समय सधैं कहाँ दाहिने हुन्छ र सरकार !

समय सधैं कहाँ दाहिने हुन्छ र सरकार !
सुन्नुहोस्

मुहमद इब्न अबि बकर अल तुरे अर्थात् मुहमद तुरे ती राजा हुन् जसले विशाल सोङघाइ साम्राज्यलाई हराए । पश्चिम अफ्रिकाको सबैभन्दा ठूलो यस इस्लामिक साम्राज्यको क्षेत्रफल ८ लाख वर्ग किलोमिटरसम्म फैलिएको थियो । आजको माली, नाइजर, नाइजेरिया, मौरिटानिया, सेनेगल, गिनिया र अल्जेरियासम्म । यसले युरोपसम्म सुन र नुनको व्यापार गथ्र्याे । मुहमद तुरे पश्चिम अफ्रिकी मुलुक मालीको एउटा नगर गावोमा जन्मेका थिए र सोन्नी अलिको समयका जर्नेल थिए । उनले सोन्नीका पुत्र सम्राट् सुन्नी बारुलाई युद्धमा पराजित गरेर आस्किया वंशको शासन शुरु गरेका थिए । आस्कियालाई स्थानीय भाषामा जर्नेल भनेर बुझिन्छ ।

तुरे सिल्ला जनजातिका अश्वेत थिए । उनको सबैभन्दा कमजोरी गोराहरू थिए । उनले सोङघाइ सम्राट्लाई पराजित गरी सबै सम्पत्ति र दासीहरू हडपेर लिए । त्यसबखत सिल्लाहरू मासु काँचै खाने र आलो रगत पिउने आदिवासीको रूपमा चिनिन्थे, जसकारण छिमेकी गाउँका जनता नजिक जानै डराउँथे । सधैँ उनीहरूबाट बचेर हिँड्थे । तर, सन् १४९३ मा जव तुरे शासक बने, उक्त साम्राज्यका जनता सिल्लाहरूले बोल्ने भाषा बुझ्दैनथे । उता स्थानीय जनताको भाषा यिनीहरूले बुझ्दैनथे । तुरेले शुरुशुरुमा आफ्नै भाषा बोले, आफ्नै वेशभूषा लगाए । विस्तारै स्थानीय भाषा सिके । त्यसपछि बल्ल स्थानीय जनता घुलमिल हुन थाले । तुरेले साम्राज्यका पूर्वमन्त्री, प्रधानमन्त्री कसैलाई मारेनन् । बरु चरम यातना दिए । आफ्नो दास बन्न बाध्य पारे । उनीहरूले आफ्ना सम्पूर्ण सम्पत्ति र श्रीमतीहरू तुरेलाई नै सुम्पे अनि साम्राज्यको सबै गोप्य सूचना दिए । तुरेले दरबार कब्जा गरेपछि सबैभन्दा पहिला रानी र तिनीहरूका केटाकेटीलाई अलग पारे । केटाकेटीलाई समुद्रमा फ्याँक्न लगाए, ताकि यिनीहरू ठूलो भएर विद्रोहमा सामेल नहोउन् । उनले राजाका सन्तान मात्र होइन, नोकरचाकर र ‘हरम’ भित्र दासीहरूका छोराछोरीसमेतलाई जीवित राखेनन् ।

सिल्ला आदिवासीहरूको मुख्य पेशा शिकार थियो । उनीहरू बाण हानेर वा छुरा प्रहार गरेर जनावरको शिकार गर्थे । शिकार गरी ल्याइएका जनावरलाई एउटा खम्बामा उल्टो झुण्ड्याउँथे र मुनि राखेको एउटा भाँडोमा रगत जम्मा पारेर पिउँथे । उनीहरू जनावरको आलो रगतलाई अमृत मान्थे, यस्तो रगत पिउने गरेकैले सबै सधैँ जवान भइरहन सकेको विश्वास गर्थे । दरबारमा पूर्वराजाहरूका असंख्य रानी र दासी थिए । उनीहरू दरबारमा सिल्लाहरूलाई देख्नेबित्तिकै डरले थुर्थुर काँप्थे, किनभने उनीहरूको रूप हेर्दैमा डरलाग्दो थियो, कोइलाजत्तिकै निख्खर कालो अनुहार, पहेँलो दाँत अनि शरीरभरि रौं । तुरेले कब्जा गरेलगत्तै दरवारको रेखदेखमा आफ्नै कबिलाका मानिस भर्ना गरिसकेका थिए । तुरे पनि अरुजस्तै काला थिए, ४ फुट मात्र अग्ला तर निकै फूर्तिला अनि वलिष्ठ शरीरका धनी । घोडा दौडाउनमा सिपालु, शिकारलाई २ मीनेटभित्रै मारिसक्थे ।

सबै पूर्वराजाहरू ऐøयास थिए । अकुत खर्च गरेर युवतीहरू युरोप र अन्य मुलुकबाट झिकाउँथे । कसैलाई रानी त कसैलाई ‘दासी’ को दर्जा दिन्थे । अतः सबै रानी र दासीहरू दूधजत्तिकै सेता र गोरा थिए । तुरेले ती सबै स्त्रीलाई मन पराए र दरबारमै रहन आदेश दिए । उनी हरेक क्षण कुनै न कुनैलाई साथमै राख्थे, यहाँसम्म कि नुहाउँदासमेत गोरा स्त्रीहरूलाई वरिपरि राख्थे । उनको ‘हरम’ का कक्षहरूमा उमेरअनुसार तिनलाई बस्ने व्यवस्था मिलाइएको हुन्थ्यो, तिनले प्रत्येक रात एक जनालाई रोज्थे र शयनकक्षमा लान्थे । उनी गोरो छाला देखेर पागल हुन्थे, त्यसैले रातभर लुगा लगाउनै दिँदैनथे । कुनै स्त्रीप्रति यतिधेरै ‘फिदा’ हुन्थे कि मन नभरिउञ्जेल साथमा राख्थे । उनले मन पराएको महिलालाई लुगा लगाउने अनुमति हुन्नथ्यो ।

एकपटक सेनाको लस्कर लिएर यात्रामा निस्के । तर, बाटो बिराए र उत्तरी अफ्रिकाको त्यस्तो स्थानमा पुगे, जहाँ आज नाइजेरिया छ । उनलाई त्यो स्थान निकै मनपर्‍यो र त्यहाँ दरबार बनाउन आदेश दिए । त्यस बखतसम्म नाइजेरिया उनको साम्राज्यको अंग बनिसकेको थिएन । तैपनि, जबर्जस्ती दरबार बनाउन लगाए । स्थानीयले उक्त कार्यको घोर विरोध गरेपछि रगतको नदी बगाए । जबर्जस्ती उक्त स्थानलाई आफ्नो अधीनमा ल्याए र इस्लाम धर्मको प्रचार गर्न लगाए । आज अफ्रिकामा जति पनि इस्लाम धर्मावलम्बी छन्, यसको ९० प्रतिशत श्रेय तुरेलाई जान्छ । उत्तरी अफ्रिकालाई आफ्नो अधीनमा पार्ने क्रममा उनको सेनाद्वारा मारिएका सबैको नाउँ ढुंगामा कोरेर दरवारको माथिल्लो तलामा राख्न लगाए र लेख्न लगाए, ‘यी सबैले अल्लाहको आदेशमुताबिक ज्यान दिएका हुन् । अहिले स्वर्गमा आनन्द मनाइरहेका छन् ।’ तुरेले आफूलाई अल्लाहको दूत बताए । उनको यस्तै भनाइले उत्तरी अफ्रिकाका जनता इस्लामप्रति आकर्षित बने । जनता यतिधेरै उनको भनाइमा भुल्न थाले कि राज्यले गर्नुपर्ने काम जनता स्वयंले गर्न थाले । उनी भने दरबारमा बसी पूर्वरानीहरूसित रंगरेलियाँ मनाइरहन्थे ।

नाइजेरियामा विशाल दरबार निर्माण गरिसकेपछि भव्य रात्रिभोज आयोजन गरे । भोजमा ठुल्ठूला व्यापारीलाई बोलाइयो । कार्यक्रममा प्रिय सेनापति सुन्नी अलीको परिवार पनि सामेल भयो । तुरे सुन्नीकी पत्नीलाई देखेर दंग परे । सुन्नीकी पत्नी बग्दादकी गोरी थिइन् । बुर्का लगाए पनि हात र खुट्टा देखेकै भरमा उनी गोरी र अत्यन्त सुन्दर हुनुपर्ने अनुमान लगाए । भोज नसकिउञ्जेल सुन्नीकी पत्नीसित कुराकानी गर्न पटक–पटक कोसिस गरे तर मौकै मिलेन । कार्यक्रम निकै रातिसम्म चल्यो । मौकाको फाइदा उठाउँदै सुन्नीलाई आज घर नफर्कनु, यहीँ बस्नु भने । सुन्नीले सम्राट्को कुरा काट्ने हिम्मत गरेनन् र त्यतै सुते । मध्यराति सबै गहिरो निद्रामा परेको बेला तुरे सुन्नीको कोठामा पुगे । सुन्नीकी पत्नीको मुख छोपेर उठाउने कोशिस गरे । उनले आँखा उघार्नेबित्तिकै चिच्याउने कोसिस गरिन् तर मुखमा तुरेको हात रहेकोले सकिनन् । तुरेले कोठाबाट निस्कन इशारा गरे ।

सुन्नीकी पत्नी डराइडराइ पछि लागिन् । बाहिर पुगेर तुरेले तिमीलाई एउटा उपहार दिनु छ, कोठामा जाऊँ भन्दै लगे । भित्र छिर्नेबित्तिकै हात समातेर अर्को कोठामा लगे । त्यहाँको दृश्यले उनको आँखा खुलेको खुल्यै भयो । कोठाभरी हिराजवाहरात, सुनका गहना, शाही लुगा थियो । त्यो देखेर उनको मन लोभियो र मुसुमुसु हाँस्न थालिन् । तुरे यही मौकाको प्रतीक्षामा थिए । त्यो रात दुवैले रमाइलो गरे । यसपछि जतिबेला मौका मिल्छ, तुरेले बोलाउन थाले । कुनै बेला त ३–४ दिनै रातदिन सँगै बिताए । सँगै घुम्न हिँडे । एकदिन सुन्नीकी पत्नीले मलाई तिमीसित रात गुजार्न मज्जा लाग्छ, किन हामी बिहे गरेर सधैंका लागि एकार्काको नबन्ने ! भन्ने प्रस्ताव अघि सारिन् । यो सुनेर तुरे खुशी भएनन् । रिसाएर जवाफ फर्काए, ‘तिमी सेनापतिको धोकेबाज पत्नी रहेछौ । तिमीले केही मूल्यवान गहनाको लोभमा आफ्नो शरीर बेच्यौ । मसित बिहेको प्रस्ताव राख्ने आँट कहाँबाट आयो ? यति कुरो जान्नु कि म कसैसित बिहे गर्दिनँ, सीधै सुहागरात मनाउँछु ।’

यो घटनालगत्तै अचानक तुरेको हत्या प्रयास भयो । कतिपयले यो काम उनैका एक पुत्रले गरेका हुन् भन्छन् भने कतिपयले सेनापति सुन्नीले, किनभने केही समयपश्चात् नै तुरेलाई उनैका छोरो आस्किया मुसाले गद्दीबाट उतारे । मुसाको समयमा सम्पूर्ण शक्ति सुन्नीकै हातमा थियो । तुरेलाई नाइजरको एउटा निर्जन टापुतिर निर्वासनमा पठाइएको थियो, तर पछि स्वदेश फर्के ।’

‘आस्किया महान’ को नाउँले पनि चिनिने उनको निधन सन् १५३८ मा आफ्नै जन्मस्थान गावोमा भयो । त्यतिबेला उमेर ९४ थियो । दुइटै आँखाले देख्न छोडिसकेको थियो ।
 

टिप्पणीहरू