सभापतिमा थन्क्याइने भएपछि सभामुख गुहार्दै एमाले सांसद
आफूलाई मन्त्री हुनबाट स्थायी रुपमै रोक्न लागिएको सुईंको पाएपछि एमाले सांसद एलपी साँवा लिम्बूले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । उनले आजै एमाले प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई समेत भेटेर आफ्नो अडान खुलस्त राखेको स्रोतको दाबी छ ।
उनी संसदीय समितिको सभापति कुनै हालतमा नबन्ने भन्दै तीनै जनासँग आफ्नो कुरा राखेर बाहिरिएका छन् । साँवा, सभामुख घिमिरे, सचेतक सुनिता बराल झापाबाट सँसदमा प्रतिनिधित्व गर्दछन् ।
यता संघीय संसद सचिवालयले राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सभापति चयन गर्दैछ । एमालेको भागमा परेको उक्त समितिको सभापतिमा मुख्य रुपमा ठाकुर गैरे दाबेदार देखिएपनि नेतृत्वले अर्कै समितिमा रहेका लिम्बूलाई अघि सारेपछि उनी भड्किएको बताइन्छ ।
गैरेलाई कुनै हालतमा सभापति हुन नदिन अर्कै समितिका रहेका अनिच्छिुक सांसदलाई ल्याउन खोजिएको हो । झापाली सांसद तथा व्यवसायी लिम्बूलाई पार्टी संस्थापन पक्षले सभापति बनाउने तयारी गरे पनि गैरेलाई सभापति बनाउनुपर्नेमा सांसद तथा पार्टी सचिव योगेश भट्टराई दृढ देखिन्छन् ।
गैरे आफैँमा पार्टीभित्र लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र केन्द्रमा सचिव योगेश भट्टराई निकटको रुपमा परिचित छन् । यतिखेर पौडेल र भट्टराईसँग निकट मानिएका उनलाई नेतृत्वले सभापति बनाउन नखोज्नु अस्वाभाविक होइन ।लिम्बूलाई रणनीतिक हिसाबले सभापतिमा ल्याउने रणनीति बनाइएको बताइन्छ ।
संसदीय सुनुवाई समितिको सभापतिमा काँग्रेसकी इश्वरी न्यौपाने चयन हुने पक्कापक्की छ । संघीय संसद सचिवालयले दुई वटा समितिका सभापतिको निर्वाचन कार्यक्रम हिजो प्रकाशन गरेको थियोे । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सभापति चयन भोलि हुने कार्यक्रम छ । आज २ बजेदेखि ४ बजेसम्म नयाँबानेश्वर संसद् भवनस्थित महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्ने र साढे ४ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको क्रमअनुसार सूची प्रकाशित हुनेछ । भोलि ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापति चयन हुने कार्यक्रम छ ।
टिप्पणीहरू