प्रेस चौतारीका अध्यक्षलाई पक्राउ गर्न खोजिएकोप्रति महासंघको आपत्ति

प्रेस चौतारीका अध्यक्षलाई पक्राउ गर्न खोजिएकोप्रति महासंघको आपत्ति
सुन्नुहोस्

नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी, नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न खोजिएकोप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । 

समाचारको विषयलाई लिएर बस्नेतलाई पक्राउको प्रयास गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघका अनुसार आज दिँउसो काठमाडौंस्थित हार्दिक होटलमा आयोजित छलफल कार्यक्रममा सहभागी उनलाई पक्राउ गर्न साइबर ब्यूरोको टोली पुगेको थियो । 

अन्य पत्रकारले विरोध जनाएपछि पक्राउ नगरिकन टोली फर्किएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्प्रेषित समाचारप्रति परेको उजुरी हेर्ने प्रेस काउन्सिलको अधिकारमाथि हस्तक्षेप गर्दै पत्रकार पक्राउको प्रयास गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर आघात भएको महासंघको ठहर छ । 

‘नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’,विज्ञप्तिमा भनिएको छ,‘सम्प्रेषित समाचारप्रति परेको उजुरी या गुनासो हेर्ने काम प्रेस काउन्सिल नेपालको हो । काउन्सिलको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै प्रहरीले पत्रकार पक्राउको प्रयास गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ ।’

त्यस्तै, महासंघले प्रहरीको उक्त हस्तक्षेपको कडा निन्दा गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सबैलाई आग्रह गरेको छ ।

टिप्पणीहरू