दोस्तबाट दुश्मन बनेका दुई कलाकार, एकअर्काको लागि गह्रुंगो भार

दोस्तबाट दुश्मन बनेका दुई कलाकार, एकअर्काको लागि गह्रुंगो भार
सुन्नुहोस्

कलाकार दिपकराज गिरी र जितु नेपालबीच कुनैबेला राम्रै दोस्ती थियो । हाँस्य टेलिसिरियलबाट उदाएका यी दुईले ‘६ एकान ६’, ‘छ माया छपक्कै’ जस्ता सोसल कमेडी जनराको सफल चलचित्र दिए । ‘छक्का पञ्जा’को तेस्रो स्वीक्वेलसम्म पनि दुबैले स्क्रीन शेयर पनि गरेका थिए । 
  

तर, अहिले दुई कलाकारको दोस्ती अपरिभाषित दुश्मनीमा परिणत भएको छ । एकताका जितुले चालाउने कमेडी शो ‘मुन्द्रको कमेडी क्लब’मा दिपाश्री निरौला अध्यक्ष थिइन् । तर, पछि उनले दिपालाई हटाएर करिश्मा मानन्धर हुँदै प्रियंका कार्कीलाई अध्यक्ष बनाए । कमेडी क्लवबाट दिपा हटाएपछि उता दिपकराजले पनि आफ्नो फिल्म टिमबाट जितुलाई निकाले । उनी ‘छक्कापञ्जा ४’ मा अटाएनन् । 

पैसा र प्रतिष्ठाको इगो सिर्जना हुन थालेपछि यी दुईबीचको सम्बन्ध चिसिँदै गयो । र, अहिले अवस्था यस्तो आएको छ कि दुवैले एक-अर्काको कामलाई इग्नोर गर्न थालेका छन् । जुन कुरा बुझ्न कुनै आइतबार कुर्नुपर्दैन । 

रोचक त के देखिएको छ भने, यी दुईले पहिलो पटक खुलारुपमै एक अर्कालाई चुनौती दिएका छन्, चलचित्र जुधाएर । दिपकराजको ‘छक्का पञ्जा ५’ आगामी असोज २४ गते (फूलपाती) रिलिज हुँदैछ । दिपाश्रीले निर्देशन गरेको यस चलचित्रमा दिपकराज, केदार घिमिरे (माग्नेबुढा), वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका रहेको छ । 

त्यस्तै, जितु नेपालको ‘ज्वाँइसाब’ पनि अब सोही मितिमा रिलिज हुँदैछ । चलचित्र निर्माण टिमले आज पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । यसमा जितुले अभिनेत्री नीति शाहसँग जोडी बाँधेका छन् । चलचित्रमा बुद्धि तामाङ,  शिशिर वाङ्देल, प्रकाश घिमिरे, हिमेश पन्तलगायतको पनि अभिनय रहेको छ । 

यी दुई चलचित्रले दर्शकको मन जित्न सक्छन् कि सक्दैनन् ? त्यो त हेर्न बाँकी नै छ । तर, दिपकराज र जितुले प्रतिशोधको लागि चलचित्र जुधाउँदा लगानी जोखिममा परेको चर्चा सिनेवृतमा शुरु भएको छ ।
 

टिप्पणीहरू