छोरा पाएपछि मात्रै स्वर्गको ढोका खोलिने हो ?

छोरा पाएपछि मात्रै स्वर्गको ढोका खोलिने हो ?
सुन्नुहोस्

स्थान- लमजुङको एउटा गाउँ । समय- बिहानको करिब १० बजे । मौसम- प्रचण्ड गर्मी ।

स्थानीयको भीडले घेरिएकी थिइन्, सतिदेवी अधिकारी । औसत उचाइ, गोरो छाला,सुन्दर अनुहार भएकी उनलाई केही स्थानीयले जुत्ताको माला लगाइदिने सुरसार गर्दै थिए । यत्तिकैमा भीडबाटै आवाज आयो- ‘यति राम्री केटीलाई किन जुत्ताको माला लगाइदिन लागेका होलान्, कठै नि !’

तर,यो वास्तविक थिएन,चलचित्र ‘सतिदेवी’को सुटिङको एउटा दृश्य थियो । निर्माण टीमले उक्त दृश्यलाई भीडसहित कैद गर्न चाहन्थ्यो । त्यसनिम्ति क्यामेरा लुकाएर राखिएको थियो । तर,सुटिङबारे अनभिज्ञ रहेका केही स्थानीयले हृदयविदारक दृश्यमा मन थाम्न सकेनन् । र,कानेखुशी गर्दै निरन्तर सहानुभूति प्रकट गरे- ‘किन यस्तो गरेका होलान् यी नानीलाई !’ 

सतिदेवी बनेकी थिइन्,अभिनेत्री मलिका महत । जो चलचित्रकी मुख्य कलाकार हुन् । चलचित्रको सबैभन्दा भावनात्मक त्यो दृश्य र संवादमा उत्रिन मलिकालाई पनि मुस्किल नै भयो । दिउँसो सुटिङ सकिएपछि पनि क्यारेक्टरबाट बाहिर निस्कन सकेकी थिइनन् । 
‘दृश्य र संवाद अलि लामो भएकाले दिनभर नै चल्यो सुटिङ’,मलिका भन्छिन्, ‘तर साँझ कोठामा पुगेपछि पनि आफूलाई सतिदेवीबाट बाहिर ल्याउन गाह्रो भएको थियो ।’ 

०००

महिलाहरु को हुन् ? हाम्रो समाजले परिभाषाको लामै वर्गिकरण गरिदिएको छ - छोरी,श्रीमती, आमा,बुहारी वा प्रेमिका । जे भने पनि महिला सृष्टिकी बिम्ब हुन् । तर, हाम्रो समाज जतिसुकै आधुनिक र शिक्षित भए पनि पितृसत्तात्मक सोचबाट मुक्त हुन सकेको छैन । 

अहिले पनि अधिकांश परिवारमा छोरा जन्माउनै पर्छ भन्ने रुढीवाढी परम्परा हावी छ । जसको कारण एउटी महिला (आमा)ले आफ्नै श्रीमान र समाजबाट भोग्नुपर्ने मानसिक यातनाको चर्चा गरिसाध्य छैन । यद्यपि,यसको केही पीडा भने चलचित्र ‘सतिदेवी’मार्फत देखाउन खोजिएको छ । 

चलचित्रमार्फत छोरा-छोरीबीच हुने विभेद र त्यसले सिर्जना गर्ने समस्याहरुलाई अभिव्यक्त गर्न खोजिएको मलिका बताउँछिन् । भन्छिन्, ‘छोरा पाएपछि मात्रै स्वर्गको ढोका खोलिन्छ भन्ने अन्धविश्वासलाई चिर्न खोजेका छौँ।’

चलचित्रमा मनोरञ्जन र सन्देशको दोहोरो प्याराडक्स छ । मोफसलका दुर्लभ दृश्यहरु छन् । गाउँका अर्गानिक संवादहरु छन् । नेपाली र समाजको तीतो यर्थाथ छ । ‘सतिदेवी घरकी जेठी छोरी हो,ऊ बलियो छे,जिम्मेवार छे,कोमल छे, प्रेमिल छे,जुन कुराबाट महिला टाढा हुन सक्दैनन्’,मलिकाले थपिन् । 

०००
मलिका ‘सतिवेदी’ बन्नुअघिको किस्सा पनि रोचक नै छ । चलचित्रका लेखक तथा निर्देशक हुन्,लक्ष्मण सुवेदी । उनले कथा लेखिसकेका थिए । तर, आवश्यकता थियो- एक २०/२२ वर्षे युवतीको, जसले कथाको पात्रलाई न्याय गर्न सकोस् । 

ठीक त्यतिबेला लक्ष्मणको आँखामा परिन्,मलिका । उनको ‘यात्रा’, ‘पानीफोटो’ र दर्जनौ म्युजिक भिडियोको कामलाई नजिकबाट नियालिरहेका उनले मलिकालाई मेसेज गरे- ‘एउटा फिल्म छ, इच्छुक हुनुहुन्छ ?’

मलिकाले जवाफ फर्काइन्, ‘स्क्रीप्ट पठाउनुस् न !’ स्क्रीप्ट पढ्दै गर्दा उनले चलचित्रलाई भिजुयलाइज गर्न थालिन् । सतिदेवीको गाग्री बोक्ने शैली, खाना पकाउने तरिका, घाँस-दाउरा गर्ने बानी उनले पढ्दा पढ्दै अनुभूत गर्न थालिन् । त्यसपछि निर्देशक लक्ष्मणलाई फाइनल उत्तर दिइन्, ‘ओक्के, आइ एम रेडी ।’

०००
मलिका काठमाडौँमा जन्मेकी/हुर्केकी अभिनेत्री हुन् । घरकी माइली छोरी । उनका दाजुभाई छन् ।

‘चलचत्रिमा देखाइएको छोरा-छोरीबीच विभेदजस्तो तपाईको घरमा पनि हुन्छ ?’ भन्ने प्रश्नमा उनले जवाफ छ, ‘त्यो कुरामा म आफूलाई भाग्यमानी ठान्छु । हुन त काठमाडौँमा अहिले पनि कतिपय दम्पतीमा छोरा जन्माउनै पर्ने सोच रहेको देखिन्छ । तर त्यो मेरो घरमा त्यस्तो भएन ।’ 

बरु मलिकाले आफ्नो नजिकका साथीहरुको घरमा त्यस्तो विभेद देखेको सुनाइन् । ‘मैले साथीलाई दिदीबहिनी कति छौ भनेर सोध्दा ७ जना भएको सुनेँ, त्यो पनि छोराकै लागि हो’, उनले थपिन् । 

यर्थाथमा नभोगे पनि चलचित्र गरिसकेपछि अहिले मलिकालाई यस्ता घटनाहरुले शरीर जिरिङ्ग बनाउछ । छोरी-छोरी जन्मेकै कारण श्रीमानबाट सुन्नुपर्ने अपमानित शब्द र समाजले हेर्ने दृष्टिकोणलाई अनुमान गर्दामात्रै पनि उनको आँखा रसाउछ । ‘मैले त एकैछिन अभिनय गरेँ, सकियाे’, मालिकाले भनिन्, ‘तर वास्तविक जीवनमै त्यो स्थिति भोगिरहेका महिला र परिवारमा के बित्छ होला ? यसबारे सोच्दा भित्रैबाट पोल्छ ।’

000
सामान्यत:नेपाली चलचित्र क्षेत्रमा फिल्म चल्न हिरो (पुरुष) चाहिन्छ भन्ने भाष्य छ । तर ‘सतिदेवी’को मुख्य पात्र महिला (मलिका) छिन् । यसले उनीमाथि चलचित्र चलाउनैपर्ने दबाब बढाएको छ । यद्यपि, यसलाई मलिकाले अवसरको रुपमा लिएकी छन् । उनलाई लाग्छ, ‘चलचित्रको कथा अनुसार शीर्ष पात्र तय हुने हो, यो सतिदेवीको कथा भएको कारण म सतिदेवी बनेँ, योे चुनौती र अवसर हो ।’

अर्को कुरा, सतिदेवी अर्को चलचित्रसँग एकैदिन प्रदर्शनमा आउँदैछ । यसले दर्शकलाई चलचित्र छनोट गर्ने विकल्प दिएको छ । तथापि, सतीदेवीले उल्लेखनीय दर्शक पाउने मलिकाको विश्वास छ । 

यस चलचित्रले ग्रामिण फिल्म फेस्टिभल, दक्षिण एसियाली फिल्म फेस्टिभललगायतका आधा दर्जन फेस्टिभलमा अवार्ड जितिसकेको छ । जसका कारण चलचत्रिको हाइप राम्रै देखिन्छ । तर दर्शकको चेतनास्तर फरक-फरक हुने भएकाले हलमा यसलाई कत्तिको रुचाइन्छ ? त्यो भने भदौ ७ गतेपछि थाहा हुनेछ । 

चलचित्रले व्यावसायिक सफलता पाउनु, नपाउनु एउटा कुरा होला, तर समाजमा गढेर रहेको लैगिंक विभेद र यसका आयामहरु खोतल्न ‘सतिदेवी’ सफल हुनेमा भने शंका छैन । र अन्त्यमा, चलचित्रको संवादझैँ कुनै महिलाले कहिल्यै भन्न नपरोस्, ‘ए इश्वर, यो जुनीमा यस्तै भयो, अर्को जुनीमा छोरा बनाइदेउ !’
 

टिप्पणीहरू