यस्तो हुन्छ धर्म ? के हो यसको मर्म ?

यस्तो हुन्छ धर्म ? के हो यसको मर्म ?
सुन्नुहोस्

शास्त्रीय र धार्मिक मान्यताविपरित पशुपतिमा कोटी यज्ञ होम सम्पन्न गरेका विजय भण्डारीले अन्तिम दिन देशलाई श्रीलंका र बङ्गलादेश बनाइदिने अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् दिए पनि उनीविरुद्ध ठोस कारवाही हुन सकेको छैन । त्यसो त मेयर हर्क साम्पाङ विरुद्ध राधिका दासीलगायतले निमेषभरमैं धरानलाई खरानी बनाउने, हिन्दू धर्म बचाउन भारतको सहयोग लिने र त्यहाँबाट नागा साधुहरु ल्याएर वितण्डा मच्चाउने भनेका बेला पनि शान्ति सुरक्षाको जिम्मेवारी लिएका निकायहरु मौन बसेका थिए । विश्व शान्ति, बन्धुत्व र अहिंसालाई धर्म मान्ने, सबै जनको कल्याण भन्ने तर व्यवहारमा तीनसय साठी डिग्री घुम्ने प्रवृत्ति बढ्दो छ । सामाजिक सञ्जाल र भीडको बलमा राज्यलाई कमजोर बनाइँदैछ ।

धार्मिक आवरणमा हुने राजनैतिक र साम्प्रदायिक क्रियाकलापले पुनरुत्थानवादी, परम्परावादी र मौकापरस्त झुण्डलाई सल्बलाउन मद्दत पुर्‍याउँछ । झिल्को पाउने बित्तिक्कै मट्टितेल मात्र होइन अत्यन्तै प्रज्वलनशील पेट्रोल खन्याउनेको यहाँ कुनै कमी छैन । बाहिर दुर्गा प्रसाईंहरु देखिए पनि भित्र पूर्व राजा ज्ञानेन्द्र र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथहरु सक्रिय नै छन् । गद्दीच्यूत राजालाई नाति ह्रदयेन्द्रसहित राजतन्त्र पुनरावृत्ति गर्ने रहर लाग्नु अस्वाभाविक पनि नहोला । फलस्वरुप अचेल धर्मका नाममा, धर्म विपरितका क्रियाकलापहरु हुन थालेका छन् । 

जोगी जगको मायाँ मोह त्यागेर हिँड्छ, परिवार त्याग्छ, धन सम्पत्ति त्याग्छ र लोक त्याग्दै इश्वर प्राप्तीको लागि साधनामा लीन हुन्छ । तर अहिलेका जोगीहरु एकाह, सप्ताह पुराण लगाउँछन्, राम र कृष्ण चरित्रका कथाहरु वाचन गर्छन्, मरेका पितृलाई वैतरणी तार्ने, स्वर्ग पुर्‍याउने भन्दै अनेकन ढर्रा पार्छन् । भजनका नाममा कस्ता कस्ता गीतहरु बजाइन्छन् देखिएकै छ । त्यसो त फारसीहरुको शब्दकोशमा हिन्दूको अर्थ चोर, डाँका र फटाहा भनिएको थाहा पाएपछि सनातनी हौं, हिन्दू होइनौं भन्नेको पनि कमि छैन । आफूसँग चमत्कारिक शक्ति भएको बताउने कतिपय जोगीलाई भारतकै भौतिकवादीहरुले प्रमाणित गरेर देखाउने चुनौती दिँदा नाजवाफ भएका कैयौं उदाहरण छन् भने मयुरले विर्यपात खाएर गर्भधारण गर्छन् अनि नेपाल र गण्डकी पहिला भारतकै थियो भन्ने गेरु बस्त्रधारीका प्रवचन पनि सुनिएकै हुन् ।

कोटीका क्रममा चालचलनको रिपोर्टबारे बुझ्न गएका २–३ जना प्रहरीबाट आफ्नो प्रतिरक्षा गर्न नसक्ने, भक्तजनलाई फेसबुकलाइभमार्फत् गुहार्नु पर्ने कुराले धार्मिक नेताको हैसियत,  विश्व शान्ति र भातृत्व, होमको अन्तर्य खुलाउँछ । तापनि हाम्रो समाजमा प्रकाश भुजेलहरु जिउँदै छन्, कृष्णमूर्ति र कृष्णदास गिरीहरु पुजिएकै छन् । तर असल ऋषि र विद्वान्हरु भने रमिता हेर्न बाध्य छन् किनभने यी झुठको खेती गर्न जान्दैनन् । यी सत्य र धर्ममा बसेका छन् । धर्मका नाममा हुने पाखण्डलाई रोक्न यस्ता विद्वत् जन अघि सर्नु आवश्यक छ । 

धार्मिक उन्मादको क्रममा सतहमा आएका सानातिना घटनाका कारण हुन सक्ने धार्मिक द्वन्द्वले समाजलाई क्षति त पुर्‍याउने नै छ त्यस अलावा नसोचेको दुर्घटना र दुर्गतितिर मुलुकलाई नअँचेट्ला भन्न सकिन्न । त्यो बेला सबैभन्दा पहिलो मारमा राजनीतिक दल, तिनका नेता र कार्यकर्ता नै पर्ने हुन् । जनता त सँधै पेलिएकै, थिचिएकै हुन् । यिनलाई त्यति धेरै फरक नपर्ला । बेलैमा चेतना भया ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू