६ जिल्लामा फैलियो हैजा, धेरै संक्रमित ललितपुरमा

६ जिल्लामा फैलियो हैजा, धेरै संक्रमित ललितपुरमा

देशका ६ जिल्लामा हैजा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको  तथ्यांकअनुसार साउन ४ गतेयता ६ जिल्लाका ७५ जनामा हैजा पुष्टि भएको हो ।
 

ललितपुर, काठमाडौं, कैलाली, रोल्पा, प्युठान र मकवानपुरमा हैजा पुष्टि भएको महाशाखाले जनाएको छ । जसमध्ये ललितपुरमा सबैभन्दा बढी ५० जना संक्रमित भएका छन् । 

काठमाडौंमा १०, कैलालीमा ८, रोल्पामा ४, प्युठानमा २ र मकवानपुरमा १ जनामा हैजाको संक्रमण देखिएको हो । हैजा लागेका ७५ जनामा ७४ जना निकोसमेत भइसकेका छन् । एक जना भने अस्पतालमा उपचाररत रहेको महाशाखाले जनाएको छ । 

हैजा संक्रमण दूषित पानी तथा खानेकुराको सेवनबाट हुन्छ । विगतमा महामारीको रुप लिएको यो रोगबाट बच्न महाशाखाले विशेष गरी पानी शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ ।

टिप्पणीहरू