जे गर्याे,सिर्फ त्यही एक रातले गर्याे

जे गर्याे,सिर्फ त्यही एक रातले गर्याे

अचेल जमाना प्रविधिको छ । को-कतिबेला भाइरल हुन्छ टुंगो हुँदैन । तीज अस्ति शुक्रबार सकिएको छ ।

सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले दर र नाचगानको तस्वीरले सामाजिक सञ्जाल रंगाए । रातो साडी,चुरा,पोते र धागोमा महिलाको सौन्दर्य अझै खुलेको सौन्दर्यविज्ञ प्रतिमा सुवेदीको अनुभव छ । 

यसैक्रममा श्रृंगारभन्दा फरक कारणले एक महिला रातारात चर्चामा आइन् । रातो साडी,रातै ब्लाउज,घाँटीमा हार र ब्ल्याक हिलमा सजिएकी उनी थिइन्, पोखराकी सजना तिवारी । र, भाइरल हुनुको कारण हो ट्याटू। 

सजनाले ढाडै छाेप्नेगरी भगवान गणेशको ट्याटु खोपेकी छन् । त्यस्तै एउटा पाखुरामा हनुमान र अर्को पाखुरामा बुद्धको ट्याटू । 

सामाजिक सञ्जालमा अस्ति उनकाे तस्वीर/भिडियो सार्वजनिक भएपछि लाखौं प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । सुमन तुलाधरले सजनालाई मोडर्न लेडीको संज्ञा दिएका छन् । भन्छन्,‘मलाई यस्ताे लेडी मन पर्छ !’ 

विनिता पोख्रेलले भने कटाक्ष गरेकी छन् । ‘समग्र महिलाको बेइजत गर्यौ बैनी,अलि गतिलो ब्लाउज थिएन भने म दिन्थेँ नि !’, उनकाे प्रतिक्रिया छ । 

"मैले कहिल्यै सोचेको थिइन यस्तो भाइरल हुन्छु भनेर । तर मलाई चाहि भाइरल हुँदैमा खासै फरक पर्दैन है,कसैले राम्रो भन्छन्,कसैले नराम्रो’

रमाइलो के भने, सजनालाई फेसबुकमा पछ्याउनेहरुको संख्या ह्वात्तै बढेर ५८ हजार पुगेको छ । तर सामाजिक सञ्जालको चर्चाले आफूलाई खासै फरक नपर्ने सजना बताउँछिन् । यसरी रातारात भाइरल भइएला भनेर कहिल्यै सोचेकी थिइनन् । ‘एक रातमै के भयो, भयो ! मैले कहिल्यै सोचेको थिइन यस्तो भाइरल हुन्छु भनेर । तर मलाई चाहि भाइरल हुँदैमा खासै फरक पर्दैन है,कसैले राम्रो भन्छन्, कसैले नराम्रो’, उनले अनुभव शेयर गरेकी छन् । 

सजनाले आफ्नो शरीरको ट्याटू दुई वर्षअघि खोपेको बताएकी छन् । ट्याटू खोप्नको लागि अहिलेसम्म २ लाख हाराहारीमा पैसा सकिएको बताउँदै थप्छिन्, ‘अझै बाँकी छ खोप्न हातमा,पछि जाडोमा हान्छु, अहिले गर्मीले पाक्ने सम्भावना हुन्छ ।’

उता सजनाले पहिरिएको साडीको कारण महिला अधिकारकर्मीहरू साडीकाे बहसमा उत्रिएका छन्। समाजमा साडीलाई संस्कारी पोशाकको मान्यता दिइए पनि त्यसमा धेरै विरोधाभास रहेको अधिकारकर्मीहरुको तर्क छ । 

एक महिला अधिकारकर्मी साडीको प्रभावबारे बेलिविस्तार लगाउँछिन्, ‘सारीलाई संस्कारी पोशाक मानिन्छ । तर सारी लगाएपछि गला,कम्मर, पेट,पाखुरा,नाइटो पुरै देखिन्छ । ब्लाउज जीउमा लपक्कै टाँसिने र पारदर्शी हुन्छ । खासमा सारीले महिलाको अंगलाई एकएक छुट्याएर देखाउँछ । यसरी शरीरका अंग देखाउने सारीलाई किन संस्कारी पोशाक मानियो ? पुरै शरीर छोप्ने अरू लुगा लगाउँदा किन संस्कारी पोशाक मानिँदैन ? एकातिर महिलाको शरीरका अंग देखाउनु नहुने ! अर्कातिर सारी लाउनुपर्ने ! यो मिल्यो ?’

टिप्पणीहरू