सेनामा पुजारीको संकट,यस्तो पो हुने भो दशैँ साइत
नेपाली सेनाले महानवमी पूजाको साइत सार्वजनिक गरेको छ । असोज २५ गते बिहान दुई चरणमा पूजाआजा गरिने जङ्गी अड्डाले जनाएको छ । पहिलो साइत बिहान ७ बजेर ५५ मीनेटको रहेको छ । त्यस्तै, दोस्रो साइत बिहान ९ बजेर ५१ मीनेटमा छ ।
सेनाका अनुसार फूलपातीकै राति कालरात्री पूजा गरिने छ । सेनाले प्रहरी प्रधान कार्यालयको प्रशासन शाखालाई पत्राचार गर्दै नेपाल पञ्चाङ्क निर्णायक विकास समितिबाट प्राप्त पत्रानुसार पूजा गर्न सकिने जानकारी गराएको छ ।
‘अष्टमी उपरान्त नवमी तिथि परी नवमी टुटेमा आ–आफ्नो रीति, परम्पराअनुसार सप्तमीकै दिन कालरात्री पूजा गर्नुपर्ने कूल परम्परा भए सोअनुसार गर्न सकिने भनी श्री नेपाल पञ्चाङ्क निर्णायक विकास समितिबाट पत्र प्राप्त भएकोले फूलपातीकै राति कालरात्री पूजा गर्न सकिने र वि.सं. २०८१ सालको महानवमीका संकल्प साइतहरु देहायबमोजिम भएको व्यहोरा...’,पत्रमा उल्लेख छ ।
पुजारी कम भएकाले दुई चरणमा पूजाआजा गर्नुपर्ने सेनाका एक अधिकारीले बताए । उनले भने,‘सेनामा पुजारी कम छन् । एउटै पुजारी धेरै ठाउँमा जानुपर्ने हुनसक्छ । त्यसैले दुईटा साइत राखिएको हो । पहिले एक ठाउँमा गएर पूजा गरेपछि अर्को ठाउँमा जाने गरिन्छ ।’
टिप्पणीहरू