बम बिस्फोटमा घाइते बालकको उपचारमा सरकार उदासीन, स्थानीयको पहल

बम बिस्फोटमा घाइते बालकको उपचारमा सरकार उदासीन, स्थानीयको पहल

बेवारिसे सकेट बम पड्किँदा घाइते भएका दुई बालकको उपचारमा सरकारले बेवास्ता गरेको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा सशस्त्र द्वन्द्वमा प्रयोग गरिएको सामग्री विष्फोट हुँदा घाइते दुई बालकको उपचारमा सरकार उदासीन देखिएको छ । सोही घटनामा बितेका दुई बालबालिकाको परिवारलाई क्षतिपूर्ति दिन तीनै तहको सरकारले चासो नदेखाएपछि पीडित परिवार बिचल्लीमा परेको छ ।

स्थानीय आइतराज केरुङ्गको कच्ची घरमा लुकाएर राखिएको सामग्री खेलाउने क्रममा भदौ १३ गते विस्फोट भएको थियो । त्यसमा २ वर्षीया प्रिन्सा साँवा र ११ वर्षीया दिप्सन साँवाले ज्यान गुमाए । तर, उनीहरुको परिवारले हालसम्म क्षतिपूर्ति पाएका छैनन् । घाइते १३ वर्षीया पवन राई र ७ वर्षीय दिप्सन राईको उपचारमा आर्थिक अभाव देखिएको छ । 

मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइते बालकहरुको उपचारमा सहयोग पुर्याउन सांसद इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सभामा आवाज उठाएका छन् । स्थानीय नेता–कार्यकर्ताले पनि संघ र प्रदेश सरकारसँग हारगुहार गरेका छन् । तर, कतैपनि सुनुवाई नभएको बताइन्छ । संघ र प्रदेश सरकारले चासो नदिएपछि पाँचथरबासीले घाइते बालकहरुको उपचारका लागि सहयोग जुटाउन थालेका छन् ।

काठमाडौंमा उपचाररत ती बालकलाई आर्थिक सहयोग गरिदिन उनीहरुले देश–विदेशका मनकारीसँग अनुरोध गरेका छन् । नेकपा माओवादी केन्द्र, कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग मिक्सोले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेका छन्, ‘हारगुहार गर्दापनि सरकार चुँसम्म बोल्दैन, यसैले घाइते बालकहरुको उपचारमा मनकारीहरुले सकेको सहयोग गरौं ।’

घटना माओवादीको कार्यकर्ताको घरमा भएकाले उपचार र क्षतिपूर्तिमा बेवास्ता गरिएको स्थानीयको आरोप छ । दिप्सन र पवनलाई धरानस्थित बिपी प्रतिष्ठान लगिए पनि खर्च अभावमा अभिभावकले फर्काएर फिदिम नै लगेका थिए । अनुगमनका लागि पुगेका अधिकारकर्मीको टोलीले उनीहरुको अवस्था गम्भीर देखेपछि कीर्तिपुर बर्न अस्पताल लैजान पहल गरेका हुन् ।

फालेलुङ गाउँपालिकाले विमानमा काठमाडौं ल्याउने व्यवस्था मिलाएपछि उनीहरुलाई अस्ति यहाँ ल्याएर उपचार थालिएको छ । कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सिडियो कार्यालयबाट विवरणसहित सिफारिस नआएकाले सहयोग गर्न नसकिएको बताए । 

भदौ १३ गते अपरान्ह ३ बजे ज्ञानबहादुर राईका छोरा पवन, दिलिप राईका छोरा दिप्सन, दिलिप साँवाका छोरा दिप्सन र छोरी प्रिन्सा एकैठाउँमा खेलिरहेका थिए । सोही क्रममा ‘होममेड सकेट बम’ विस्फोट भएको हो । घाइते बालबालिकाहरुलाई प्रहरी चौकी प्राङबुङले उद्धार गरेर उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल पाँचथर, इलाम र झापाको बिएण्डसी अस्पताल पुर्याइयो । उपचारकै क्रममा प्रिन्सा र दिप्सनको निधन भएको हो ।

टिप्पणीहरू