प्रयोगमै आएन १० लाखको पार्क
-अमृतप्रसाद पौडेल
म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेस्थित गायत्री मन्दिर परिसरमा निर्मित पर्यटकीय पार्क झाडीमा परिणत भएको छ । धार्मिक तथा पर्यटकीय महत्वको उक्त पार्क संरक्षण अभावका कारण संकटमा परेको हो ।
गण्डकी प्रदेश सरकारको लगानीमा गत वर्ष चैतमा आकर्षक पार्क निर्माण भएको थियो । बेनी–जोमसोम सडक खण्डसँगै जोडिएको मन्दिर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई विश्राममा सहजता पुग्ने आपेक्षसहित प्रदेश सरकारको १० लाख बजेटमा सो पार्क बनेको हो ।
तर, पार्क प्रयोगविहीन भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माले जानकारी दिए । जुन उद्धेश्यका साथ पार्क निर्माण भएको हो त्यसअनुरुप प्रयोगमा आउन नसकेको उनको भनाई छ ।
पर्यटकको विश्रामका लागि उत्कृष्टस्थल मानिएकाले उत्साहका साथ पर्यटकीय पार्क निर्माण गरिएको उपभोक्ता समितिका सचिव पदम छन्त्यालले बताए । स्थानीयको श्रमदान र घरेलु कार्यालयको समेत आर्थिक सहयोगमा पार्क निर्माण गरिएको भएपनि त्यसको उचित प्रयोग हुन नसकेकोमा उनले दुखेसो गरे ।
देशकै महत्वपूर्ण कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डस्थित पवित्र तिर्थस्थल गलेश्वरधाम नजिकै रहेको उक्त पार्कको संरक्षण र प्रयोग हुनसके आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने पर्यटन तथा उद्योग कार्यालयका प्रमुख शर्माको विश्वास छ ।
दुई वर्षअगाडि पार्क निर्माण गरेको र चालु आर्थिक वर्षमा स्तारोन्नतिका लागि बजेट माग परेको उनको भनाई छ । तर, पार्कको उचित प्रयोग र संरक्षण नहुने अवस्था देखिएकाले बजेट के गर्ने भन्ने अन्यौलता रहेको उनले बताए ।
टिप्पणीहरू