गृहसचिवमा कसरी पल्टियो पासा ?
गोकर्णमणि दुवाडी गृहसचिव बनेसँगै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करको रात दिनको प्रयास कसरी खेर गयो भन्ने चर्चा सिंहदरबारमा अझै सेलाएको छैन । सहसचिवबाट बढुवा भएर शुरुमै अर्थ मन्त्रालयको राजश्व सचिव र त्यसपछि दुई कार्यकाल अर्थ सचिव भएका उनी कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवाको खास भनी चिनिँदै आएका थिए । तर,यसपाली धेरैको मान्छे बन्न खोज्दा कसैको पनि हुन नसकेका उनले गृह सचिवको दौड जित्न सकेनन् ।
कांग्रेसनिकट भैकन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको मन जित्न उनी रातदिन नभनी लागेका थिए । प्रधानमन्त्री कार्यालयमै पोष्टिङ हुनुको फाइदा पनि उठाएकै थिए । किनभने औपचारिक बैठकमा अबेरसम्म प्रधानमन्त्रीलाई सघाउने र त्यसैको बहानामा नजिकिएर 'काम गर्न सक्ने मान्छे हो है भन्ने' देखाउन उनले यसबीच कम प्रयास गरेनन् ।
अर्कोतिर, डोटी ससुराली भएका पुस्करको देउवासंग भेगीय नाता पनि छँदै थियो । डोटीकै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले पनि उनको पक्षमा चाहना राखेको बताइन्छ । बिमलेन्द्र निधिदेखि काँग्रेस-एमालेका अन्य मधेशी नेताको पनि सहानुभूति रहेको भनिन्थ्यो । अझ महत्वपूर्ण कुरा चैँ एकनारायण अर्याल मुख्यसचिव बन्ने र पुष्कर गृहसचिव हुनेगरी उनीहरुबीच एक तहमा अण्डरस्ट्यान्डिङ थियो भनिन्छ ।
सबैतिरबाट आफ्नो पक्षमा माहोल बनाउन 'घरदैलो' गरेका उनको पक्षमा गृहमन्त्री रमेश लेखकले पनि शुरुमा 'मुन्टो हल्लाएका' थिए । लेखक नजिकका केही मान्छेले 'कृष्णहरि पुस्कर गृहसचिव हुँदैछन्' भनेर अनौपचारिक कुराकानीमा सुनाउँथे । गृह मन्त्रालयका उच्च अधिकारीहरुले पनि उनकै नाममा विश्वास गरिराखेका थिए । यो सबै परिस्थितिका कारण पुस्करले आफ्नो पक्षमा माहोल बनाएको भनी प्रहरीको उच्च तहले पनि विश्वास गरेको थियो ।
यसमा 'सुदूरपश्चिम फ्याक्टर'ले समेत कुनै न कुनै रुपले काम गर्न सक्ने अड्कलवाजी भएकै थियो । महालेखा नियन्त्रण कार्यालयका सचिव विनोदप्रकाश सिंहको विकल्पमा सुप ससुराली भएका पुस्कर देउवा दम्पतिको 'च्वाइस' बन्ने अनुमान धेरैले गरेका थिए । धनगढीका सिंह कन्चनपुरका गृहमन्त्रीको रोजाईमा पर्न सक्ने चर्चा पनि नभएको होइन । तर, शुक्रबार बसेको क्याबिनेट बैठकले यी दुबैलाई जिल्याउँदै दुवाडीलाई गृहको जिम्मा दियो । सम्भवत: सुप फ्याक्टरले काम नगरेको देउवाको हकमा यो नै पहिलो घटना हुनुपर्छ ।
प्रधानमन्त्रीका मान्छेहरुले 'हाम्रो तर्फबाट अन्यथा थिएन, कांग्रेसले सम्हालेको मन्त्रालयमा उसैले नाम ल्याउने हो, तपाईसँग हामी सकारात्मक छदैं थियौँ नि !' भनेर पन्छाइएको अवस्था छ ।
यसो हुनुका पछाडि धेरैतिरबाट आश्वासन पाएका पुस्करमा 'ओभरकन्फिडेन्स' पलाएको र उनको 'चुरीफुरी' निर्णयकर्तादेखि ब्यरोक्रेसीको एउटा उपल्लो खेमाले पचाउन नसकेको एकथरीले बताएका छन् । अर्थसचिव भैसकेका उनको विरुद्ध केही असन्तुष्ट कर्मचारी प्रधानमन्त्रीसम्म चुक्ली लगाउन पुगेको एकथरीको बुझाई छ । विनोदको हकमा पनि एकपल्ट गृहसचिव भैसकेकोलाई दोहोर्याएर लैजान नहुने भन्दै 'कान फुक्ने' काम भएको बताइन्छ ।
ओलीको मन जित्न नसकेका पुस्करलाई यसपटक आरजुले पनि साथ दिएको देखिएन । मुख्य सचिव हुनुअघिको सम्झौता एकनारायणले पनि बेवास्ता गरिदिए । घर जान लागेका प्रधानन्यायाधीशको प्रभावले सायद अर्थ राखेन । निजामतीको शक्तिशाली पदमा मधेशी मूलका व्यक्तिलाई टाढै राख्नुपर्छ भन्ने इर्ष्यालु मानसिकताले पनि धेरथोर काम गरेको धेरैको बुझाई छ ।
अहिले कस्तो प्रतिक्रिया आउन थालेको छ भने गृहमन्त्री रमेश लेखकको तर्फबाट 'हामी त तपाईंको नाममै सकारात्मक थियौँ नि,तर के गर्नु पिएमकै चाहना भिन्न रह्यो' भन्न थालिएको छ । उता प्रधानमन्त्रीका मान्छेहरुले 'हाम्रो तर्फबाट अन्यथा थिएन, कांग्रेसले सम्हालेको मन्त्रालयमा उसैले नाम ल्याउने हो, तपाईसँग हामी सकारात्मक छदैं थियौँ नि !' भनेर पन्छाइएको अवस्था छ ।
लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदाखेरी एकजना सज्जन पूर्वसचिवलाई आयुक्त पदमा लैजान आवश्यकताभन्दा बढी रुचि राख्दा यसैगरी हात खालि भएको सन्दर्भ यहाँ उल्लेनीय छ । त्यतिबेला एमालेको तर्फबाट अहिलेका प्रधानमन्त्रीले पूर्वसचिव केशव भट्टराईको नाम संवैधानिक परिषद्मा पठाएका थिए । परिषद् बैठकले उक्त नाममा मोटामोटी सहमति पनि गर्यो । तर,बाँकी आयुक्तका लागि प्रस्तावित नाममा सहमति जुट्न सकेन । त्यसपछि अर्को बैठकबाट सबैको नाम एकमुष्ट टुंगो लगाउनेगरी बैठक स्थगित गरियो ।
त्यसैबीच लोकमानले केशवको पक्षमा चर्को लबिङ शुरु गरे । आफूले प्रस्ताव गरेको नाममा लोकमानको अतिरिक्त चासोले एमाले नेताहरु हच्किन पुगे । प्रमुख आयुक्तसहित पाँच जना पदाधिकारी रहने अख्तियारमा अल्पमत-बहुमत हुँदा केशव लोकमानको पक्षमा उभिन सक्ने आशंकामा एमालेले उनको नाम हटाएर नवीन घिमिरेलाई प्रस्ताव गर्यो । र, पछि उनी प्रमुख आयुक्तसमेत भए ।
धेरैतिर कुदेपछि कसरी आशंका/इर्श्याको जन्म हुन्छ र केशव र पुस्करले जस्तो नियति भोग्नुपर्छ भन्ने कुरा यी दुई घटनाले देखाउँछ ।
टिप्पणीहरू