जाँदाजाँदै माओवादी सेनाको उद्धार

जाँदाजाँदै माओवादी सेनाको उद्धार

राष्ट्रिय सेनामा माओवादीबाट छिरेका पूर्व लडाकुहरू कति बाँकी होलान् ? घर जाँदाजाँदै प्रधान सेनापति प्रभुराम शर्मा र माओवादी सुप्रिमो तथा निवर्तमान प्रधानमन्त्री प्रचण्डबाट उनीहरूको उद्धार कसरी गरियो, जान्न चाहनुहुन्छ ? प्रभुरामले घर जाँदाजाँदै तत्कालीन द्वन्दबाट समायोजित कतिपय अधिकृतलाई प्रचण्डसँग मिलेर सेवा अवधि थप्नेदेखि शान्ति सेनाका रूपमा हाल्नेसम्मको निर्णय गर्नुभएको छ । यो निर्णय उहाँले सेवा अवधि समाप्त हुनुभन्दा १ महिना पहिले बिदा बस्ने र पदभार अशोक सिग्देललाई सुम्पने दिन साउन २४ गते गर्नुभएको हो ।

राष्ट्रिय सेनाका लागि निकै महत्वपूर्ण र आवश्यक ठानी १३ जना पूर्व लडाकुको सेवा अवधि प्रभुरामले थपिदिनु भएको हो । यीमध्ये समायोजनबाट आएकी एक महिला क्याप्टेनसहित ५ जना मेजरलाई दक्षिण सुडानमा अब्जरभर खटाइँंदै छ । सेवा अवधि पूरा भई भर्खरै घर जान तयार हुनेमा हिम्मत बलाल,  प्रदिप तामाङ, देवबहादुर गुरुङ, इन्द्रभक्त महर्जन र मीनाकुमारी घलान छन् जो अवधि थप पाएसँगै मिशन जाने तयारी गरिरहेका छन् । एकपटक मिसनमा जाँदा एकजनाले ५०/६० लाखसम्म कमाउँछन् । 

२०६९ साल असोजदेखि १३५१ जना अन्य दर्जा र ७२ जना अधिकृततर्फ तत्कालीन लडाकुहरूको नेपाली सेनामा समायोजन भएको थियो । यीमध्ये कतिपय माओवादीले तत्कालीन समयको सदुपयोग गर्दै १/२ वर्षअगाडि मात्रै क्यान्टोन्मेन्टमा भित्र्याइएकालाई पनि १०/१२ वर्ष सेवा अवधि बनाएर सेनामा प्रवेश गराएका थिए । अन्य दर्जामा गएका ६० प्रतिशत २० वर्ष सेवाअवधि पुर्‍याएर मिशनमा जाँदै अवकाश लिएर पुनः माओवादी धारमा लागिसकेका छन् । कतिपय भने निर्वाचनको मुख ताकेर वडा र पालिका निर्वाचनमा उम्मेदवारी दिने भन्दै मिशन जाने क्रममा रहेका छन् ।

यसरी समायोजनमा गएका अधिकृतमध्ये ९५ प्रतिशत मेजरसम्म भएर कोही अवकाश लिने त कोही सेवा अवधि थप गराएर अब्जरभर जाने तयारीमा छन् । समायोजित लडाकूहरू यही कात्तिकदेखि २०८२ जेठसम्म मिशनमा गइसक्ने व्यवस्था मिलाइएको छ । 

यामबहादुर अधिकारी ‘प्रतिक्षा’ सबभन्दा उच्च ओहोदामा पुग्ने पूर्व लडाकु हुन् । उनी ब्रिगेडियर जनरलमा म्याद थपाएर सैनिक मुख्यालयकै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु हेर्ने जिम्मेवारीमा छन् । एकजना लेफ्टिनेण्ट कर्णेल, तीनजना क्याप्टेन र अरु सबै मेजरसम्मको जिम्मेवारीमा पुगेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)


 

टिप्पणीहरू