जासुस प्रमुख फर्केपछि दिल्लीका कन्सुलर तानिए

जासुस प्रमुख फर्केपछि दिल्लीका कन्सुलर तानिए

जासुस प्रमुखको भारत भ्रमणलगत्तै नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी कन्सुलर फेरिएका छन् । 

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ् ‘रअ’ले नयाँ दिल्लीमा आयोजना गरेको दक्षिण एशियाली मुलुकका जासुस प्रमुखहरूको भेलामा सहभागी भएर राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा नेपाल फर्केलगत्तै गृह मन्त्रालयले त्यस्तो निर्णय गरेको हो । 

सोमबारको निर्णयअनुसार त्यहाँ कार्यरत एसएसपी उमाप्रसाद चतुर्वेदीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा तानेर त्यहाँ सञ्जीव शर्मा दासलाई पठाइएको छ । रअ’को मुख्यालयमा तीनदिनसम्म चलेको ‘आतंकवादविरुद्ध दक्षिण–पूर्वी एसियाली मुलुकका खुफिया एजेन्सीका प्रमुखहरुको सम्मेलन’मा भाग लिएर आइतबार हुतराज नेपाल फर्किएका थिए । 

दूतावासमा तैनाथ राजन उप्रेती भने राजनीतिक स्विक्वाइन्स मिलेपछि उतै अडिएका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा एमाले उपमहासचिव विष्णु रिमालको दह्रो साथ पाएका र कांग्रेसी भनेर चिनिएका उनलाई सरुवा नगरिएको बताइन्छ । उनी रिमालका दोस्तका भाञ्जा हुन् । सरुवामा परेका नेपाल प्रहरीका अधिकृतहरु राष्ट्रिय अनुसधान विभागबाट सेवा प्रारम्भ गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाबाट फर्कनासाथ दिल्ली जाने अनुमति दिएपछि प्रशासन शाखाका एसपी प्रकाश आचार्यलाई लिएर हुतराज असोज १६ गते गएका थिए । शनिबार सम्मेलन सकेर उनी नेपाल एयरलाइन्सको उडान नम्बर आर २१८ मा आइतबार साँझ ७ बजे काठमाडौँ आइपुगेका हुन् ।  

गत वर्ष पनि थापा ‘रअ’कै निमन्त्रणामा दिल्ली गएका थिए । यस्तो भेलामा अफगानिस्तान, युएई र साउदी अरेबियाका गुप्तचर प्रमुखहरूले पनि पर्यवेक्षकको रुपमा भाग लिने गरेका छन् । प्रत्येक वर्ष आयोजना गरिने यस्तो भेलामा आफ्ना कुरा खासै नभन्ने तर अरु देशको राजनीतिक अवस्था र आतंकवादको स्थितिबारे चर्चा छेडिने गरेको बुझिएको छ । 

थापा केही दिनअघि म्याग्दी जिल्ला कार्यालयको नयाँ भवन उद्घाटन गर्न गएका बेला पर्वतको बन्जी होटलमा बास बसेका थिए । त्यसैबाट असई तालिमको उद्घाटनमा जाँदाजाँदै वर्षाका कारण बाढीपहिरोले गर्दा यातायात अवरुद्ध भएपछि हेटौंडामा नबसी सोझै बाराको इच्छा होटल पुगेका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू