चौतारामा डायलाइसिस सेवा, स्थानीयको मन जित्दै जिल्ला अस्पताल

चौतारामा डायलाइसिस सेवा, स्थानीयको मन जित्दै जिल्ला अस्पताल
सुन्नुहोस्

सिन्धुपाल्चोकको चौतारा अस्पतालमा डायलाइसिस सेवा शुरु भएको छ । छिमेकी मित्रराष्ट्र चीनको सहयोगमा बनेको अस्पतालमा निःशुल्क डायलाइसिस सेवा शुरु गरिएको स्थानीय बिरामी खुशी देखिएका छन् ।

मृगौला रोगीहरुलाई काठमाडौं आवतजावतमा हुने गरेको समस्यालाई मध्यनजर गर्दै अस्पतालमै डायलाइसिस सेवा थालिएको मेडिकल सुपरिटेण्डेण्ट डा.रुद्रमणि भण्डारीले बताए । यसबाट मिर्गौला रोगीहरुलाई राहत पुग्ने उनको भनाइ छ । 

जसअनुसार चौतारा आसपासका १० जनाभन्दा बढी बिरामीले काठमाडौंमा डायलाइसिस सेवा लिँदै आएका थिए । चौताराको साँगाचोकगढी नगरपालिका–५ की ४५ वर्षीया शर्मिला तामाङ्गले अहिले जिल्लाको अस्पतालबाट उक्त सेवा लिएकी छन् । 

काठमाडौं आउनुपर्ने झण्झट हटेपछि उनी खुशी देखिन्छिन् । भन्छिन्, ‘सातामा दुईपटक काठमाडौं धाउनुपर्ने बाध्यता थियो । अब आफ्नै घरको मिठोमसिनो खाएर, आफ्नै आँगनको अस्पतालमा डायलाइसिस गर्न पाइने भयो । खर्च पनि जोगिने भो, दुःख पनि पाइँदैन ।’

हाल अस्पतालमा पाँच वटा मेसिन जडान गरिएको छ । एकैपटक पाँच जना सेवाग्राहीलाई सेवा प्रदान गर्न सकिने डा.भण्डारीले जानकारी दिए । सो सेवाका लागि एक चिकित्सकसहित तीन जना नर्स कार्यरत छन् । 

अस्पतालको व्यवस्थापन सुधारिएपछि पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ । २०७२ वैशाख १२ गते गएको महाभूकम्पले ध्वस्त बनाएको अस्पताल चीन सरकारले ६ करोड १० लाख चिनियाँ युआनमा निर्माण गरेको हो । ३९ कोठा रहेको भवन गत जेठ १९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको हो । 

अस्पतालमा आवश्यक सबै पूर्वाधार र स्वास्थ्य उपकरणको व्यवस्थापन चीन सरकारले गरिदिएको छ । हाल अस्पतालमा १६ जना चिकित्सक कार्यरत छन् । बहिरंग सेवाबाहेक दन्त उपचार, फिजियोथेरापी, मनोसामाजिक, हाडजोर्नी उपचार, प्रसुति सेवा अस्पतालबाट प्रवाह हुँदै आएको छ । 

कुनै बेला भवन, जनशक्ति र स्रोतसाधनको अभावका कारण रिफरल सेन्टर कहलिएको अस्पतालप्रति अहिले स्थानीयको विश्वास बढ्न थालेको छ । गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा प्रदान गर्न चिकित्सकहरु समर्पित भएर लागिपरेको स्थानीयको बुझाई छ ।

टिप्पणीहरू