क्रान्तिकारी भाषण गर्दा पद चैट

क्रान्तिकारी भाषण गर्दा पद चैट

नेपाली नेताहरूको भाषणका कारण धेरै समस्या निम्तिने गरेको छ । समस्या मात्र होइन, रुकुम पश्चिममा भाषण गर्दा एक नेताको पद नै गुमेको छ । 

लोकतान्त्रिक पार्टीमा आस्था राख्ने नेता तथा नेपाली कांग्रेस रुकुमका उपसभापति हर्कसिंह खत्रीको यसरी एक विभागीय पद गुमेको हो । रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले उपसभापति खत्रीलाई प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीबाट हटाएका छन् ।

खत्रीले पार्टीको भवन उद्घाटन समारोहमा सभापति ओलीलगायत अन्य केही नेतालाई केन्द्रित गर्दै ठेकेदारी, सामन्ती र चरम पुँजीवादी बानी सुधार गर्नु अहिलेको आवश्यकता रहेको बताएका थिए । उक्त कार्यक्रममा केन्द्रीय उपसभापति तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्कासमेत थिए । उक्त क्रान्तिकारी भाषण दिएको केही दिनमै उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

सभापति ओलीलगायत धेरै नेता चलेका निर्माण व्यवसायी हुन् । जिम्मेवारी थपघट गर्ने सामान्य कार्य भए पनि पत्र नेपाली कांग्रेसले फेसबुकमार्फत सार्वजनिक गरेको थियो । तर उक्त पत्रमा भने दिएको जिम्मेवारी पुरा गर्न नसकेकोले हटाइएको उल्लेख छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू