विपद्मा देखियो सरकारी निकायबीच समन्वयको अभाव

विपद्मा देखियो सरकारी निकायबीच समन्वयको अभाव

राष्ट्रिय मानव अधिकार आयोगले विपद्पछि तत्काल उद्धार नहुँदा सयौं नागरिकले ज्यान गुमाउनु परेको बताएको छ । आयोगले विपद्पछि तत्काल उद्धारका निम्ति सरकारी निकायबीच समन्वय, संवेदनशीलता र उद्धार सामग्री अभावका कारण सयौं व्यक्तिले ज्यान गुमाउनुपरेको निश्कर्ष निकालेको छ । 

विज्ञप्तिमा आयोगले विपद् प्रभावित क्षेत्रहरुमा राहत, उद्धार, घाइतेको स्वाथ्योपचार तथा बसोबास अवस्थालगायत सम्बन्धमा स्थगलत अनुगमन गरेको उल्लेख छ । सो क्रममा सुरक्षा निकाय तथा स्थानीयबाट उद्धार गरी प्रभावितहरुलाई काठमाडौं उपत्यकाका विभिन्न विद्यालय, सार्वजनिक तथा अन्य सुरक्षित ठाउँमा सामूहित रुपमा राखिएको पाइएको आयोगले जनाएको छ । 

‘उनीहरुलाई विभिन्न संस्था, निजी व्यवसायी, स्वयम्सेवकहरुले खानाको व्यवस्था गरेको पाइएको छ । सुरक्षा निकायबाट उद्धारको लागि तदारुकताका साथ कार्य गरिरहेको भएपनि उद्धार सामग्री पर्याप्त नहुँदा उद्धार कार्य प्रभावकारी हुन नसकेको, सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेपनि सम्पूर्ण उपचार निःशुल्क हुन नसकेको अनुगमनबाट देखिएको छ,’ आयोगले भनेको छ । 

उद्धार गरी अस्थायी रुपमा प्रभावितलाई राखिएका ठाउँमा फोहोर र महामारी फैलिन सक्ने भन्दै स्थानीयले हटाउन माग गरेको, शौचालय, पानी, बिजुली, सञ्चार सुविधा तथा फोहोरमैला व्यवस्थापनमा समस्या देखिएको, उद्धार गरिएका केही व्यक्ति आफन्त कहाँ सहारा लिन पुगेको भेटिएको आयोगले जनाएको छ । 

आयोगका अनुसार केही व्यक्तिले मनोसामाजिक भय र त्रास फैलाउने भ्रामक सूचनाहरु सामाजिक सञ्जालमा प्रशारण गरेको पनि देखिएको छ । प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न, विपद्को रोकथाममा पूर्वतयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

साथै, विपद्मा फसेकालाई तत्काल उद्धार गर्न, राहतको प्रभावकारी व्यवस्था मिलाउन, बेपत्ता खोजी कार्यलाई निरन्तरता दिन र घाइतेहरुको सबै स्वास्थ्योपचार निःशुल्क तथा बसोबासको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

टिप्पणीहरू