पशुपतिको कोटीहोममा पौने करोड घाटा लागेको हिसाब प्रस्तुत

पशुपतिको कोटीहोममा पौने करोड घाटा लागेको हिसाब प्रस्तुत

पशुपतिमा सम्पन्न एक महिने कोटिहोममा घाटा लागेको हिसाब देखाइएको छ । मुख्य आयोजक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले आज हिसाब सार्वजनिक गर्दै ७२ लाख ५० हजार घाटा लागेको विवरण प्रस्तुत गरेका हुन् । 

विवरणअनुसार कोटिहोममा २० करोड १५ लाख ८२ हजार संकलन भएको थियो । २० करोड ८८ लाख ३२ हजार खर्च भएको भण्डारीको दावी छ ।  

सबैभन्दा बढी खर्च स्वयंसेवक परिचालनमा खर्च भएको भण्डारीको विवरणमा उल्लेख छ । उनका अनुसार कोटिहोमको पूर्वतयारी र समापनको अवधि (१० महिना)सम्म खटिएका स्वयंसेवकहरुको खाना बसाईको व्यवस्थापन र पारिश्रमिकमा चार करोड २६ लाख खर्च भएको छ । त्यस्तै, कथावाचकको पारिश्रमिकवापत एक करोड ८० लाख खर्च भएको उनले जानकारी दिए । 

 त्यसैगरी पशुपति विकास कोषलाई जग्गा भाडावापत ५८ लाख, खाद्यन्नमा करिब ९८ लाख, साउन्ड सिस्टम २१ लाख, अतिथि तथा दातालाई सम्मान सामाग्रीवापत एक करोड ९२ लाख खर्च भएको बताइएको छ । त्यस्तै, विभिन्न गुरु र अतिथिको बसाइ व्यवस्थापनमा एक करोड २६ लाख, ग्याँस करिब १० लाख, प्रचार प्रसारमा ८२ लाख, मिडिया खर्चवापत एक करोड ८ लाख र कार्यक्रम सञ्चालनकका लागि ६४ लाख खर्च देखाइएको छ । 

आम्दानी रकममध्ये १७ करोड ४६ लाख दाताहरुको रसिदबाट संकलन भएको जनाइएको छ । त्यस्तै, एक करोड ३६ लाख बैंकको क्यूआरमार्फत, २२ लाख चेकबाट, कलशबाट ४६ लाख, दान पेटिकाबाट ४१ लाख आम्दानी भएको भण्डारीले बताए । 

एक महिनासम्म ठूलो तामझामका साथ चलेको कोटिहोममा ठूलो मात्रामा दान संकलन भएको र आयोजकले कुस्तै रकम कमाएको अनुमान गरिएको थियो । तर, भण्डारीले भने अपत्यारिलो हिसाब देखाउँदै घाटा लागेको दाबी गरेका हुन् । 

त्यसो त, भण्डारी स्वयं विवादित पात्र हुन् । उनीमाथि धर्मको आडमा अनेकौँ आपराधिक घटना घटाएको आरोप छ । डेढ दशकअघि ठगीको आरोपमा उनी पटक–पटक प्रहरी हिरासतमा पुगेका थिए ।

टिप्पणीहरू