोप छ । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीको ‘जान्नेलाई छान्ने’ भन्ने नाराबाट प्रभावित भएर यस पार्टीको सदस्यता लिएको थिएँ । पार्टीमा रही काम गर्ने क्रममा जान्नेलाई छान्ने भन्दा पनि व्यवहारमा चाँहि ‘आफ्ना,भ्रष्ट र ठगहरुलाई छान्ने’ रहेको स्पष्ट देखियो । त्यसकारण पार्टीका नाममा भ्रष्ट,ठग र कुनियत भएका अवसरवादी व्यक्तिहरुलाई समर्थन गरी काम गर्न नसक्ने भएकाले स्वःइच्छाले आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको कुरा सम्पूर्णमा जानकारी गराउँदछु’,राजीनामा पत्रमा उल्लेख छ । 

पछिल्लो समय रास्वपामा नेता–कार्यकर्ताले पार्टी छोड्ने क्रम बढेको छ । केही महिनाअघि रास्वपाका प्युठान संयोजक सुमन सुवेदीले पार्टी छोडेका थिए । आसन र भाषणमा मात्रै रमाउन नसकिने भन्दै उनले पार्टी परित्याग गरेका हुन् । नेपाल प्रहरीको पूर्वडिआइजीसमेत रहेका नेता रमेश खरेललगायत दर्जनौं नेता–कार्यकर्ता पार्टीबाट बाहिरिइसकेका छन् ।

 

टिप्पणीहरू