सिटिजन्स बैंकका लगानीकर्ताको लाभांश तोकियो

सिटिजन्स बैंकका लगानीकर्ताको लाभांश तोकियो

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट चार दशमलब २१ प्रतिशत लाभांश सेयरधनीहरुलाई बाँड्ने भएको छ । बैंकको ४६३ औं सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीका लागि गत वर्षको मुनाफाबाट चार दशमलब २१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । 

बैठकले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट गत असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ शेयर बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलब २१ प्रतिशतले हुने दुई करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँसहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ दिने प्रस्ताव गरेको थियो । 

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ । ०६४ वैशाख ७ गतेबाट कारोबार सञ्चालन गरी विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/०६६ देखि नै निरन्तर लाभांश वितरण गर्न सफल भएको बताइएको छ । 

बैंकको आर्थिक वर्ष २०६५/०६६ देखि ०८०/०८१ सम्मको औसत लाभांश दर ११ दशमलब ५६ प्रतिशत देखिन्छ । प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२ दशमलब १० प्रतिशत रहेको बैंकको भनाइ छ । 

मुलुकका ६० जिल्लामा रहेको सिटिजन्स बैंकले एक सय ९७ शाखा, एक सय ६२ एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैकिङ्ग इकाईबाट झण्डै १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

टिप्पणीहरू