यात्रुले विमानको आपतकालिन ढोका खोल्ने क्रम बढेपछि हवाई सुरक्षामा चुनौती
पछिल्लो केही समय आन्तरिक उडानमा रहेको विमानको ढोका अनावश्यक रुपमा खोल्ने क्रम बढेको छ । हिजो बिहान विराटनगरबाट जनकपुरतर्फ उड्न ठिक्क परेको बुद्ध एअरको विमानलाई सोही कारण ट्याक्सी वेबाट एकाएक पार्किङमा फर्काइयो ।
विराटनगरबाट जनकपुर उड्नेक्रममा रहेको बुद्ध एयको एटीआर विमानको आपतकालिन ढोका नजिकै रहेका एक यात्रुले अकस्मात ढोका खोलिदिएपछि उडान ढिलोसँगै सुरक्षा चुनौती थपिएको छ । हिजो बिहान काठमाडौँबाट जनकपुर उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमानलाई भिजिबिलिटी कम भएपछि विराटनगरमा अवतरण गरिएको थियो ।
सोही विमान केही समयपछि विराटनगरबाट जनकपुर उड्न ट्याक्सी वेबाट धावनमार्ग जाँदै गर्दा एक जना यात्रुले इमरजेन्सी ढोका खोलिदिएका हुन् । उक्त घटनापछि विमानलाई पार्किङ–वे मा फर्काइयो । आवश्यक जाँचपछि उडान थालियो तर, सुरक्षा चुनौती भने थपिएको बताइन्छ । सुरक्षा चुनौती बढेको जनाउँदै यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएकाे छ ।
तर, यो प्रवृत्ति केही दिनअघि पनि अन्य आन्तरिक उडानमा दोहोरिएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् । जसअनुसार विराटनगर–काठमाडौँ र नेपालगञ्ज–काठमाडौँ एउटा एउटा उडानमा पनि यात्रुले इमरजेन्सी ढोका खोलेका थिए । यी घटनाले यात्रुलाई यात्राको क्रममा थप जिम्मेवार बनाउन विमान कम्पनीले अन्य रचनात्मक कार्य गर्नुपर्ने देखिन्छ । अन्यथा, अन्य चुनौतीसँगै यात्रुको कारणबाट थपिने सुरक्षा खतरा उत्तिकै डरलाग्दो छ ।
टिप्पणीहरू