प्रहरीको अर्को टोली रिट बोकेर सर्वोच्चमा

प्रहरीको अर्को टोली रिट बोकेर सर्वोच्चमा
सुन्नुहोस्

नेपाल प्रहरीका पाँच अधिकृतले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । 

उमेर हदका कारण यसै महिना अवकाशमा जान लागेका अतिरिक्त महानिरीक्षक एआइजी श्याम ज्ञवालीसहितले आज रिट निवेदन दर्ता गरेका हुन् । रिटमा दर्जाअनुसार उमेर हद तोकेर अवकाशमा जाने व्यवस्था कार्यान्वयनमा रोक लगाउन आदेश माग गरिएको छ । 

अदालत गुहार्न गएकाहरुमा एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र इन्स्पेक्टर नागेन्द्र ठाकुर हुन् । उक्त रिटमा भोलि पेशी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । 

यसअघि सर्वोच्चले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न आदेश दिएको थियो । पर्सिदेखि अवकाशमा जान लागेका उपत्यका ट्राफिक प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ अधिकृतले दायर गरेको रिटमा अदालतले मागदाबी बमोजिमको अन्तरिम आदेश दिएपछि आज अर्को टोली पनि अदालत पुगेको हो । 

आइतबारदेखि अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका केही हाकिमहरु पनि यसैगरी सर्वोच्च अदालत पुगेका थिए । तर, उनीहरुको हकमा भने अदालतले मागेअनुसारको आदेश गरेन ।

टिप्पणीहरू