सांसद जेलमा,‘रात रहे अग्राख पलाउने’ खेलमा

सांसद जेलमा,‘रात रहे अग्राख पलाउने’ खेलमा

प्रहरीको फरार सूचीमा रहेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसीलाई रुकुम कारागार  पुर्याइएको छ । श्रीमती राधा केसीसँगको सम्बन्ध विच्छेद मुद्दामा अदालतको छाप र पत्र नक्कली बनाएको भन्दै २०४६ सालमा दर्ता भएको मुद्दामा उनी दोषी ठहर भएका थिए ।

अदालतबाट दोषी ठहर भएका उनी कैद र जरिवाना भुक्तान नगरे पनि  रुकुमपूर्वबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । 

डिबीलाई प्रहरीले काठमाडौंमा समातेर रुकुमकोट अदालत पुर्याइए पनि सुरक्षा अधिकारीहरुले भने ले आत्मसमर्पण गरेको बताएका छन् । आज दिउँसो जिल्ला अदालतमा पेश गरिएका डिबीलाई रुकुम पश्चिमको कारागारमा दिउँसो ३ बजे पुर्याइएको थियो । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव शर्माले सांसद केसीलाई कैद भुक्तानको लागि अदालतमा उपस्थित गराइएको जानकारी दिए ।

कारागारमा सुटुक्क ल्याइएका डिबीलाई यो समाचार तयार पार्दासम्म अरु कैदीबन्दीसँग मिसाइएको छैन । उनलाई पदीय मर्यादाको ख्याल गर्दै जेलरको कार्यकक्षमै ससम्मान राखिएको बताइन्छ । स्रोतका अनुसार प्रक्रिया पुर्याउन मात्रै प्रदेश सदस्यलाई कारागारमा ल्याइएको हो । उनी आजको रात मात्र कारागार परिसरमा रहने स्रोतको दाबी छ । 

कारागार लगिएको भिडियो फुटेज तथा सिसी क्यामेराको रेकर्डका लागि मात्र उनलाई त्यहाँ पुर्याइएको पनि हुनसक्छ । दुबै जिल्लाका प्रहरी अधिकारीहरु यस विषयमा अनभिज्ञता देखाएर पन्छिएका छन् । रुकुम पश्चिमका डिएसपी नवराज पोखरेलले साँझसम्म पनि यसबारे आफूलाई केही थाहा नभएको बताए । रुकुम पूर्वबाट पश्चिमको कारागरमा लगिएको केसीको पक्राउबारे नै उनले अचम्म मान्दै भने, ‘केही थाहा भएन । रुकुम पूर्वमा होला ।’ जबकी कारागार रुकुम पश्चिममा मात्रै छ । 

मुद्दा के हो ?

उनीविरुद्ध श्रीमती राधा केसीले किर्ते जालसाजी गरेको उजुरी दिएकी थिइन् । अदालतको छाप किर्ते गरेर पत्र तयार गरेको आरोपमा उनीविरुद्ध २०४६ सालमा रुकुम अदालतमा मुद्दा दर्ता भयो । स.फौ.नम्बर २१ को उक्त मुद्दाको फैसला २०४८ असार ६ गते भएको हो । फैसलामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गराइएको उल्लेख छ । त्यसयता फरार उनी शान्ति प्रक्रियापछि मात्र विदेशबाट फर्केका थिए । श्रीमती उतै राखेका केसीले विदेशी नागरिकता लिएको आरोप छ ।

यो पनि...

‘फरार सांसद’ जेल चलान

टिप्पणीहरू