बोर्ड अध्यक्षमा दिनेश र करिष्माको छुट्टाछुट्टै दौड

बोर्ड अध्यक्षमा दिनेश र करिष्माको छुट्टाछुट्टै दौड
सुन्नुहोस्

चलचित्र विकास बोर्डमा अध्यक्ष बन्न केही मापदण्ड तोकिएका छन् । जसअनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, स्नातक पास गरेको, फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा निरन्तर काम गरेको हुनुपर्नेछ । 

तर, राजनीतिक नेतृत्वले आफ्ना मान्छेलाई अध्यक्ष बनाउन त्यस्ता मापदण्ड लत्याउने गरेका कारण हरेकपटक बोर्ड अध्यक्ष नियुक्ति विवादमा पर्ने गरेको छ । यसको पछिल्लो उदाहरण हुन् भुवन केसी । दुई ठूला दल कांग्रेस र एमाले छोड्ने र प्रवेश गर्ने अस्थिर शृंखला नै चलाएका उनी पहुँचकै आधारमा मापदण्डमा नपरेर पनि अध्यक्ष बनेका पात्र हुन् ।  

२०७० सालको दोस्रो संविधान सभा चुनावमा काँग्रेसबाट टिकट नपाएका भुवन एमाले प्रवेश गरे । तर, त्यहाँ पनि जिल्याइएपछि सक्रिय राजनीतिमा आएनन् । तर, ०७९ बैशाख १९ गते उनी एकाएक अभिनेत्री स्वेता खड्कासहित कांग्रेस प्रवेश गरे । तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई बालुवाटारमा खादामाला लगाएर भव्य स्वागत गरेका थिए । भुवनसहितका कलाकारलाई कांग्रेसमा भित्र्याउन चाँजोपाँजो मिलाउने मुख्य हर्ताकर्ता थिए नीर शाह । 

त्यसको साढे दुई महिनापछि बोर्ड अध्यक्ष दयाराम दहालको कार्यकाल सकिँदै थियो । बोर्डको नेतृत्वमा आँखा लगाएका उनलाई त्यहाँ लैजाने बचन दिएर काँग्रेसले पार्टीमा भित्र्याएको चर्चा चलेकै थियो । उनीसहित डेढ दर्जनले आवेदन दिएकोमा सञ्चार मन्त्रालयले १० जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा लग्यो । र, अन्तिममा कांग्रेस नेतृत्वको सरकारले तीन महिनाअघि पार्टी प्रवेश गरेका भुवनलाई नै रोज्यो । उनी अध्यक्ष नियुक्त भए । 

खासमा राजनीतिक नेतृत्वको रोजाईमा पर्नुबाहेक भुवनको त्यस्तो ठूलो योग्यता थिएन । आवेदकहरु अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल उनीभन्दा अब्बल मानिएका थिए । को नाम लिन सकिन्छ । तर, चलचित्र वृतमा पर्दा पछाडिका पात्र उनीहरुको राजनीतिक पहुँच थिएन । फलतः  शैक्षिक योग्यता नपुग्दा पनि भुवनले बोर्ड अध्यक्षमा बाजी मारे । 

त्यसो त, राजनीतिक तथा संवैधानिक निकायहरुमा हुने नियुक्तिमा दलीय र गुटीय निकटताका आधारमा आफ्ना मान्छे च्याप्ने चलन यो नै पहिलो र अन्तिम भने होइन । बोर्डकै कुरा गर्दा केपी ओली नेतृत्वको सरकारले यसपटक पनि आफ्ना मान्छे टिप्ने विगतकै अभ्यास दोहोर्याउँदै छ । 

भुवनको दुई वर्षे कार्यकाल गत साउन ९ गते सकिएसँगै सञ्चार मन्त्रालयले नयाँ  नियुक्ति प्रक्रिया शुरु गरिसकेको छ । १५ दिनको म्याद दिएर खुलाइएको विज्ञापनमा ६ जनाले आवेदन दिएका छन् । जसमध्ये अर्जुनकुमार डंगोल, करिश्मा मानन्धर र दिनेश डिसीले अस्ति अन्तर्वार्ता दिए भने दीपा बस्नेत, प्रकाश भट्टराई र राजेश थापाले हिजो । 

सायद, अघिल्ला नियुक्ति देखेर होला, यो पटक तुलनात्मक रुपमा कम आवेदन पर्यो । खासमा आवेदनभन्दा पनि यी छ जना आफ्नो राजनीतिक शक्ति देखाउन प्रतिस्पर्धामा उत्रिएको टिप्पणी भैरहेको छ । 

रोचक के छ भने, छ जनामध्ये पनि अध्यक्षको मुख्य दावेदार मानिएका छन्, करिश्मा र दिनेश । दिनेश एमालेनिकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्षसँगै जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य छन् । अध्यक्ष ओलीसँग घनिष्ट सम्बन्ध राख्ने थोरै कलाकारमध्ये एक मानिने उनले यसबीच भेटघाट पनि गरिसकेका छन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि उनले  मन्त्रालयमै पुगेर फूलको बुकीसहित ‘दर्शन  भेट’ गरिसकेको बताइन्छ । 

एमालेको चुनाव चिन्ह झल्काउने गरी नामै ‘सूर्यकुमारी’ राखेकी करिश्मा पनि के कम !, अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई ’बा’ भन्न रुचाउने उनले थप जोडकोण मिलाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भेटेको चर्चा छ । उनी एमालेको साहित्य,कला तथा सांस्कृतिक विभागकी सदस्य हुन् ।

यी बाहेक अन्य उम्मेदवारले पनि आन्तरिक गृहकार्य गरिरहेको बताइन्छ । तर, उनीहरुको भेटघाट खासै बाहिर आएको छैन । यो पृष्ठभूमिमा पूर्वराष्ट्रपति भण्डारीले शक्ति देखाउन सके करिश्माले बोर्डको बागडोर सम्हाल्ने मौका पाउने सम्भावना छ । अन्यथा प्रधानमन्त्री ओलीको लागि भने दिनेश नै एक मात्र विकल्प रहेको चलचित्र वृत्तका जानकारहरु टिप्पणी गर्छन् ।

कतिपयले त केसम्म भन्छन् भने ओलीले चाहेकै मान्छे बोर्ड अध्यक्ष हुने भएकाले यो लम्बेतान प्रक्रिया आवश्यक नै थिएन । ‘आवेदन, अन्तर्वार्ता, सिफारिस छनोट भन्दै तमासा देखाउनुपर्ने नै होइन’, एक कलाकार भन्छन्, ‘बरु यी सबै बन्द गरेर सिधै दिनेशलाई टीका लगाएको भए अरुलाई दौडधुप गर्नु पर्ने त थिएन !

टिप्पणीहरू