घुससहित पक्राउ परेकी लेखा अधिकृतविरुद्ध लाखौं नतिरेको अर्को आरोप

घुससहित पक्राउ परेकी लेखा अधिकृतविरुद्ध लाखौं नतिरेको अर्को आरोप

घुससहित पक्राउ परेकी चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । 

आयोगको हेटौंडाबाट खटिएको टोलीले गत साउन ६ गते उनलाई छ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा उनले विभिन्न बहाना बनाई गत आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालमा औषधि सप्लाई गरेबापत नियमानुसार पाउनुपर्ने रकमको भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको पुष्टि भएको अख्तियारको दाबी छ । 

कोइरालाले यसअघि पनि ती सेवाग्राहीसँग पटक पटक गरेर एक लाख चार हजार रुपैयाँ सापटीस्वरुप लिएकोमा दुई वर्षभन्दा बढी समय भइसक्दा समेत फिर्ता नगरेको पाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सात लाख चार हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

टिप्पणीहरू