विपद्को नाम, हेलिकप्टरमा नेताको लाम

विपद्को नाम, हेलिकप्टरमा नेताको लाम
सुन्नुहोस्

गत असोज ११ र १२ को बाढीले बागमती प्रदेशको ललितपुर, काभ्रे, काठमाडौंलगायत देशका विभिन्न भागमा जनजीवन प्रभावित पारेको छ । ललितपुरमा त अहिलेसम्मकै सबैभन्दा बढी क्षति भएको दावी गरिएको छ । ललितपुरको दक्षिणी भेकका तीन वटा गाउँपालिकामा सञ्चार सम्पर्क नै विच्छेद भएको छ । टोलटोलमै मोटरबाटो खनिएको कारण महांकालका वडा नं १, २ र ३ बढी प्रभावित छ भने ढुंगाखानीका कारण खोतलेर थिलथिलो पारेको गोदावरी नगरपालिकामा मानवीय क्षति तीव्र भएको छ । सबैभन्दा बढी खानी चलाएर थिलथिलो बनाइएको वडा नं ६ सबैभन्दा बढी प्रभवित भएको छ । 

विपद्को पूर्वसूचना भए पनि जनप्रतिनिधिले न खोला किनारका जनतालाई सुसूचित गराएर बस्ती खाली गराए, न पहिरोको सम्भावित क्षेत्रका जनतालाई वैकल्पिक वासस्थानमा सार्न कुनै पहल गरे । बरु आफू सुटुक्क शुक्रबार नै काठमाडौं आए । शुक्रबार राजधानीमा भेटघाट छ भन्दै बिहीबार नै महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, बागमतीका अध्यक्ष बीरबहादुर लोप्चन, कोञ्ज्योसोमका अध्यक्ष कृष्णमान लामा उपत्यकाका आफ्ना सुरक्षित घरमा बास बसे । विपद् आउनसक्छ सुरक्षित रहनु भनी फेसबुक स्टाटस लेख्दै आवश्यक परे आफूलाई फोन गर्न कराइरहेका उनीहरूको फोन त्यतिबेला अफ भयो जतिबेला गाउँमा धमाधम घरगोठहरू ढल्न लागे, पीडितलाई उद्धार गर्नुपर्ने अवस्था आयो ।

गोटिखेलका ईश्वर तिमल्सिनाको परिवार नै बाढीले बगायो, महांकाल २ गुर्दुमको एउटा परिवार नै लग्योे, कोञ्ज्योसोममा एकै परिवारका दुई जनाको घटनास्थलमै निधन भयो । तर तत्काल बेपत्ताको खोजी वा उद्धारको पहल सम्भव नै भएन । 
शनिवार दिउँसो पानी रोकिएपछि आइतबार बिहान जिल्ला प्रशासन कार्यालयको सर्वदलीय बैठकमा देखियो आफू दक्षिण ललितपुरको असली प्रतिनिधि भएको देखाउने प्रतिष्पर्धा ।

कुपण्डोलको आफ्नो निवासबाट निस्किएर मानभवनको सिडिओ कार्यालय पुगेका प्रतिनिधिसभा सांसद उदयसमशेर राणाले तत्काल उद्धारका लागि हेलिकोप्टर लिएर जानुपर्छ, भन्ने तर्क राखे र आफूलाई जनताले जनताबीचमा देख्न चाहेको दावी गरे । यस्तै दक्षिणका जनताको प्रतिनिधि भन्दै आफूहरू हेलिकोप्टरमा विपद्ग्रस्त क्षेत्रमा जानैपर्ने दावी रह्यो महाँकाल ३ गोटिखेल घर भएर सातदोबाटो बस्ने ऋषिदेव फुयाँल, गोटिखेल नै घर भएका तर धापाखेल खुमलटार बस्ने गाउँपालिका अध्यक्ष गणेशबहादुर केसी, शंखु घर भएर चापागाउँ बस्ने कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाको । सबैलाई हेलिकोप्टरबाट गाउँ गाउँमा झरेर आफूले विपद्को बेलामा गाउँमा हेलिकोप्टर ल्याएको देखाउने होडबाजी भयो । 

पार्टी अध्यक्षहरू पनि सम्भव भए यसो पुगौं भन्ने आशय राख्दै नभए सबै पार्टीका देखिने गरी कोही त जानुपर्छ नि भन्ने लाइनमै थिए । खासमा केन्द्रीय विपद उद्धार तथा राहत प्रणालीको निर्देशनमा त्यो बैठक बसिएको थियो र बैठक बस्दै गर्दा विपदग्रस्त त्यस क्षेत्रमा सेनाको हेलिकोप्टर जानलाई त्यहाँको कोही कसैको सम्पर्क नम्बर पाऊँ न भन्दै खोजी भइरहेको थियो । जिल्ला प्रशासनको बैठकपछि एक हुल क्यामेरा लिएर सांसद उदयसम्शेर राणाको टोली एयरपोर्ट पुग्यो । सांसदहरूको अघिपछि घुमेका क्यामेरासहितका टोलीले भिडियो सुट गरिसकेपछि स्टाटसका ओइरो शुरु भए, सांसद राणा, प्रदेश सांसद मीनकृष्ण महर्जन र नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुन्दरमान थिङको पहलमा उद्धार । यसरी विपद्मा राजनीति गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । 

गोटिखेल र आसपासको क्षेत्रहरू जहाँ विद्यालयको स्वर्ण वा रजत महोत्सव समारोह होस् वा सप्ताह आदिमा शक्तिशाली नेता मन्त्रीहरू लैजाँदा केही शुभेच्छुकले हेलिकोप्टर व्यवस्था गरिदिन्छन् । चुनावका बेला टिकटका आकांक्षीहरूले नेतालाई हेलिकोप्टरमा लैजान्छन् तर विपदका बेला जनता रोइरहँदा कसैले उद्धारका लागि कुनै पहल गरेनन् । आइतबार अपरान्ह ४ बजेतिर हेलिकोप्टर रिंगिनडाँडा पुग्दा स्थानीयहरू भन्दै थिए– अब एक जनाको उद्धार गरेको यही फोटो भिडियोले कति वर्ष राजनीति गर्ने हो अब किन भेटिन्थे नेताजीहरू जनताको दुःखमा ?  

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू