घरमै कोमामा छन् राप्रपा नेता बोहरा

घरमै कोमामा छन् राप्रपा नेता बोहरा फाइल फोटो

बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई चुनावमा हराएका रुपन्देही क्षेत्र नं. ३ का सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि घरमै कोमामा छन् । बालुवाटारस्थित घरमा श्रीमती उन्नति र दुई सहयोगीले हेरचाह गरिरहेका छन् । 

‘चिकित्सकहरूले आराम गर्नुपर्ने भनेकाले घरमै हुनुहुन्छ’ – पारिवारिक श्रोतले भन्यो । बोहरालाई उठाउने, शौचालय गराउने लगायत सबै हेरचाह गर्नुपर्छ । झोल पदार्थ मात्र खान सक्छन् । स्मृतिसमेत गुम्दै गएको छ । 

स्वास्थ्य समस्याका कारण बोहरा बर्षे अधिवेशनमा संसद जान सकेनन् । ५६ वटा संसद बैठकमध्ये उनी एउटामा पनि सहभागी थिएनन् ।

२०७७ जेठमा दोस्रो लहर फैलिँदा कोभिड संक्रमण भएको चार महिनापछि आवाजमा समस्या आएको थियो । त्यसबेला महाराजगञ्ज टिचिङ्ग अस्पताल, नयाँ दिल्ली र अमेरिकाको न्युयोर्कमा पटक पटक उपचार गराए । 

२०७९ मंसिरको आमनिर्वाचनमा गृहनगर भैरहवाबाट टिकट पाएका बोहराले नबोलेरै गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेपछि चर्चामा रहेका थिए । उनले नेकपा एमालेको सहयोगमा ३६ हजार ७ सय १७ मत प्राप्त गर्दा गृहमन्त्री खाँणलाई २ हजार ६ सय ८१ मतान्तरले हराएका हुन् । 

चुनावताका नेपाली कांग्रेसले उनको स्वास्थ्यलाई मसला बनाएको थियो । राप्रपाले त्यसबेला पोष्ट कोभिडका कारण बोहराले ‘भ्वाइस रेष्ट’ गर्नुपरेको दाबी गर्दै ‘स्पीच थेरापी’ चलिरहेकाले केही महिनामा निको हुने जनाए । यद्यपि भ्वाइस रेष्ट, स्पीच थेरापी वा अन्य औषधिले कुनै काम गरेन । 

विद्यार्थी मण्डलबाट राजनीति शुरु गरेका बोहरा ०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । पञ्चायती शासनको अन्त्यपछि राप्रपाबाट राजनीतिलाई निरन्तरता दिएका उनी २०७० सालमा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए ।

बोहरा २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ सालमा पर्यटन राज्यमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।

(साभार: जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू