बकुल्लाको फुल चोरेर कागको बनाउने गेरुवस्त्रधारी

बकुल्लाको फुल चोरेर कागको बनाउने गेरुवस्त्रधारी

साउन ३२ गते, राति १०ः३० बजे : धर्मगुरूलाई प्रहरी समात्न आउने । सनातन धर्ममाथिको प्रहार । लाइभ गर । ए नागालाई बोला । विदेशी शक्तिको घुसपैठ भयो । केपी ओली सरकारले प्रहरी पठायो । अब देखाउँछौँ । बंगलादेश बनाउँछौँ । नेपाल अब बंगलादेश बन्छ । एकाएक हिन्दी गीतमा नाचिरहेका गेरूवस्त्रधारी गुरूले पशुपति परिसरलाई रणमैदान बनाए ।

प्रहरी पुग्नुको कारण थियो नक्कली पुलिस रिपोर्ट, शान्त पशुपति परिसरमा हिन्दी गीत बजाउँदै नाचेको आवाज । सोधपुछका लागि प्रहरी सो स्थलमा गएको थियो । प्रहरी पशुपति परिसरमा पुग्नेबित्तिकै विजय कृष्णमूर्ति ‘अगुल्टाले हिर्काएको कुकुर बिजुली चम्कँदा पनि तर्सिन्छ’ भनेझैँ केटा हो, प्रहरीले धर्मगुरूलाई समात्न आयो लाइभ गर भन्दै चम्किए । प्रहरी आउनेबित्तिकै उनले १ वर्षदेखि पारिश्रमिक दिएर राखेको युवाहरूले उनलाई घेरा हाले । सायद विजय भण्डारी यो ठगी धन्दामा यी बेरोजगार युवाहरूले सफल गराउन सक्नेमा ढुक्क थिए । त्यसैले उनी विजयलाई कसैले उनको अपराध र  हिसाब सार्वजनिकरण गर्ने कुरा गर्‍यो कि मुड्की बजार्थे । अब सुनौँ विजय भण्डारीका लीला ।   

विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिको कुण्डली र कर्मकाण्ड केही मिडियामा आइसकेका छन् । गुल्मी पुख्र्याैली घर भएका भण्डारीमा ९ वर्षको उमेरदेखि नै ठग्ने योग्यता विकास भएको हो । विजयको एक जना औपचारिक श्रीमती छन् । अरू त उनीनिकट व्यक्तिलाई नै थाहा छ । ती युवतीहरूको नाम सार्वजनिक नगरौँ । विजय मानिस, एक आध्यात्मिक नाम तीन वटा छन् । पहिलो बाल योगेश्वर, दोस्रो विष्णु प्रपन्नाचार्य र तेस्रो विजय कृष्णमूर्ति । विजय कहिले आफूलाई विष्णु भण्डारी भनेर पनि चिनाउँछन् । वियजले सानैदेखि धर्मका नाममा व्यापार गर्दा कसैको आँखामा नपर्ने थाहा पाइसकेका थिए । यो धर्मको आवरणमा सर्वसाधारण ठगी गर्न पनि सहज र शंका पनि नगर्ने यिनले बुझिसकेका थिए ।

भित्र जति रंगिला भए पनि गेरूवस्त्र धारण गरेमा सबै छोपिनेमा यिनी विश्वस्त थिए । त्यसैल यस्ता महायज्ञ, कोटिहोेम, धान्याञ्चल गर्दा जस्तो व्यक्ति पनि नतमस्तक हुने यिनीलाई थाहा थियो । यिनीले महायज्ञका नाममा ठग्ने व्यवसाय ०६८ सालबाट चर्चामा आएको हो । महायज्ञमा पुराणवाचन गर्न पैसा भनेपछि आयोजक वा विजयजस्ता मानिसको बारेमा नबुझेर व्यासमा बस्न आइहाल्छन् । अनि सर्वसाधारण जनताको विरक्तिएको मनलाई भुटेर भएजति सबै दान गरूँ गरूँ बनाउँछन् । त्यसमाथि नेता, पत्रकार, समाजसेवी, कलाकारलाई मख्ख पार्न निकै खप्पिस छन् ।

यिनीले भारतबाट आएकी देवी प्रतिभालाई केही दिइएन, विशुद्ध सेवा भनेका छन् । तर विजयले उनलाई ५० लाख दिए । महायज्ञमा वाचनमा आएकाहरूलाई यिनले महँगो रकम तिरेर ल्याएका थिए । कसलाई कहाँ कसरी प्रयोग गर्ने भनेर निकै सोचविचार पु¥याएर व्यवस्था मिलाएका थिए । यी विजय भण्डारीले गेरूवस्त्रको नै बेइज्जत गरेका छन् । यिनका लीला सुन्दा र देख्दा नेपाल सरकार कति लाचार भएजस्तो लाग्छ । नेपाल त ठगै ठगको जग बनिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ साल मंसिर २४ गते भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै संकल्प गरेका थिए– ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।’ प्रधानमन्त्रीले करिब ४ वर्षपछि २०८१ साल साउन ६ गते आइतबार विश्वासको मतको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा चार वर्षअघि बोलेको वाक्य दोहो¥याए । उनले यसो भनिरहँदा ठग विजयको कर्मकाण्ड पशुपतिमा शुरू भइसकेको थियो । 

विजयको जेल यात्रा  

  •  २०६८ साल साउन ३२ गते प्रहरी परिसरमा काठमाडौँमा १ दिन थुनामा
  • २०६८ सालमा फागुन ११ गते पुनः १ दिन प्रहरी परिसर काठमाडौँमा थुनामा
  • २०६९ कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालय गुल्मीबाट पक्राउ गरी प्रहरी परिसर काठमाडौँमा २ दिन पूर्वपक्ष थुना 
  • २०७१ साल असोज ६ गतेदेखि २०७३ साल चैत ४ गतेसम्म केन्द्रीय कारागार, सुन्धारा

विजय जब २०६९ कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालय गुल्मीबाट पक्राउ परे सो समयमा प्रहरी परिसर काठमाडौँमा २ दिन थुनामा बसेका थिए । यो काण्ड अलि सिरियस भयो उनका लागि । विजयमाथि वैदेशिक रोजगारीको ठगी मुद्दामा जाहेरी परेको थियो । विजयका मुद्दा चलिरहन्थे । उनी गेरूवस्त्रमा हिँडिरहन्थे । सँगसँगै यिनका अनेकन लीला चलिरहन्थे । २०६९ सालको वैदेशिक रोजगारीको ठगी मुद्दावाला जाहेरीको लामो बहसपछि न्यायाधीकरणको कार्यालयले २०७५ जेठ २७ गते उनलाई एक वर्ष ६ महिना कैद र १ लाख ५० हजार बिगो जरिवाना ठहर गरेको थियो । विजयका थुनामा बसेको दिन कटाएर उनले एक वर्ष ५ महिना २७ दिन कैद सजायँ भुक्तान गर्नुपर्ने देखियो ।

विजय बकुल्लाको फुल चोरेर कागको बनाउनमा साह्रै सिपालु थिए । विजयले फैसलाको निर्णय पनि बुझ्न नआएपछि न्यायाधीकरणको कार्यालयले अन्तिम फैसलाको सूचना उनको घरमा टाँस गर्न भन्दै २०७५ चैत २४ गते जिल्ला अदालत गुल्मीलाई पत्राचार गरेको थियो । जिल्ला अदालतका तामेलदारले उनको घर नभेटेपछि धुर्कोट गाउँपालिका– ५ को वडा कार्यालयको भित्तामा फैसला टाँस गरेका थिए । न्यायाधीकरणको फैसलापछि उनी स्वतः फरार अभियुक्तका रूपमा दरिएका थिए । प्रहरी र कानुन कार्यान्वयन गर्ने जुनसुकै सरकारी निकायले उनलाई पक्राउ गरेर बुझाउन सक्थे । तर राजनीतिक कनेक्सनका आधारमा उनी लुकिछिपी धार्मिक गतिविधिमा सक्रिय भइराखे ।              

२०७१ सालमा जेल गएपछि यिनले करिब २ वर्ष जेल जीवन बिताए । सो समयमा २८ जना पीडितले १ करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि पक्राउ परेका थिए । जानीजानी ठगिएको मुद्दामा प्रहरीलाई मुद्दा चलाउन पनि समस्या हुन्छ भन्ने विजयको ठगी गर्ने दिमागलाई राम्रोसँग थाहा छ । त्यसैले यिनको ठगीको सिलसिला जेलबाट रिहापछि नयाँ अवतारी नामसँगै ठगी पनि बलियो तरिकाले हुन थाल्यो ।

  

२०७१ असोज ६ गते– २०७३ चैत ४ गते केन्द्रयि कारागार, सुन्धरावाला काण्डचाहिँ यस्तो छ । २०७३ मंसिर ६ मा काठमाडौंले जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको सजायँ सुनाएको थियो । उनको सजायँ पाउनुको कारण उनीविरूद्ध २८ जना पीडितले १ करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा परेको उजुरी थियो । त्यसअघि नै ‘महाराज’ २०७१ असोज ६ गते पुर्पक्षका लागि थुनामा पुगेका थिए र उनले २ वर्ष २९ दिन थुनामा बिताइसकेका थिए ।

बाँकी रहेको ३ महिना र १ दिन कैद सजायँ भुक्तान गरेर उनी २०७३ चैत ४ मा रिहा भएका थिए । रिहा भएपछि पनि जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै विजय महाराज उच्च अदालत पाटन पनि पुगे । २०७५ मंसिर ११ मा उच्च अदालतले जिल्लाकै आदेश सदर गरिदियो । त्यतिबेला पीडितकै पक्षमा फैसला भए पनि पीडितले पैसा पाएका छैनन् ।  उच्च अदालतले पनि जिल्ला अदालतको निर्णय सदर गरेको थियो । विजय ठग हुन् । ठगी धन्दा चलाएर बसेका व्यक्ति हुन् भनेर पनि सर्वसाधारण गठलाई गुरू भन्दै चरणमा पर्छन् । कस्तो अचम्म ? अझै विजयले त आफ्नी श्रीमती सुलोचनाको पनि नागरिकता प्रयोग गरेका कारण उनकी पत्नीलाई पनि जिल्लाले ३ महिना कैद सजायँ सुनाएको थियो । भण्डारीले ठगेको पैसा तिर्दातिर्दै सुलोचनाको माइती नै सडकमा पुग्यो । 

जेल यात्राबाट निस्केर अझै नयाँ अवतारी भएर व्याससनमा बसेर प्रवचन दिन डराउँदैनथे । २०७६ साल साउनमा दक्षिणकालीमा विजय भण्डारी उर्फ अहिलेका विजय कृष्णमूर्तिले  सप्ताह आयोजना गरेका थिए । सो सप्ताहमा पीडित गएर पैसा माग्दा पैसा नभएको चेक काटेर दिए ।  यसरी जेल बस्दा पनि यिनी सुध्रिएनन् । २०७८ वैशाख १ मा पनि १८ दिन डिल्लीबजार कारागारमा बस्नुप¥यो । जिल्लाले दोषी ठहर गर्‍यो । उच्च अदालत ललितपुर गए । उच्चले पनि जिल्लाको निर्णय सदर गर्‍यो । यसको अर्थ हो विजय भण्डारी उर्फ बाल योगेश्वर, विष्णु प्रपन्नाचार्य र विजय कृष्णमूर्ति ठग नै हो अदालतले नै भन्यो तर विजय भण्डारीले २०८१ साल जेठ ११ गते नेपाल प्रहरीबाट क्लिन चिट अर्थात् चारित्रिक सफाइ पाएको रिपोर्ट बनाए । जसमा प्रहरी निरीक्षक उद्धव पोखरेलको हस्ताक्षर छ । सो चारित्रिक प्रमाण पत्रमा स्क्यान गर्दा उनको आपराधिक रिपोर्टको विस्तृत आउँदैन । जुन प्रहरी नियमअनुसार उनको रेकर्ड आउनुपर्छ । 

२०८१ मा विजय यति बलियो भएर बसे कि उनको विरुद्धमा बोल्ने र कडा प्रश्न गर्नेलाई पिट्न बाँकी राखेनन् । केह सञ्चार माध्यमलाई उनले पहिले नै व्यवस्थित गरिसकेका थिए भने केही सञ्चार माध्यमलाई उनले कोटिहोम चलिरहेकै बेला पैसाको बण्डल थमाए । कतिपय युट्युवरलाई आफ्नो कलंकी कार्यालयमा बोलाएर १÷१ लाखका बण्डल थमाएर सहयोग गर्नुस् भने । त्यही भएर उनको साउन महिनाको कर्मकाण्डलाई बढाइचढाइ गरी गुणगान गाउनेको कमी थिएन । उनको अपराधविरुद्ध बोल्यो कि प्रहरीको क्लिन चिट देखाउँथे । यो लेखकलाई विजयको कर्मकाण्डको प्रहरी क्लिन चिट साउन १७ गते हात परेको थियो । हातपर्दा सोधीखोजी गर्दा छाँगाबाट खसेझैँ भए । यति धेरै सफाइका साथ लागेका ठग विजयका विरुद्धमा बोल्नु भनेको आगोको भुंग्र्रोमा हात हाल्नुसरह थियो । किनभने सर्वसाधारण अन्धभक्त भएर कुदेका थिए । पत्रकारले हावाको भरमा बोल्नुहुँदैन भन्ने लाग्यो । अझै अनुसन्धान गर्दा उनले बनाएको रिपोर्टमा मिलेमतोमा बनेको भन्ने जानकारी पायौँ । विजयका कर्मकाण्डबारे लेख्ने भनेका हातमा गन्य अनलाइन न्युज पोर्टल मात्रै थिए । 

विजयले पशुपति कोटिहोमलाई यति व्यवस्थित र चेनअफ कमाण्डमा राखेका थिए कि कोही पनि उनको विरूद्ध चुइँक्क बोल्न सक्दैनथे । विजयले पुराना ठगिएकालाई फकाउँदै नयाँलाई ठग्दै गरेका थिए । पशुपतिको कोटिहोमको १ वर्षदेखि तयारी गर्दै आएका थिए । देशभर यिनले ३ सय जना भोलेन्टियर भनेर युवायुवती खटाएका थिए । जसलाई यिनले मासिक ३० हजार दिने सहमति भएको थियो । यिनको सान बेग्लै थियो । कहीँ जाँदा ४ वटा स्करपियो, ५ वटा भाडाका गाडीको तामझामसाथ हिँडिरहेका थिए ।

विजय भण्डारीले आफ्नो विरूद्ध बोल्नेलाई कोटिहोम सकिएपछि एक एक गरेर बताउँछु र सबैको हिसाबकिताब आफूले राखेको भन्दै धम्की दिने गरेका थिए । जुन स्क्रिन सट सुरक्षित छ । यिनको विरूद्धमा प्रधानमन्त्री कार्यालयमा समेत कोटिहोम रोकिपाऊँ भनेर निवेदन परेको थियो । जसमा कुनै सुनुवाइ भएन । किनभने विजय भण्डारी निकै ठूलो पावरसँग उठबस चलिरहेको छ । विजयले आफू बच्न के–केसम्म गरेका छन् भन्ने सामाजिक सञ्जालमा देखिएकै छ । धर्मको नाममा ठग्दै हिँड्ने विजयले खर्च र दान संकलनबाट उठेको रकमसमेत सार्वजनिक गरेका छैनन् । उनले वृद्धवृद्धालाई सहयोग गर्ने नाममा मानव कल्याण परोपकार संघ नामक संस्थाको नाममा समेत ठगी धन्दा गरेका छन् । उनले १०५ जनालाई अमेरिका पठाइदिने भन्दै सीतालक्ष्मी गोर्खाली र कमल पौडेलसँग गरेको ठगी धन्दा त सबैले थाहा पाइसकेका छन् । यसको विस्तृत विवरण जिल्लाबाट प्राप्त भएको मिसिलमै संलग्न छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू