बाढीपीडितको दु:खेसो : सरकार भएको आभाष नै भएन

बाढीपीडितको दु:खेसो : सरकार भएको आभाष नै भएन

ललितपुरस्थित नख्खुखोलामा आएको भीषण बाढीबाट प्रभावित पीडितहरु जीवन गुजाराको पीडाले छटपटीमा छन् ।

खोला छेउमा भाडाको अस्थायी टहरा बनाई विभिन्न पेशा गर्दै आएकाहरु लाखौँको धनमाल बाढीले बगाएपछि अब कसरी जिउने भन्ने चिन्ताले छटपटाएका हुन् । उनीहरुले आफूहरुको पीडामा साथ दिने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गरे । 

ललितपुर महानगरपालिकाभित्र पर्ने सो क्षेत्रमा महानगरले समेत कुनै वास्ता नगरेको गुनासो पीडितहरुको छ । आफन्तकहाँ गाँस र बासको सहारा लिन बाध्य उनीहरुले तत्काल अस्थायी आवास र खानालगायतका राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

अस्थायी टहरामा कुखुरा पालन गर्दै आएका एक पीडितले आफ्नो २५ लाख बराबरको क्षति हुँदा पनि सरकारले वास्ता नगरेको गुनासो गरेका छन् । तत्काल क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

‘मेरो भाडाकुँडा, कुखुरालगायतका धेरै क्षति भयो । करिव २०-२५ लाखजतिको क्षति भएको होला । यहाँ राहतको लागि भनेर वडाको पनि आएका छैनन् । सरकारका अरु प्रतिनिधिहरु पनि आएका छैनन्', गुनासो गर्दै उनले भने, 'यो ललितपुर महानगरपालिका भित्र १४ नम्बर वडामा पर्छ । सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्यो ।’

बाढीले घरवास उठाएपछि आफूहरु अर्काको घरमा शरण लिएर बस्न बाध्य भएको एक वृद्धको दु:खेसो छ । सरकारले यस्तो विपद्मा पनि कुनै सहयोग नगरेको भन्दै उनले आक्रोश जनाए ।

'अर्काको घरमा कोठा लिएर बसेका छौं । नभिजेको सामान त्यहाँ राखेर बसेका छौं । यहाँ बस्न सक्ने अवस्था छैन । घरभित्र त हिलो निकालेर सफा गर्ने काम मात्रै भईराखेको छ । सरकारले कुनै वास्ता गरेन । तत्काल राहतको व्यवस्था हुनुपर्यो', बृद्धले आक्रोशित हुँदै भने ।

बाढीले लगाउने कपडा र भाँडाकुँडा सबै बगाएको विलौना अर्की पीडितको छ । बालबच्चालाई राख्नका लागि भाडाको कोठासमेत नपाएको उनले पीडा पोखिन् । सरकारले तत्काल आवासको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । 

‘सबै भाडाँकुडाहरु बगाएर लग्यो । कपडा, फ्रिज पनि बगाएर लग्यो', उनले बिरक्तिदै भनिन्, 'अहिले साथीकोमा बसेका छौं । कोठा पनि पाएको छैन । तत्काल आवासको व्यवस्था गरिदिए हुन्थ्यो ।’

अविरल वर्षासँगै नख्खु खोलामा आएको भीषण बाढीले खोला किनारामा अस्थायी टहरा बनाएर ग्रिल व्यवसाय, होटल व्यवसाय, बुंगुर पालन, कुखुरा पालन लगायतका पेशा गर्दै आएकाहरुको उठिबास भएको छ । बाढीले बगाएर २ जनाको भने ज्यान गएको छ ।

टिप्पणीहरू