अमेरिकामा नेपालीहरु आतंकित

अमेरिकामा नेपालीहरु आतंकित

अमेरिकाको वासिङ्गटन डिसी नजिकै नर्स ममता काफ्लेको आफ्नै श्रीमान् नरेश भट्टले विभत्स हत्या गरेसँगै त्यहाँ कार्यरत नेपाली नर्सहरू आफ्नै श्रीमान्सँग कसरी बस्ने र बालबच्चालाई कसरी सुरक्षित राख्ने भन्दै पिरोलिएका छन्। यस्तो पिरलो बढेपछि दिनहुँजसो भेला भएर मनोविदहरुसँग परामर्श लिन थालिएको छ । 

छिटो पिआर लिन अमेरिकी सेनामा भर्ना भएका नरेश भट्टले काभ्रेकी नर्स ममता काफ्लेलाई मारेबापत प्रहरीले पक्राउ गरे पनि त्रासको वातावरण कायमै छ । यस्तो हत्या हुनुका पछि लिगल स्टाटस र डबल डिपेण्डेन्सीलाई कारक भनिएको छ । श्रीमान् र श्रीमतीबीच जस्तोसुकै झगडा हुँदा पनि २२ जेठ ०६६ मा काठमाडौं अनामनगरकी १९ वर्षीया ख्याती श्रेष्ठको टुक्रा टुक्रा पारेर ज्यान लिएकै जस्तो अपराधको कल्पना सामान्यतया गरिएको हुँदैन । 

श्रीमान्/श्रीमतीबीचको झगडामा मार्ने तहसम्मको अपराध हुनुका पछि एउटा आपराधिक मानसिकता अर्थात् क्रिमिनल माइण्ड भनिएको छ । अर्को कारण विवाहेत्तर सम्बन्ध हुने गर्छ । यस्तै कुरालाई पुष्टि गर्न सक्ने एक दुई च्याट भेटिएका छन् । आरोपित भट्टले एउटा च्याटमा आपूmसँग विकल्प भएको र दुईटीमध्ये कुनै एकसँग वैवाहिक सम्बन्धलाई अघि बढाउन सक्ने लेखेको पाइएको छ । यसबाट भट्टले नर्स काफ्लेको बदलामा प्रेमिकालाई श्रीमती बनाउने नियत राखेको छर्लङ्ग छ । नेपालमा सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाले श्रीमती गीता ढकालको हत्या तारा रेग्मीलाई स्थायी रुपमा आफ्नी बनाउन गरेका थिए ।

अचेल विवाह गर्नेबित्तिक्कै अमेरिका जान पाइने वा लैजान सकिने अवस्था छैन । विद्यार्थी भिसामा जाने, लिभिङटुगेदरमा बस्ने एउटा कुरा भए पनि बिहे गरेर लैजाने र बस्ने प्रकृया भने जटिल नै छ । यस्तो भएतापनि अमेरिकामा नेपाली महिला घरेलु हिंसाबाट पीडित हुने, एकल बस्नेजस्ता घटनामा वृद्धि भएको पाइन्छ । आफ्नो स्टाटस नहुँदा स्टाटसवाली केटी बिहे गर्न पाए हुन्थ्यो भन्ने हुन्छ । भैसकेपछि श्रीमतीलाई हेप्ने चलन छ । भट्टको कुरा गर्ने हो भने उनी सन् २०१६ मा अमेरिका गएको र सेनामा भर्ती भएको पाइन्छ । यस्तो मान्छेले फास्टट्रयाकबाट चार वर्षभित्रै नागरिकको हैसियत प्राप्त गर्न सक्छ । यसैकारण उनले नर्स काफ्लेलाई विवाह गरी लगेको र मन भरिएपछि स्थायी रुपमा पन्छाउन खोजेको बुझिन्छ । 

यो प्रकरणलाई सामाजिक सञ्जालमा छिनछिनमा गिजोल्ने काम भै सकेको छ । यो घटनाका कारण श्रीमान्सँग बस्न डर लाग्ने, छोराछोरी डराउने जस्ता कुराहरू पनि उठाउन थालिएको छ । सामाजिक सञ्जालमा आउने विभिन्न प्रतिक्रियालाई रोक्नसक्ने अवस्था पनि छैन । संकिर्ण सोचका भट्टले छोरी पाउँदा स्याहार गर्नको लागि सासू नभएर आफ्नी आमालाई लिएर गएको र महिनावारी हुँदा श्रीमतीलाई भूइँमा सुताउने गरेको पनि बुझिएको छ । त्यसैगरी मुना पाण्डे हत्या प्रकरणमा पनि वाह्य सम्बन्धले नै प्रमुख भूमिका खेलेको आशंका छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू