पत्नीको निधनपछि अन्तैतिर प्रेमालाप
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई त्यहाँका जनताले खुबै सम्मान गर्छन् । उनी सबैका ‘प्यारा चाचा नेहरू’ हुन् । तर, उनको निजी जीवन भने स्वच्छ छैन, विवादै विवादले घेरिएको छ । उनको बिहे कमला कौलसित भएको हो । कमला नेहरूभन्दा १० वर्षले कान्छी थिइन् । बिहे हुँदा कमलाको उमेर मात्र १६ थियो । कमलासँग नेहरूले २० वर्ष बिताए । कमला एउटै छोरी (इन्दिरा गान्धी) की मात्र आमा बनिन् । स्वतन्त्रताको संघर्ष र भारतलाई गणतन्त्र बनाउनुमा नेहरूको ठूलो योगदान छ । तर, उनीमाथि लगाउने गरेका अनेक आरोपमध्येका एउटा आरोप मुलुकको स्वतन्त्रसँगै गाँसिएको छ, त्यो हो– आफ्नी प्रेमिकाको भनाइलाई सकार्दै भारतको विभाजन गर्न सहमति जनाएको । सबैको इशारा एडविना सिन्थिया एनेट माउन्टबेटनतर्फ हो । एडविना भारतमा अंग्रेज सरकारका अन्तिम गभर्नर जनरलकी पत्नी थिइन् । नेहरूको एडविनासित अन्तरंग सम्बन्ध थियो, त्यसैबाट लाभ उठाएर अन्तिम गभर्नर जनरल लर्ड माउन्टबेटनले आफ्नी पत्नीमार्फत भारतको विभाजन गर्ने र सधैँ भारत र पाकिस्तानबीच शत्रुता मोल्न लगाउने जस्तो संगीन अपराधमा नेहरूलाई सामेल गराएका हुन् भन्ने आरोप छ । यहाँसम्म कि नेहरूमाथि मुलुक स्वतन्त्र भइसकेपछि पनि १२ वर्षसम्म आफ्नो मुलुकको गोप्य सूचना उनै प्रेमिकालाई पठाउने गरेको समेत आरोप छ । स्मरणीय छ, एडविनाको निधन सन् १९६० मा भएको थियो । नेहरू र एडविनाको प्रेमबारेको लेख जनआस्थाको २०६१ जेठ १३ को वर्ष १० अंक १३ मा छापिएको छ ।
नेहरूकी पत्नी कमलाको निधन ३६ वर्षको उमेरमा सन् १९३६ मा भयो । पत्नीको निधनपश्चात् उनको अफेयर कहिले कोसँग त कहिले कोसँग चल्यो । त्यसबेला अमृता शेरगिल एउटी नाम चलेको चित्रकार बनिसकेकी थिइन् । आधुनिक भारतीय चित्रकलाका सूत्रधारमध्येकै एक । बाल्यकालदेखि नै प्रतिभाशाली र विद्रोही स्वभावकी थिइन् । ८ वर्षको हुँदैदेखि चित्र कोर्न थालेकी उनी हंगेरीका हुन् । उनका पिता उमराओ सिंह शेरगिल पञ्जावी थिए । अमृताकी आमा यहुदी थिइन् र भारत घुम्न आएको बेला उनको र उमराओको भेट भएको थियो र पछि उनीहरूले बिहे नै गरे । सन् १९२१ मा परिवारले आर्थिक संकट ब्यहोर्नुपर्यो । त्यसैले उनीहरू भारत आएर सिमलामा बसे । त्यहीँ अमृताले बहिनी इन्दिरासँगै पियानो र भ्वाइलिन सिकिन् । चित्रकारिता त पहिल्यै गर्थिन् । पछि चित्रकारिताको अध्ययनसमेत गरिन् । १६ वर्षको उमेरमा आमासित फ्रान्स पुगिन् र त्यहाँका नामी चित्रकारहरूबाट चित्रकारिता सिकिन् । र, कलिलो उमेरमै चित्रकारितामा नाम र दाम हासिल गरिन् । उनी प्रायः नारी पुरुषको नग्न चित्र कोर्थिन् जसकारण चाँडै चर्चित बनिन् । सन् १९३१ मा उनको नाउँ युसुफ अलि खाँसित जोडियो । सँगसँगै नाताले दाइ पर्ने भिक्टर एगनसँग पनि उनको प्रेमको चक्कर चल्यो । पछि उनीहरू पति÷पत्नी नै बने ।
अमृता सन् १९३५ मा भारत फर्केर सिमलामा स्टुडियो खोलिन् । अर्को वर्ष उनको भेट अंग्रेज पत्रकार माल्कोमसित भयो । दुबै लिभिङ टुगेदरमा बसे । तर, माल्कोम तुरन्तै इङल्याण्ड फर्के । सन् १९३७ मा दिल्लीस्थित इम्पेरियल होटलमा उनले एकल चित्रकला प्रदर्शनी आयोजना गरिन् । प्रदर्शनी अवलोकन गर्न नेहरू पनि पुगे । अमृता खुलेर बोल्थिन् र बोल्न कसैसँग पनि डराउँदैनथिन् । उनको यो स्वभाव र उनको चित्रकारिता मात्र होइन, उनको सौन्दर्यबाट नेहरू प्रभावित नभई बस्न सकेनन् । त्यसबखत भारतीय नेताको रूपमा नेहरूको उदय भइसकेको थियो । उनी त्यसबेला पत्नीको निधनको शोकमै थिए । पत्नी कमलाको निधन भएको १ वर्ष पनि बितेको थिएन । त्यसो त उनको उमेर ४८ पुगिसकेको थियो तर ब्यक्तित्वमा उस्तै आकर्षण र तरुण नै देखिन्थे । कलाको अवलोकन पछिको भेटमा नेहरूले अमृताको कलाको प्रशंसा मात्र गरेनन् उनको रूपको वर्णन गर्न पनि पछि परेनन् । नेहरूको हँसिमजाकले अमृतामा गहिरो प्राभाव पा¥यो । र, मनमनै नेहरूलाई मनपराउन थालिन् । त्यसबेला उनको उमेर मात्र २४ थियो । त्यो बेला उनको र भिक्टरको बिहे भइसकेको थिएन । यसपछिका दिनमा अमृता र नेहरूको भेटघाट बाक्लिन थाल्यो । नेहरूले पनि एउटी स्त्रीको सामीप्य खोजिराखेकै समय भएकाले दुबै चाँडै नजिकिए । अमृताका साथीहरूले पनि नेहरूसितको सम्बन्धबारे अड्कल लगाइसकेका थिए र यही कुरोमा अमृतालाई बेलाबखत जिस्क्याउँथे पनि । एकदिन एक जना साथीले सोधिन् ‘तिमी दुनियाँको चित्र कोर्छौ तर नेहरूको चित्र किन बनाउँदैनौ ?’
अमृताले जवाफ दिइन्, ‘उनी यति शानदार ब्यक्ति छन् कि मेरा लागि उनको चित्र बनाउनु सम्भव नै छैन ।’ कहिले नेहरूले पत्र लेख्ने अमृताले प्रत्युत्तर दिने त कहिले अमृताले लेख्ने नेहरूले तुरुन्तै प्रत्युत्तर लेख्ने क्रम निकै समयसम्म चल्यो । उनीहरूको भेटघाट पनि चलिरहेको थियो । सन् १९४१ मा लाहोरमा चित्रकला प्रदर्शनीको आयोजन गर्न गइरहेकी थिइन्, अचानक सिकिस्त बिरामी परिन् । अस्पतालमा भर्ती गर्न नपाउँदै कोमामा गइन् । ५ डिसेम्बरमा २८ वर्षको अल्पायुमै उनले देह त्यागिन् । उनको र नेहरूको अन्तिम भेट् गोरखपुरको सराय गाउँमा भएको थियो । यद्यपि, दुबैले पत्रको आदानप्रदान अमृताको निधन हुनुभन्दा ४ महिना अघिसम्म गर्ने गरेका थिए । अमृताको असामयिक निधनले दुवैको बीचमा कस्तो सम्बन्ध थियो र करिब ४ वर्ष चलेको उनीहरूको पत्रमा के–कस्ता विषय समाविष्ट हुने गरेको थियो, गर्भकै विषय बन्यो किनभने अमृताको निधन पूर्व उनकी आमाले नेहरूले लेखेका सम्पूर्ण पत्रमा आगो लगाइदिएकी थिइन् । अमृताकी आमा मेरीको यो कार्यले नेहरू र अमृताको बीचमा अनैतिक सम्बन्ध थियो भन्नेहरूलाई बल पुग्न गएको थियो । यद्यपि, आजपर्यन्त उनीहरूको सम्बन्ध यस्तो थियो भन्ने प्रमाण पनि कसैले दिन सकेका छैनन् । तर, एकपटक अमृता नेहरूलाई गोरखपुरको रेल्वे स्टेशनमा बिदाइ गर्न पुगेकी थिइन् । त्यसबेला खिचिएको दुबै जनाको तस्बिरले त तहल्का नै मच्चाएको थियो । यसबाहेक नेहरूले अमृताको निधनमा उनकी आमाको नाउँमा एउटा मार्मिक पत्र लेखेर अमृताको सुन्दरताको लामै बखान पनि गरेका थिए ।
नेहरूले लेखेका पत्र अमृताले सुरक्षित राख्ने गरेकी, पत्र जलाउने आमाको कार्यप्रति अमृताले असन्तुष्टि व्यक्त गरेकी र पितालाई पत्र लेखेर ‘अब मैले आफैँले आफूलाई सम्झाउनुपर्ने भयो कि प्रेम पत्र पढेर बेरंगी बुढेसकाल रमाइलोसित बिताउने मेरो सपना ‘सपना’ नै रहने भयो’ भनी गुनासो गरेकीले नेहरूसितको उनको प्रेम गहिरो थियो भन्न सकिने स्थिति बनेको हो । यसैको आधारमा इतिहासकारहरूले अमृतासितको नेहरूको असफल प्रेम भन्ने गरेका हुन् । उता, अमृताको स्वास्थ्य अचानक कसरी बिग्य्रो र अस्पतालमा भर्ना भएको ४ दिनमै कसरी मृत्यु भयो भन्ने तथ्य पनि कहिल्यै सार्वजनिक भएन । उनकी आमाका अनुसार अमृता दोजिया थिइन् । उनले डाक्टर ज्वाइँ भिक्टरले नै आफ्नी पत्नीलाई मारेको बयान दिएकी थिइन् । संयोगवश, अमृताको निधनको भोलिपल्टै ब्रिटेनले हंगेरीमाथि सैन्य आक्रमण ग¥यो । भिक्टर स्वदेश फर्कन चाहन्थे तर जान सकेनन् । उनी भारतमै बसिरहे । दोश्रो विश्वयुद्धको समाप्तिलगत्तै हंगेरीमा कम्युनिष्ट सरकार बन्यो, त्यसपछि उनी फर्कनै चाहेनन् । पछि उनले भारतमै निनासँग दोश्रो बिहे गरे । निना पनि पञ्जाबी नै थिइन् ।
अमृता राम्रो कलाकार हुन् भन्नेमा दुईमत छैन । उनले भारतीय कलालाई विश्वमाझ चिनाएकी छन् । उनी आफैँ भारतको आत्मालाई क्यान्भासमार्फत नयाँ रूप दिएको दाबी गर्थिन् । पछिल्लो समय उनको कलामा रवीन्द्रनाथ टैगोर र उर्दू साहित्यकार इस्मत चुगताइको लेखनको प्रभाव देख्न सकिन्छ, फलस्वरूप भारतीय नारीको यथार्थ चित्रण गर्न थालिन् । उनलाई भारतीयले विश्वका महत्वपूर्ण चित्रकारमध्येकै एक मानेका छन् । अमृताको निधनपश्चात् नेहरूको सम्बन्ध अरुसित पनि बन्यो । सन्न्यासिनी श्रद्धा माता, पश्चिमबंगालकी गभर्नर पद्मजा नायडु, गुजराती वैज्ञानिक विक्रम साराभाइकी बहिनी मृदुला साराभाइ, जोन एफ केनेडीकी पत्नी जैकलिनलगायत स्त्रीसित । संथाल आदिवासी महिला बुध्नी मन्झियाइनले त नेहरूकै कारण आजीवन बिहे नै गरिनन् । उनलाई नेहरूको आदिवासी पत्नी भन्ने गरिएको छ । महानायक अमिताभ बच्चनकी आमा तेजी बच्चनसित पनि नेहरूलाई जोड्ने गरिएको छ । यहाँसम्म कि धेरै भारतीय पत्रपत्रिकाले अमिताभको अनुहार नेहरूसित मिल्छ भनेरसमेत लेखेका छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू